• २० असोज २०८१, आइतबार

कार्यकारी भूमिकामा रहेकाको अख्तियारले छानबिन गर्न पाउनुपर्छ : प्रदीप पौडेल

blog

शुक्रबार काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने बूढानीलकण्ठ नगरपालिका वडा नं ५ ईकाइले गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल ।

काठमाडौं, कात्तिक ४ गते। सत्तारुढ नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक छायाबाट मुक्त राख्नुपर्ने बताउनुभएको छ। 

शुक्रबार काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने बूढानीलकण्ठ नगरपालिका वडा नं ५ ईकाइले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थालाई राजनीतिका् दाउपेचबाट माथि राख्नुपर्नेमा जोड दिनुभएको हो।

कार्यकारी भूमिकामा रहेका व्यक्तिको निगरानी अख्तियारले गर्न नपाएको बताउँदै उहाँले भन्नुभयो, “कार्यकारी भूमिकामा रहेका मानिसहरुको काममा निगरानी गर्न नपाउने हो भने अख्तियारको के काम गर्ने ? कसरी भ्रष्टाचार रोकिन्छ ?”। उहाँले स्वतन्त्र र निष्पक्ष व्यक्तिले नेतृत्व गरेमा मात्रै अख्तियारले उचित ढंगले काम गर्न सक्ने बताउनुभयो।

“स्वतन्त्र र निष्पक्ष मान्छेहरुले नेतृत्व गरे भनेमा मात्रै अख्तियारले राम्रोसँग अनुसन्धान गर्न सक्दछन्। त्यसैले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिको छायाबाट मुक्त हुनु पर्दछ”, नेता पौडेलले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अदालतमाथि हस्तक्षेप गरेको आरोप पनि लगाउनुभयो। 

आफूसँग नेकपा एमालेबाट प्रतिष्पर्धामा रहेका ईश्वर पोखरेल सोही सरकारमा सामेल भएर पनि न्यायालयमाथि हस्तक्षेप हुँदा केही नबोलेको टिप्पणी उहाँको छ। 

“न्यायालय माथिको नांगो हस्तक्षेप छ, केपी शर्मा ओली दुई तिहाइको सरकार बनाउनुभयो। उहाँहरु ईश्वर पोखरेलहरु सरकारको नेतृत्व गर्नुभयो। उहाँहरुले नै दुई तिहाइको शक्ति प्रयोग गरेर अदालतमाथि हस्तक्षेप गर्नु भयो। त्यसैले न्यायालयको निष्पक्षताको निमित्त पनि हामीले काम गर्नेछौं”, संसदलाई प्रत्यक्ष निर्वाचन प्रणालीबाट समावेशी बनाउने प्रस्ताव हुँदै आएको बताउनुहुँदै उहाँले काठमाडौंका मतदाताले आफ्नो ठाउँको विकास र न्यायका लागि मत हाल्न आग्रह गर्नुभयो। 

उहाँले निर्वाचन अघि सुरु भएको गठबन्धनको यात्रा आगामी पाँच वर्षसम्म रहने बताउनुभयो।