• ६ पुस २०८१, शनिबार

मान्म–नाग्म सडक खुलाउन सकस

blog

कालीकोट समाचारदाता

कालीकोट, कात्तिक ४ गते । वर्षाले अवरुद्व कर्णाली लोकमार्गको मान्म–नाग्म सडक अझै सञ्चालनमा आउन सकेको छैन । असोज १९ गतेदेखि सात दिनसम्म परेको पानीले कर्णाली लोकमार्गको उक्त खण्ड क्षतविक्षत बनाएको छ ।

सुर्खेत–कालीकोट खण्ड आंशिक सञ्चालन भए पनि कालीकोट सदरमुकाम मान्मदेखि नाग्मसम्मको ४५ किलोमिटर सडक खुलाउन सकस भइरहेको छ । प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले सडक खुलाउने प्रयास जारी रहेको जानकारी दिनुभयो । उहाँले बल्लतल्ल सेरीघाटलगायतका ठाउँको पहिरो पन्छाएर सदरमुकाम मान्मसम्म सडक सञ्चालन गराएको बताउनुभयो । मान्मदेखि पिलीसम्म बुधबार वा बिहीबारदेखि सडक सञ्चालन हुने जनाइएको छ । त्यसका लागि दुईवटा एक्साभेटर सञ्चालन भइरहेको बताइन्छ । 

त्यहाँदेखि माथिको पहिरो पन्छाउन अझ केही दिन लाग्ने उहाँको भनाइ छ । प्रजिअ शर्माका अनुसार पहिरोका कारण कतिपय ठाउँमा बाटोको नामनिसान नै छैन । कतिपय ठाउँमा तिला नदीले सडक कटान गरेकाले नयाँ ट्र्याक खोल्नुपर्ने अवस्था रहेको प्रजिअ शर्माले जानकारी दिनुभयो । खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकाअन्तर्गत पर्ने सो खण्ड ५० भन्दा बढी ठाउँमा अवरुद्व छ । 

तिलागुफा नगरपालिका उपप्रमुख महेन्द्रबहादुर शाहीले ५० भन्दा बढी ठाउँमा पहिरो गएकाले सडक खुलाउन निकै समस्या परिरहेको बताउनुभयो । अन्य सहायक सडक पनि क्षतिग्रस्त हुँदा बाढीपीडितको अवस्था सङ्कलन र राहत वितरण गर्न जान पनि समस्या परेको उहाँको भनाइ छ । उहाँले कर्णाली लोकमार्ग पुरानै लयमा आउन निकै समय लाग्ने भन्दै बजेट पनि धेरै चाहिने भएकाले सङ्घीय सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभयो । प्रभावित सत्य शाहीले सडक हिँड्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो ।