• १३ साउन २०८१, आइतबार

विश्वमा खाद्य सङ्कटको चिन्ता

blog

विश्व खाद्य दिवसको सन्दर्भमा विश्व खाद्य कार्यक्रमले चेतावनीयुक्त सन्देशमा भनेको छ – विश्वमा भोक (अकाल) को मार झेलिरहेका मानिसको सङ्ख्या रेकर्ड स्तरमा पुग्ने जोखिम देखापरिरहेको छ। विश्वव्यापी रूपमा खाद्य सङ्कटका कारणले ठूलो सङ्ख्यामा मानिसका लागि खाद्य असुरक्षाको अवस्था खराबभन्दा अझ खराब हुँदै गइरहेको छ। यो वास्तविकतालाई मध्यनजर राखेर यो यूएन एजेन्सीले गएको १५ अक्टोबरका दिन अर्थात् विश्व खाद्य दिवस १६ अक्टोबरको ठीक एक दिनअघि विश्वमा विद्यमान यो अकाल सङ्कटका आधारभूत कारणका साथ यस्तो चेतावनी दिएको देखिन्छ।  आज जलवायु परिवर्तनको समस्या, हिंसात्मक टकराव तथा आर्थिक दबाबलगायत विभिन्न विकराल चुनौतीको पृष्ठभूमिमा यो विश्वव्यापी खाद्य सङ्कट हुर्किरहेको र बढिरहेको छ। उल्लेखित सङ्कटका कारणले विश्वभरिमा अकालको मार झेलिरहेका मानिसको सङ्ख्या यो चालू वर्ष २०२२ को आरम्भिक तीन महिनामा २३ करोड २० लाखबाट बढेर ३४ करोड ५० लाखसम्म पुगेको बताइएको छ। यस हिसाबले आउँदो २०२३ मा यो अवस्था अझ खराब र विकराल हुन जाने आशङ्का व्याप्त छ।

संयुक्त राष्ट्रसङ्घको यस यस विश्व खाद्य कार्यक्रम एजेन्सीले यो वर्ष २०२२ मा १६ करोड ३० लाख मानिससम्म खाद्य सहायता पु¥याउने लक्षको दायरा र स्तरलाई बढाएको बताएको छ। यस वर्षको मध्यसम्ममा ११ करोड १३ लाख मानिसको बीचमा सहायता वितरण गरिसकिएको जनाइएको छ। यस बढ्दो सङ्कटका बारेमा त्यस एजेन्सीका कार्यकारी निर्देशक डेभिड बिजलीले भनेका छन् – “हामीले एउटा अभूतपूर्व विश्व खाद्य सङ्कटको सामना गरिरहेका छौँ र सबै सङ्केतले दर्शाएका छन् कि यो अवस्था अझ खराब हुन सक्नेछ।” ‘बितेका तीन वर्षमा भोकपीडित मानिसको सङ्ख्या  बारम्बार बढेर नयाँ उचाइमा पुगेको छ।’ यस सङ्गठनका प्रमुखले भनेका छन् कि यस सङ्कटका आधारभूत कारणको सामना गर्नका लागि विशाल स्तरमा समन्वित कारबाहीको अभावमा परिस्थिति नराम्रोबाट अझ नराम्रो हुन जाने आशङ्का बढ्दो छ। उनले भनेका छन् – “हामी रेकर्ड स्तरमा अकालको थप एउटा यस्तो अर्को वर्षलाई झेल्न सक्तैनौँ।” विश्व खाद्य कार्यक्रम र त्यसका साझेदार सङ्गठनका पाँच देश अकालको रोकथामका लागि प्रयासमा जुटेका छन्। ती देश हुन् अफगानिस्तान, इथोपिया, सोमालिया, दक्षिण सुडान र यमन।

विनाशकारी स्तरमा अकाल पीडितलाई लिएर प्रायजसो ह्रिंसक सङ्घर्ष या टकराव हुने गर्छन्। यस स्थितिमा सञ्चार माध्यममा व्यवधान आउँछन्, मानवीय सहायता पु¥याउने मार्ग सीमित हुन पुग्छन् र पीडित समुदाय विस्थापनका सिकार हुन पुग्छन्।

आधारभूत कारण के के हुन त ?

अहिले युक्रेनमा चलिरहेको हिंस्रक सङ्घर्षका कारण विश्व व्यापारमा आज ठूलो व्यवधान खडा भएको छ। जसले गर्दा परिवहन (ढुवानी) को भाडा अर्थात् मूल्य धेरै महँगो भएर गएको छ। अनि कृषि कार्यका लागि किसानले आवश्यक सामग्रीको व्यवस्थापन गर्न पाइरहेका छैनन्। यसको असर आउँदो वर्षको बालीनाली उत्पादनको स्तरमा देखापर्ने सन्देह र सन्त्रास पनि बढ्दो छ।

विश्वमा आज जलवायु परिवर्तनको व्यवधानको गहनता अर्थात् आवृत्ति पनि बढिरहेको छ। जसका कारणले गर्दा प्रभावितका लागि विपत्तिका बीचबाट बाहिर निस्कने अवसर रहेको छैन। यतिबेला हर्न अफ अफ्रिकामा अभूतपूर्व खडेरी, बढ्दो सङ्ख्यामा मानिसलाई चिन्ताजनक स्तरमा खाद्य असुरक्षातर्फ धकेलिरहेको छ भने सोमालियामा अकाल अझ बढ्ने अनुमान छ। विभिन्न देशमा बाढीपहिरोका कारण घरबास तथा कृषियोग्य भूमि विनाश भएको छ। पाकिस्तानमा भएको बरबादी त्यस बान्कीको एउटा पछिल्लो उदाहरण मानएिको छ। यस स्थितिमा प्रभावित देशका सरकारद्वारा यी बढ्दा सङ्कटको सामना गर्ने क्षमतामा आर्थिक चुनौतीका कारण नकारात्मक असर परेको पनि औँल्याइँदैछ। यस स्थितिले गर्दा मुद्रा स्खलित हुन, मुद्रास्फीति, ऋणको दबाबलगायत अन्य कठिनाइ बताइएको छ र विश्व मन्दीको थप दबाब पनि बढिरहेको छ। यस प्रकारको जटिल र गम्भीर स्थितिमा यस्ता मानिसको सङ्ख्या  पनि बढ्न सन्देह गरिएको छ, जसका लागि आफ्नो भोजनको प्रबन्ध गर्न सम्भव हुनेछैन, अनि उनीहरूको आधारभूत आवश्यकता पूरा गर्नका लागि मानवीय राहत र सहयोगको आवश्यकता पर्नेछ।

विश्व खाद्य कार्यक्रमद्वारा सहायता प्रयास

यो यूएन खाद्य कार्यक्रमले २०२२ का लागि आफ्नो योजनालाई महìवाकाङ्क्षी बताएको छ, जुन योजनामा भोक या अकालका कारण हुने गरेको मृत्युलाई रोकथाम गर्नका लागि प्रभावकारी कारबाहीलाई प्राथमिकता दिइएको भनिदैछ। यसको समानान्तर राष्ट्रिय खाद्य प्रणाली र आपूर्ति शृङ्खलामा पनि स्थिरता ल्याउनु पर्नेछ र जतिसम्म सम्भव हुन सक्छ तिनलाई सहन सक्षम बनाउनु पर्ने भन्ने कुरा छ। यो वर्ष अहिलेसम्म यूएन एजेन्सीले आर्थिक सङ्कटबाट पीडित श्रीलङ्कामा आफ्नो सहायत प्रयासमा छ दोब्बर वृद्धि गरेको छ भने सोमालियामा अकाल आशङ्काका बीच आफ्नो अभियानको स्तरलाई बढाएको बताएको छ। त्यसरी नै दक्षिण सुडानको जोंगलेई प्रान्तमा पनि केही बाल बच्चाहरूले भोजन गर्न पाएका छन् जहाँ विश्व खाद्य कार्यक्रमबाट त्यहाँ खाद्य असुरक्षा झेलिरहेका मानिसलाई राशन प्रदान गर्ने गरिएको छ। अफगानिस्तानमा पनि हरेक पाँचमध्ये दुई अफगान नागरिकलाई यति बेला यो यूएन एजेन्सीद्वारा सहायत प्रदान गर्ने कार्यक्रम जारी रहेको छ। यस यूएन एजेन्सीले युक्रेनमा पनि एउटा आपत्कालीन अभियान सुरु गरेको र हिंस्रक टक्कबाट ज्यान बचाएर मोलदोभामा शरण लिने गरेका मानिसका लागि पनि पनि एउटा नयाँ कार्यालयन खोलेको छ।

यी सबै कार्यक्रमको परिप्रेक्षमा यो यूएन एजेन्सीलाई चालू वर्ष २०२२ का लागि १५ करोड ५० लाख मानिससम्म यस प्रकारको सहायता पु¥याउनका लागि २४ अर्ब डलरको आवश्यकता हुने दर्शाइएको छ। तर विश्व अर्थव्यवस्थाले यतिबेला कोभिड–१९ महामारी लगायत अन्य विश्वव्यापी चुनौतीको सामना गरिरहेको छ। अनि आवश्यकता र उपलब्धताका बीच खाडल अझ बढेको छ। त्यस सङ्गठनका अनुसार विश्वमा खाद्य सुरक्षा सुनिश्चित गर्नका लागि शान्ति र आर्थिक स्थिरता कायम राख्ने तथा मानवीय राहतको समर्थन जारी लक्ष्यसँग समन्वय गर्ने प्रयास गरिनु पर्ने कुरा अति नै आवश्यक रहेको औँल्याइन्छ।