• १२ असोज २०८१, शनिबार

योगदानको कदर गर्न घरेलु श्रमिकको माग

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ३ गते । दक्षिण एसियाली घरेलु श्रमिकले अर्थतन्त्रमा आफ्नो मेहनतले गरेको योगदानको कदर हुनुपर्ने बताउनुभएको छ । राज्यले घरेलु श्रमिकले जोगाएको परम्परागत सीप, कलाको पहिचान गर्नुपर्ने मागसहित प्रदर्शन गरेको छ । 

दक्षिण एसियाली घरेलु श्रमिकको राजधानीमा चलिरहेको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो दिन बिहीबार बिहान भृकुटी मण्डपबाट सुरु भएको महिला श्रमिकको र्‍याली सहिदगेट, न्युरोड गेट, रत्नपार्कको परिक्रमा गरी पुनः भृकुटी मण्डपमै पुगेर समापन भएको थियो ।  

होमनेट साउथ एसियाद्वारा आयोजित सम्मेलनमा दक्षिण एसियाली राष्ट्र नेपाललगायत भारत, श्रीलङ्का, बङ्गलादेश र भुटानलगायत देशका एक सय ५० जना घरेलु महिला श्रमिकको सहभागिता थियो ।  

दक्षिण एसियाका घरेलु श्रमिक महिलालाई सङ्गठित गर्न  होमनेट साउथ एसिया स्थापना भएको २२ औँ वर्षको अवसरमा पुनः नेपालमा श्रमिकको सम्मेलन चलिरहेको सो संस्थाले जनाएको छ ।  

कपडा, गलैँचा, ढाका बुन्ने, चोया, कपास, माटो, पराल, काठ, ढुङ्गा, मकैको खोस्टा, अल्लोलगायतका कच्चा पदार्थबाट सजाउने सामग्रीदेखि उपहारहरू समेत हातैले  बनाउने काममा संलग्न व्यक्तित्वलाई घरेलु श्रमिकका रूपमा पहिचान दिलाउने आयोजकले जनाएको छ ।