• १३ साउन २०८१, आइतबार

पैँसट्ठी मतदान स्थल संवेदनशील

blog

बैतडी समाचारदाता

बैतडी, कात्तिक ३ गते । स्थानीय प्रशासनले बैतडीका १२९ मतदान स्थलमध्ये सुरक्षाका दृष्टिकोणले ३१ मतदान स्थल अति संवेदनशील र ३४ मतदान स्थल संवेदनशील गरेर ६५ मतदान स्थल संवेदनशीलको सूचीमा राखेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको मङ्सिर ४ गते हुने निर्वाचनका लागि सुरक्षा दृष्टिकोणले मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र कम संवेदनशील गरेर तीन भागमा वर्गीकरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार विगतको निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयहरूलाई आधार मानेर निर्वाचन स्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलता तयार पारिएको हो । उहाँका अनुसार प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर मतदान स्थलको संवेदनशीलता वर्गीकरण गरिएको हो ।

मतदान स्थलको अवस्था हेरेर सुरक्षा योजना निर्माण भइरहेको छ । बैतडीका १० स्थानीय तहमध्ये सिगास गाउँपालिकाबाहेकका सबै पालिकामा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । मतदान स्थलको अनुगमनपछि मतदान केन्द्र, मतदान स्थल, मतदाता, उम्मेदवार सबैको सुरक्षाको प्रत्याभूति हुने गरेर सुरक्षा योजना तयार गरेर सुरक्षालाई थप प्रभावकारी बनाउन स्थलगत अध्ययन र अनुगमनको काम भइरहेको उहाँले बताउनुभयो । बैतडीका १० स्थानीय तहमा १२९ मतदान स्थल २१० मतदान केन्द्र रहेका छन् ।