• २० असोज २०८१, आइतबार

अबको ऐतिहासिक दायित्व आर्थिक समृद्धि : अध्यक्ष दाहाल

blog

काठमाडौं क्षेत्र नम्बर २ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको उम्मेदवार परिचय तथा निर्वाचन परिचालन समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर : सागर बस्नेत

काठमाडौं, असोज ३० गते। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको ऐतिहासिक दायित्व आर्थिक समृद्धिको नयाँ क्रान्तितिर अघि बढ्नुपर्ने रहेको बताउनुभएको छ। 

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले देशको इतिहासमा राजनीतिक परिवर्तन अपेक्षाकृत सहज भएपनि यो परिवर्तन दिगो बनाउन आवश्यक रहेकोमा जोड दिँदै विकास निर्माण र समृद्धि नहुँदा प्रश्न खडा हुँदै आएको बताउनुभयो।

अध्यक्ष दाहालले भन्नुभयो, “अहिले प्रतिगमनको कुरा छ, फेरि गठबन्धन बनाएर जानुपर्ने अवस्था आइलाग्यो। संविधानको रक्षा, स्थिरता, आर्थिक समृद्धिको अभियानलाई एक सूत्रीयरुपमा अघि बढाउन सकेनौँ भने देश सधैँ निरङ्कुशता र अस्थिरताको भुमरीमा रहन्छ। अबको ऐतिहासिक दायित्व आर्थिक समृद्धिको नयाँ क्रान्तितिर अघि बढ्नु हो।”

देशको ऐतिहासिक राजनीतिक परिवर्तनबारे चर्चा गर्नुभयो। उहाँले १२ बुँदे समझदारी, सङ्घीय लोकतान्त्रिक संविधानको घोषणा हुँदै गठबन्धनको चरणमा आइपुगेको उल्लेख गर्नुभयो। हालको गठबन्धनको नेतृत्वमा स्थानीय निर्वाचन सम्पन्न भएको अब सङ्घ र प्रदेशको निर्वाचनमा जान लागेको उहाँको भनाइ छ।

अध्यक्ष दाहाले यस क्रममा नेपाली कांग्रेस र अन्य कम्युनिष्ट पार्टीसँग विगतदेखि नै सहकार्य हुँदै आएकोले गठबन्धनका दल एक अर्कालाई भोट हाल्न कुनै असहज मान्न नपर्ने धारणा राख्नुभयो।