• १३ साउन २०८१, आइतबार

अपडेट : मृतकमध्ये चार जनाको सनाखत

बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, १३ घाइते

blog

जिप दुर्घटनामा परेकाको उद्धार गरिँदै ।

 शैलेन्द्र रोकाया 

बझाङ, कात्तिक २ गते।  बझाङको मस्टा गाउँपालिका- १ चिउरी नजिकै जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। सदरमुकाम चैनपुरबाट मष्टा-२ खेतकोट जाँदै गरेको सुप प्र ०१-००१ च ११७ नम्बरको जिप दुर्घटना भएको हो। बझाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीका अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। 

मृतकमध्ये चार जनाको सनाखत भएको छ । मष्टा गाउँपालिका– २ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका १५ वर्षीय रोशन खड्का,  २८ वर्षीया वसन्ती धामी र ११ वर्षीय प्रचण्ड खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए ।

भिरालो क्षेत्रमा दुर्घटना भएकाले उद्धारमासमेत कठिनाइ भएको उहाँको भनाइ छ। घाइतेको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेर जिल्ला अस्पताल सिमखेतमा पठाएका छन्। दुर्घटनामा १३ जना घाइते भएको उहाँले जानकारी दिनुभयो।  

घटनास्थलबाट केही जना घाइतेलाई उद्धार गरेर जिल्ला अस्पताल सिमखेतमा ल्याइएको छ । जिप सडकबाट करिब पाँच सय मिटर तल भिरमा अड्किएको छ ।