गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा अपेक्षितभन्दा बढी नै मत बदर भयो। आँकडामा उल्लेख गर्नुपर्दा दुई दशमलव चार प्रतिशत पूर्ण बदर र करिब १३ प्रतिशत आंशिक बदर भएको थियो। यो आँकडाले मतदाता शिक्षा प्रभावकारी नभएको पनि स्पष्ट सन्देश दिएको छ। यस अवस्थामा परम्परागत मतदाता शिक्षा प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ। आसन्न मङ्सिर ४ गतेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा बदर मतको आँकडा न्यून गर्ने चुनौती छ। त्यस चुनौतीको सामना गर्न परम्परागत मतदाता शिक्षा प्रणालीमा परिवर्तन गर्नु अति महत्त्वपूर्ण छ। यो कुरालाई राजनीतिक पार्टी, निर्वाचन आयोग र सम्बद्ध निकायले समयमै मनन गर्नु वाञ्छनीय थियो।
मत बदरको यस अवस्थामा सुधार समयमै गर्नुपर्ने थियो। सुधारका निम्ति मतदाता शिक्षाका विभिन्न उपाय तथा माध्यमलाई प्रभावकारी तवरमा अगाडि बढाउन जरुरी देखिएको ढिलै भए पनि मनन भएको छ। यस सन्दर्भमा निर्वाचन आयोगले निर्वाचन शिक्षा कार्यान्वयन एकाइ, घरदैलो कार्यक्रम तथा परम्परागत प्रचारप्रसारमा परिवर्तन गर्ने तयारी गरेको छ। ढिलै भए पनि यो तयारी गर्नु आफैँमा निकै सकारात्मक पक्ष हो। यसबाट निश्चित रूपमा आसन्न निर्वाचनमा मत बदरको अवस्थामा सुधार हुने अपेक्षा गर्न सकिन्छ।
मत बदरको मुख्य कारण मतपत्रको डिजाइन एउटा कारण हो। यस पक्षमा पनि आयोगले सुधार गरेको अवस्थामा बदर मत घटाउनमा सघाउ पु¥याउनेछ। यसमा आयोगले पक्कै पनि धेरै अध्ययन गरेको छ। गएको वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा मतपत्रको एकै पानामा ७० निर्वाचन चिह्न थिए। त्यसैका कारण ग्रामीण मतदाता मात्र नभई सहरी क्षेत्रका मतदातासमेत अलमलमा परेका थिए। सोही कारण मत बदरको प्रतिशतमा वृद्धि भएको थियो। यो स्थितिमा सुधार गरी आसन्न निर्वाचनमा प्रतिनिधि सभाअन्तर्गत प्रत्यक्षतर्फ मतपत्रको एक पानामा बढीमा ३१ र कम्तीमा दुई वटा मात्र चिह्न राखिएका छन्। यसैगरी समानुपातिकतर्फको मतपत्रमा समेत सुधार गरिएको छ। यसबाट मतदाता कम अन्योलमा पर्ने देखिन्छ। त्यसैको प्रत्यक्ष प्रभाव मत बदरमा पर्नेछ। यही विषयलाई समयमै मतदातासमक्ष लैजानु पर्छ। लोकतन्त्रमा मतदाताले मत दिएर पनि बदर हुने अवस्था आयो भने त्यो राम्रो होइन। मतदाताले चाहेको उम्मेदवारको प्राविधिक कारण मत बदर भयो भने नचाहेको उम्मेदवारले निर्वाचन जित्ने अवस्था आउन सक्छ।
मतपत्रको डिजाइनमा सुधारका अतिरिक्त मतदाता घरदैलो कार्यक्रम मतदाता शिक्षा अभियानका निम्ति महत्त्वपूर्ण आयाम हो। यसबाट मतदाताले कसरी मतदान गर्ने सम्बन्धमा आफ्नो घरदैलोमा जानकारी प्राप्त गर्छन्। वैशाखको स्थानीय निर्वाचनमा विविध कारणले मतदाता घरदैलो कार्यक्रम सञ्चालन गरिएको थिएन र त्यसैको प्रत्यक्ष प्रभाव मत बदरमा प¥यो। यसै मत बदरको प्रतिशतमा वृद्धि भएको सहजै अनुमान गर्न सकिन्छ। तसर्थ यस पटक मतदाता घरदैलो कार्यक्रम सञ्चालन जरुरी भएको सन्दर्भमा आयोगले यो कार्यक्रमलाई निरन्तरता दिएको छ। यस कार्यक्रमका निम्ति आयोगले स्थानीय तहलाई जिम्मा दिएर प्रत्येक वडाका लागि एक जनशक्तिको व्यवस्था गर्ने नीति लिएको छ। यसबाट स्थानीय तहको पनि मतदाता शिक्षा कार्यक्रममा प्रत्यक्ष सहभागिता रहने भएकाले यो थप प्रभावकारी हुनसक्ने अनुमान गर्न सकिन्छ।
मत बदरको आँकडा न्यून गर्न निर्वाचन शिक्षालाई प्रभावकारी बनाउन सर्वोत्तम उपाय भएकोमा शायदै कसैको दई मत हुन सक्छ। तसर्थ निर्वाचन शिक्षाका लागि विभिन्न सञ्चार माध्यमको प्रयोगका निम्ति करोडौँ रुपियाँको लागतमा प्रचारप्रसारको योजनाले पनि सकारात्मक परिणाम आउनेमा विश्वस्त हुन सकिन्छ। भिडियो सामग्री उत्पादन, टेलिभिजन, रेडियो, पत्रपत्रिकामा सामग्री प्रसारण तथा प्रकाशनले पनि विभिन्न तप्का र तहका दर्शक तथा पाठकवर्गमा महत्त्वपूर्ण प्रभाव पार्नेमा भूमिका खेल्न सक्छ। यसको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा मतदातामा सही चिह्नमा मतदान गर्न सहयोग पु¥याउनेछ। घरदैलो, नमुना मतदान, सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत गरिने निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम आममतदातालाई आफ्नो मत बदर हुन नदिन सघाउ पु¥याउनेछ। आयोगको मत बदर न्यूनीकरण यस अभियानमा सरकारी, गैरसरकारीलगायत सङ्घसंस्थाको भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण हुने देखिन्छ।