• १३ साउन २०८१, आइतबार

हिरासतभित्र महिलामाथि प्रहरीको चरम यातना

blog

सिरहा समाचारदाता

सिरहा, कात्तिक २ गते । सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयामा हत्याको अनुसन्धानको क्रममा हिरासतमा लिइएकी एक महिलालाई प्रहरीले चरम यातना दिएको घटना सार्वजनिक भएको छ। 

मिर्चैया नगरपालिका–१ स्थित रामपुर बिर्ताकी ६२ वर्षीया गुबदीदेवी साह हलुवाईको गत असोज १५ गते भएको हत्याको अनुसन्धानको क्रममा उहाँकी बुहारी जिवछीदेवी साहलाई प्रहरीले केही दिनअगाडि नियन्त्रणमा लिएको थियो। 

नियन्त्रणमा रहेकी जिवछीलाई अनुसन्धानको क्रममा हिरासतभित्रै प्रहरीले करेन्ट लगाई पाइपले सम्वेदनशील अङ्गसहित शरीरका विभिन्न भागमा यत्रतत्र कुटपिट गरेको थियो। प्रहरीको चरम यातनाले गम्भीर घाइते भएकी जिवछीलाई मिर्चैयास्थित स्थानीय अस्पतालमा उपचार गरिएपछि उक्त घटना सार्वजनिक भएको थियो।

घटना सार्वजनिक भएपछि जिवछीलाई भेट्न आफन्त अस्पताल परिसरमा पुगेका थिए। त्यहाँ जिवछीले हिरासतभित्र पुरुष प्रहरीले आफूलाई करेन्ट लगाउनुको साथै हात, पैताला, पाखुरा र शरीरका विभिन्न भागमा पाइपले कुटपिट गर्नुका साथै महिला प्रहरीले समेत दुव्र्यवहार गरेको बताउनुभयो। 

हिरासतभित्रै चरम यातना दिइएकी जिवछीको अवस्था सार्वजनिक भएपछि स्थानीयवासीले यातना दिने प्रहरीलाई कारबाहीको माग गर्दै सोमबार मिर्चैयास्थित पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध गर्दै प्रहरी कार्यालयमा ढुङ्गामुढासमेत गरेका थिए। घटनाको छानबिन गर्न सोमबार जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकीय अधिकृत हरिकिशोर चन्द्रवंशीको नेतृत्वमा छानबिन टोली गठन गरिएको छ।