• १९ असोज २०८१, शनिबार

दुई अर्थविज्ञको चुनावी प्रतिस्पर्धा

blog

नेपाली कांग्रेस (गठबन्धन)बाट विश्वनाथ पौडेल र नेकपा (एमाले) बाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे

शालिग्राम नेपाल 

चितवन, कात्तिक २ गते ।  चितवनको निर्वाचन क्षेत्र नं. १ मा दुई अर्थविज्ञबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। नेकपा (एमाले)बाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाली कांग्रेस (गठबन्धन)बाट विश्वनाथ पौडेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो। अर्थ मन्त्रालय सम्हालेर सफल अर्थमन्त्रीको छवी बनाउनुभएका पाण्डे र योजना आयोगको उपाध्यक्ष पद छाडेर संसदीय राजनीतिमा पहिलो पटक निर्वाचनमा उम्मेदवार हुनुभएका पौडेल अहिले जनता रिझाउन प्रचारमा लाग्नुभएको छ। 

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार बन्नुभएका पौडेललाई बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटीले समर्थन गर्नुभएको छ। यस निर्वाचन क्षेत्रमा दुई पटक पाण्डे निर्वाचित हुनुभएको छ। अहिले उहाँको तेस्रो कार्यकालको लागि चुनावी प्रतिस्पर्धा भएको छ। नेपाली कांग्रेसले नयाँ अनुहारको उम्मेदवार चुनावी मैदानमा उतारेर जित हासिल गर्ने योजनामा रहेको छ।  

उहाँको कार्यकालमा विकासका योजना ल्याएको र इतिहासलाई हेर्दा यस क्षेत्रमा एमालेको वर्चस्व भएकाले कांग्रेसका उम्मेदवारलाई जित हासिल गर्न चुनौती देखिएको छ। २०७४ सालमा बाम गठबन्धनबाट साझा उम्मेदवार बनेका पाण्डेले ५१ हजार ८० मत प्राप्त गर्नुभएको थियो। त्यतिबेला उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले ३५ हजार ३६० मत ल्याउनुभएको थियो। 

२०७४ सालमा भारी मतले विजयी भएका पाण्डे अहिले एमालेको जनमत झन् बढेको उहाँको भनाइ छ। “चितवन–१ मा मात्र होइन, देशभर नै एमालेको जनमत बढेको छ। स्थानीय तहको चुनावको परिणामले नै यसलाई पुष्टि गरिसकेको छ, केही सिट कम भए पनि मतका हिसाबले एमाले पहिलो पार्टी हो,” नेता पाण्डेले भन्नुभयो। उहाँले आफू एक जानकार अर्थविद् भएको दाबी गर्दै भन्नुभयो, “म अर्थविद् नभई अर्थमन्त्री भए होला र ?” उहाँले चितवन–१ का हरेक विकास निर्माणमा आफू जोडिएको बताउँदै आफू निर्वाचित हुनेमा कुनै 

शङ्का नै नरहेको दाबी गर्नुभयो। उहाँले आफू अर्थमन्त्री हुँदा चितवन–१ मा ठूलो बजेट पारेको र पछिल्लो पाँच वर्ष सांसद हुँदा पनि यहाँको विकास निर्माणमा बजेट पार्न सफल भएको बताउनुभयो।  

यस पटक पाण्डेलाई अर्का अर्थविद् कांग्रेसका उम्मेदवार पौडलको चुनौती छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पद छाडेर निर्वाचनमा होमिनुभएका पौडेल राष्ट्र निर्माणको योजना बनाउन सक्ने क्षमता आफूमा भएको दाबी गर्नुहुन्छ।  एकीकृत समाजवादी, माओवादी केन्द्र र कांग्रेसको मतले आफ्नो जित सुनिश्चित भएको उहाँले बताउनुभयो। 

सत्ता गठबन्धनले इमानदारिताका साथ मत दिएमा भने एमालेका उपाध्यक्ष पाण्डेलाई पौडेल भारी पर्न सक्छन्। युवा र नयाँ अनुहारको खोजी भएका मतदाताका लागि पौडेल विकल्पका उमेदवार हुन्। तर, टिकट ल्याउँदाको विषयलाई हेर्ने हो भने पुराना र स्थानीय राजनीति गरेकाको भनाइलाई हेर्ने हो भने पौडेलमाथि कांग्रेसले रिस साँधेर पाण्डेलाई मत हाल्ने देखिन्छ। देउवा निकटका पौडेलले सजिलै टिकट ल्याएका कारण यस क्षेत्रका पुराना र स्थानीय तहमा राजनीति गरेर आएकाहरूमा असन्तुष्टि देखिन्छ। 

यसअघि दुई पटक जितिसकेका कारण पाण्डे यस क्षेत्रका लागि बढी चिरपरिचित छन्। हुन त, यो क्षेत्रमा २०४८ सालयता एक पटक मात्र नेपाली कांग्रेसले जितेको छ, नत्र हरेक पटक नेकपा (एमाले)का उम्मेदवारले जितेको पाइन्छ। त्यसैले चितवन–१ मा नेकपा (एमाले)ले आफ्नो गढ भनेर दाबी गर्दै आइरहेको छ। एमालेका नेता जागृतप्रसाद भेटवालको पालादेखि नै यस क्षेत्रलाई एमालेले आफ्नो किल्लाका रूपमा दाबी गर्दै आएको छ। नेपाली कांग्रेसले एमालेको विरासत अहिलेको स्थानीय तहको चुनावले तोडेको दाबी गरेको छ। अहिलेको स्थानीय तहको चुनावमा रत्ननगर, खैरहनी र राप्ती तीनवटा पालिका प्रमुखमा एमालेले जित हासिल प्राप्त गर्न सकेन।

नेपाली कांग्रेसका चितवन क्षेत्र नं. १ का सभापति किरणभूषण ओली एमालेले भन्दै आएको विरासत भत्किने दाबी गर्नुहुन्छ। “२०५६ सालमा यस क्षेत्रमा सावित्री बोगटीले जित्नुभएको हो, यसलाई कांग्रेसले फेरि अहिले फर्काउँछ,” उहाँले भन्नुभयो। एमालेको जनमत टुक्रिएर क्षयीकरण भएको उहाँले भनाइ छ। 

क्षेत्र १ (क)बाट उम्मदेवारसमेत रहनुभएका ओलीले गठबन्धनबाट कांग्रेसका युवा नेता पौडेल चुनावी मैदानमा रहेका र अरू कुनै उम्मेदवार नभएको बताउनुभयो। यस क्षेत्रमा अहिले कांग्रेसका बागी उम्मेदवार बन्नुभएका राजेन्द्र बुर्लाकोटी यसअघि दुई पटक यस क्षेत्रमा उठेर पराजित हुनुभएको थियो। बुर्लाकोटीलाई दुई पटक नै नेता पाण्डेले पराजित गर्नुभएको थियो।