• १३ साउन २०८१, आइतबार

किशोरी शिक्षित नभएसम्म समाज रूपान्तरण कठिन

blog

धर्बेन्द्र झा

धनुषा, कात्तिक २ गते । विद्यालय बाहिर रहेका किशोरीलाई अध्ययनका लागि विद्यालयमा नल्याएसम्म समाज रूपान्तरण कठिन रहेको सरोकारवालाको भनाइ छ । जनकपुरधाममा आज भएको कार्यक्रममा सरोकारवालाले सो कुरा बताउनुभएको हो । 

मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा जनकपुरधाममा बुधबार बसेको बालिका तथा समाजसेवी शिक्षा सञ्जालको बैठकमा सहभागीले सो कुरामा जोड दिनुभयो ।  मधेश प्रदेशका जिल्लामा विद्यालय बाहिर रहेका १८ प्रतिशत किशोरीलाई विद्यालय भर्ना गर्न सबै सरकारी तथा साझेदार संस्था बीचमा सहकार्य हुनुपर्ने उहाँहरूको जोड छ ।  

किशोरीहरू शिक्षित भएमा घर परिवार, समाज हुँदै राष्ट्रको शिक्षामा सुधार हुनेभएकोले किशोरी शिक्षालाई सरकारले उच्च प्राथमिकताका दिनुपर्ने उहाँहरूको सुझाव छ । मधेश प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मी भट्टराईले प्रदेशको समग्र शिक्षा नीति बनाउने काममा सरकार लागिपरेको बताउनुभयो । 

प्रदेश सरकारको शिक्षा नीति आएपछि यस्ता प्रकारको समस्या समाधान गर्नमा मद्दत पुग्ने बताउनु भयो । विद्यालय शिक्षा बाहिर रहेका १० वर्ष देखि १९ वर्षका किशोरीलाई विद्यालयमा कसरी ल्याउन सकिन्छ त्यस विषयमा साझेदार संस्थाहरूले हातेमालो गरेर अगाडि बढ्न आवश्यक भएको बताउनुभयो । 

मधेश प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणि फूयालले मधेश प्रदेशको शिक्षाको अवस्था कमजोर भएको बताउनुभयो । प्रदेश सरकारले छोरी शिक्षा बीमा कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने उहाँको भनाइ छ ।  

इंगेज परियोजनाका श्यामकृष्ण मण्डलले मधेश प्रदेशको पर्सा तथा सर्लाहीमा विद्यालय बाहिर रहेका किशोरीलाई विद्यालय भर्ना गराएर शिक्षा प्रदान गर्ने काम गरिरहेको बताउनुभयो । संस्थाले हालसम्म २ हजार ५ सय २५ जना किशोरीहरू विद्यालय भर्ना गरेको उहाँको भनाइ छ ।