• १२ असोज २०८१, शनिबार

मङ्सिर ४ पछिको सरकारले रेलभन्दा तीव्र गतिमा विकास गर्छ : अध्यक्ष ओली

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ४ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गतेको निर्वाचनपछि बन्ने एमाले नेतृत्वको सरकारले जनकपुरको रेलभन्दा तीव्र गतिमा विकासको काम शुरु गर्ने बताउनुभएको छ । 

एमालेको जनवर्गीय सङ्गठन लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको आयोजनामा ‘आदिवासी जनजातिसँग केपी शर्मा ओली’ नामक बृहत् अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले शुक्रबार सो कुरा बताउनुभएको हो । राष्ट्रियसभा गृह काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले थप्नुभयो, “सम्पूर्ण आदिवासी जनजातिको उत्थान र संस्कृतिको उत्थान नै एमालेको प्रमुख नीति हो ।”


नेपाल र नेपालीलाई यहाँको जाति प्यारो छ, यहाँको संस्कार र संस्कृति प्यारो रहेको उहाँले प्रष्ट पार्नुभयो । “एमाले आदिवासी जनजातिको पार्टी हो, त्यसैले आदिवासी जनजातिको पक्षमा काम गर्छ” उहाँले भन्नुभयो । एमाले मगर, थारु, गुरुङ, राजवंशी, राई, लिम्बू लगायतका आदिवासी र मधेसी, पछाडि परेका समुदायको रोजाइको पार्टी भएको उहाँले बताउनुभयो । 

“अहिले जुन ठाउँमा रहे पनि पछि जाने ठाउँ सबैको एमाले नै हो, बैंसभरि एमालेलाई गाली गरे पनि ७० वर्षपछि त भत्ता खान एमाले नै चाहिन्छ” अध्यक्ष ओलीले थप्नुभयो, “हामीले मान्छे अल्मल्याएर हिंडेका छैनौं, जनतालाई सचेत र सङ्गठित बनाएर अघि बढाउने काममा छौं, विकास र समृद्धिको बाटोमा छौं ।”

एमालेले सबै जातजाति समुदाय र सबै क्षेत्र, भेग र वर्गको विकासमा ध्यान दिएको अध्यक्ष ओलीले दावी गर्नुभयो । “हामी सबै नेपाली एकजुट भएर हाम्रो देश बनाउनुपर्छ, विकसित र समुन्नत नेपाल बनाउनुपर्छ, यो सम्भव छ” उहाँले थप्नुभयो, “हामीले रेल ल्याउने भनेका थियौं, ल्यायौं । अहिले रेल चलिरहेको छ, अब आउने हाम्रो नेतृत्वको सरकारले रेल थप्छ ।” 

एमालेको सरकार आएपछि मुलुकमा विकास शुरुभएको दावी गर्दै अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले नै सडक, पुलपुलेसा, कालोपत्र सडक, रेल, तुइन विस्थापन, हवाई मैदानको विकास गरेको उहाँले बताउनुभयो । सबैले समान अधिकार पाउनुपर्छ, कसैले कम र कसैले बढी अधिकार पाउने वातावरण हुनुहुन्न अध्यक्ष ओलीले सबै नेपालीलाई समान भौतिक सुरक्षा, समान सांस्कृतिक सुरक्षा आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “सबभन्दा पछाडि परेका तराईका दलित, डोम, चमार, जनजाति कोही पनि छुट्दैछ, एक जना पनि छोडिनुहुन्न । बहुसङ्ख्यकलाई हेरेपछि उत्थान गरेपछि पुग्छ भन्ने होइन । एक जना पनि भोकै छ भने त्यो अवस्थाका जनतालाई धनी बनाउँछौं भनेर हामी लागेका छौं ।”


विविधता द्वेष र झगडाको विषय नभएको र यो सहअस्तित्व,परस्पर मेलमिलापको विषय भएको उहाँले भन्नुभयो । सबै एकजुट भएर आधुनिक नेपाल, विकसित र समृद्व नेपाल बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

मङ्सिर ४ गतेपछि देश विकासको गति चौतर्फी अघि बढ्ने उहाँले विश्वास दिलाउनुभयो । आगामी निर्वाचन महाअदालतमा महाफैसला हुने भन्नुहुँदै उहाँले सही फैसला गर्न पनि मतदातालाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीले तिहार, नेपाल संवत्, छठसमेतको अवसरमा आदिवासी जनजाति समुदाय तथा सबै नेपाली दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभयो ।