• १३ साउन २०८१, आइतबार

नाम प्रादेशिक निर्वाचन कार्यालय

काम जिल्ला निर्वाचन कार्यालय

blog

धीरेन्द्रप्रसाद साह

जनकपुरधाम, असोज ३० गते । निर्वाचनसम्बन्धी कार्यसम्पादनका लागि जनकपुरधामस्थित प्रादेशिक निर्वाचन कार्यालय स्थापना गरिएको छ। प्रादेशिक नाम जोडिएपछि प्रदेशअन्तर्गतका जिल्ला निर्वाचन यसै कार्यालयको मातहत रहने, निगरानी गर्ने, विवरण अद्यावधिक राखिनेलगायत निर्वाचनसम्बन्धी समन्वय, सहकार्य गरी कार्यसम्पादन हुने भन्ने बुझिन्छ तर यहाँको प्रादेशिक निर्वाचन कार्यालयले जिल्ला निर्वाचन कार्यालयकै रूपमा कार्य गर्दै आएको छ।

मधेश प्रदेशमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठवटै जिल्लामा जिल्ला निर्वाचन कार्यालय स्थापित छन्। यी कार्यालयले जिल्लाको निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य गर्दै आएका छन्। सङ्घ, प्रदेश र स्थानीय गरी अहिले तीन तहको सरकार क्रियाशील छ। यसलाई मूर्त रूप दिन सरकारी कामकाजका लागि कार्यालयको संरचना पनि त्यहीअनुसार खडा गरिएको छ। प्रदेशभरका जिल्लास्थित कार्यालयसँग समन्वय, सहकार्य गरेर सेवा प्रभावकारी बनाइ तथ्याङ्क अध्यावधिक राख्न सम्बद्ध कार्यालयको प्रादेशिकस्तरमा कार्यालय खडा गरिएको छ तर निर्वाचन कार्यालयको त्यस्तो काम गर्न र अधिकार सम्पन्न कार्यालय नहुँदा प्रदेशभरिका निर्वाचनसम्बन्धी सूचना पाउन कठिनाइ भोग्नु परेको स्थानीय सञ्चारकर्मी शैलेन्द्र झाले जानकारी दिनुभयो। 

“प्रदेश भरिका निर्वाचनसम्बन्धी आवश्यक सूचना एकीकृत रूपमा पाउन साह्रै मुस्किल भएको छ,” उहाँले भन्नुभयो, “प्रदेशका प्रत्येक जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गरेर जिल्लाको निर्वाचनसम्बन्धी सूचना लिनुपर्ने अवस्था छ। नाम प्रादेशिक निर्वाचन कार्यालय, काम भने जिल्लामा मात्र केन्द्रित रहेको छ।” उहाँले प्रदेश कार्यालयको प्रदेशस्तरीय कामका लागि अधिकार प्रत्यायोजन गरेर विकास गर्नुपर्ने बताउनुभयो। प्रादेशिक निर्वाचन कार्यालय प्रमुखमा उपसचिव एक, शाखा अधिकृत दुई, लेखापाल, सुब्बासहित नौ जनाको स्थायी दरबन्दी छ। एक जना शाखा अधिकृतको दरबन्दी खाली रहेको छ। त्यसबाहेक अन्य सबै पदमा कर्मचारी दरबन्दी पदपूर्ति छन् । त्यसले गर्दा धनुषा जिल्लाको निर्वाचनसम्बन्धी सम्पूर्ण कामकाज सहज रूपमा सम्पादन भइरहेको सो कार्यालयका सूचना अधिकारी कृष्ण राउतले जानकारी दिनुभयो। “कर्मचारी अभाव नहुँदा कामकाजमा कुनै किसिमको अप्ठ्यारो छैन,” उहाँले भन्नुभयो।

“२०७७ सालमा प्रादेशिक निर्वाचन कार्यालय नामकरण गरियो। यसको उद्देश्य नै प्रदेशभरका जिल्ला निर्वाचन कार्यालयको निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि, कार्य सम्पादन तथा तथ्याङ्क एकीकृत गरेर निर्वाचन आयोग र अन्यलाई सूचना सम्प्रेषण गर्नु हो तर निर्वाचन आयोगको सबै जिल्लाको ‘सिस्टम ओपन’ गरेको छैन,” प्रादेशिक निर्वाचन कार्यालय जनकपुरधामका प्रमुख श्रीधर पन्थीले भन्नुभयो, एउटै जिल्लाले प्रदेशका सबै जिल्लामा काम गर्न नसकेर पनि हो। आयोगले प्रादेशिक कार्यालय स्थापना, कार्यबारे नीति बनाउन सकेर प्रादेशिक कार्यालयको कामकाज प्रदेशस्तरीय रूपमा अगाडि बढ्न नसकेको हो।