• १३ साउन २०८१, आइतबार

एउटै पदमा सत्ता गठबन्धनका दुई उम्मेदवार

blog

सत्ता गठबन्धनबाट प्रदेश १ (क) बाट उम्मेदवार बनेका नेकपा समाजवादीका सुरेशबहादुर राउत र लोसपाका पीताम्बर महतो । तस्बिर: रवीन्द्र उप्रेती

बर्दिबास, असोज ३० गते । आसन्न निर्वाचनमा सत्ता गठबन्धनतर्फबाट महोत्तरी क्षेत्र नं १ को (क) मा प्रदेश सभा सदस्यका लागि एउटै पदमा २ जनाले मनोनयन दर्ता गराएपछि आधिकारिक उम्मेदवारका लागि हानथाप सुरु भएको छ । विवाद समाधान हुन नसकेपछि चुनाव प्रचारप्रसारमा अन्याेल देखिएको छ । 

यही विषयलाई लिएर सत्ता गठबन्धनभित्रका स्थानीय दलबीच मनमुटाब सुरु भएको छ भने पूर्व मन्त्री गिरिराजमणि पोखरेललाई तनाव सुरु भएको छ । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीले सुरेशबहादुर राउतलाई टिकट दिएको छ । उता लोकतान्त्रिक समाजवादीले पीताम्बर महतोलाई उठाएको छ । एउटै पदमा दुई उम्मेदवार भएको जान्दा जान्दै गठबन्धन नेतृत्व गम्भीर नभएपछि दुवैले मनोनयन दर्ता गराएको बताउनुभयो । 

आधिकारिक उम्मेदवार को हो ? भन्नेमा नेतृत्वले स्पष्ट गर्न सकेको छैन । दुवै जनाले आफूलाई आधिकारिक भएको दाबी गर्दै आएका छन् तर कार्यकर्ता अन्याेलमा छन् । समाजवादीका राउतले आफ्नो पार्टीको पत्र देखाउँदै आफू नै आधिकारिक उम्मेदवार भएको दाबी गर्नुभयो । समाजवादीका महासचिव डा. वेदुराम भुसालले हस्ताक्षर गरेको पत्रमा ‘महोत्तरीको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ (क) मा सुरेशबहादुर राउत र क्षेत्र नं २ (क) मा मञ्जु यादव आधिकारिक उम्मेदवार भएको’ ब्यहोरा उल्लेख छ ।  

 लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनभित्रको दल नै नभएको राउतको जिकिर छ । ‘लोसपा त अन्तिम अवस्थामा आएर तालमेल गरेको पार्टी हो, गठवन्धनको हैन’ उहाँले भनाई राख्नुभयो । त्यसैले मेरो उम्मेदवारी नै आधिकारिक भएकोमा दुईमत हुन सक्दैन ।’ सत्ता गठबन्धनभित्रको सशक्त दल नेपाली काँग्रेसको स्थानीय नेता कार्यकर्ताले पनि राउतलाई नै समर्थन गरेकोले राउतको पक्षमा जनमत बढ्दै गएको छ । 

उता पीताम्बर महतोको दाबी पनि उस्तै छ । आफू विवादमा पर्न नचाहेको उहाँले बताउनुभयो । तर पार्टीले नै टिकट दिएपछि सम्मानपूर्वक मनोनयन दर्ता गराएको बताउनु भयो । ‘यो विवाद मेरो र उहाँ (राउत) बिचको भन्दा पनि केन्द्रको हो’ महतोले भन्नुभयो ‘केन्द्रले टुङ्गो लगाइदिए त भई गो नि ।’

श्रोतका अनुसार यसै विषयलाई लिएर गिरिराजमणि पोखरेल र लोसपा प्रमुख महन्थ ठाकुरबीच एक दिनअगि जलेश्वरमा छलफल भएको छ । फेरि पनि समस्याले निकास नपाउदा यसको फाइदा विपक्षी दललाई पुग्ने सत्ता गठवन्धनकै कार्यकर्ताले बताएका छन् । सत्ता गठबन्धनले प्रतिनिधि सभा सदस्यका लागि महोत्तरी क्षेत्र नं १ बाट चौथो पटक पनि पोखरेललाई नै उम्मेदवार बनाएको छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता चिरञ्जीवी हमालले विवाद समाधान नहुँदा यसको तत्काल प्रभाव प्रचारप्रसारमा परेको छ । ‘अहिले के भनेर मत माग्ने ?’ उहाँले प्रश्न गर्नु यो ‘अन्तिम टुङ्गो लगाउन जति ढिलाइ हुँदै जान्छ यस क्षेत्रमा सत्ता गठबन्धनको माहौल बिग्रने क्रममा छ ।’

Author

रवीन्द्र उप्रेती