• १९ असोज २०८१, शनिबार

आर्मीका कुमारद्वारा ३२ वर्ष पुरानो कीर्तिमान भंग

blog

दौड पूरा गरेपछि सोमबहादुर कुमाल । तस्बिर : गोरखापत्र

अर्जुन काफ्ले 

पोखरा, कात्तिक १ गते । राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमालले चार सय मिटर पुरुष दौडमा ३२ वर्ष पुरानो कीर्तिमान भंग गर्नुभएको छ । पोखरा रङ्गशालामा कुमालले मंगलबार आशाराम चौधरीको नाममा रहेको कीर्तिमान भंग गर्नुभएको हो । 

सन् १९९० मा चिनको बेजिङमा चौधरीले बनाएको ४८ः३२ सेकेन्डको रेकर्ड कुमालले ४७ः९५ सेकेन्डमा पार गर्दै भड्ग गर्नु भएको हो । २०७० साल देखि खेलकुदमा लाग्नु भएका कुमालले निरन्तर हार व्यहोर्दै असफलता नै सफलताको प्रतीक हो भन्ने उखानलाई साकार पार्नु भएको हो ।

आफ्नो निरन्तर प्रयासले गर्दा १० वर्षमा सफलता हासिल गर्न सफल भएकोमा उहाँले आफैलाई सम्हाल्न नसकेको बताउनुभयो । आर्मीमा आबद्ध भएसँगै घरमा जाँदा समेत निरन्तर अभ्यास गर्ने गरेको स्मरण गर्दै उनले आफुहरुलार्ई चिनाउने राष्ट्रिय झण्डा भएकोले यस्ता प्रतियोगिताहरू निरन्तर रूपमा हुनु पर्ने उहाँले बताउनुभयो ।

गोर्खा घर भई पाँच पटकको प्रयासमा आर्मीमा भर्ती हुनु भएका उहाँले आर्मीमा अवसर पाएसँगै आफैले मेहनत गरेर सफल भएको बताउनुभयो ।चार सय मिटरमा एपीएफका आशिष् चौधरीले ४९.४० सेकेन्ड रजत र त्रिभुवन आर्मीका प्रकाश दनुवारले ४९.९० दुरी पूरा गर्दै कांस्य पदक जित्नुभयो । 

महिलातर्फ एपीएफकी रमिता कुमारी थारुले ५८.१० सेकेन्डमा चार सय मिटर दुरी पुरा गर्दै नयाँ कीर्तिमान कायम गर्नुभयो सन् २०१९ मा चिनमा भएको खुल्लामा तुलसा खत्रीले बनाएको ५९.५७ सेकेन्डको रेकर्ड तोड्नु भएको हो ।

तालिममा भएका कारण आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन नपाए पनि यस विधामा आफूले नयाँ रेकर्ड राख्ने सपना पोखराबाट पुरा भएको उहाँले बताउनुभयो । सातौँ खेलकुदमा लुम्बिनी प्रदेशबाट सहभागी भएकी उनी पदक विहीन रित्तो हात फर्किनु भएको थियो । 

आर्मीकी निर्मला थापाले एक मिनेट ०.१४ सेकेन्डमा रजत र एपीएफकी कल्पना श्रेष्ठले एक मिनेट ०.७० सेकेन्डमा कांस्य पदक जित्नुभयो ।