• १३ साउन २०८१, आइतबार

पर्यटकीय नगरीमा खेल महामहोत्सव

blog

लामो प्रतीक्षापछि पर्यटकीय नगरी पोखरामा राष्ट्रिय खेलकुदको नवौंँ संस्करणको औपचारिक उद्घाटन भएको छ । यो राष्ट्रका निम्ति असाध्य महत्त्वपूर्ण उत्सव हो । उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार उद्घाटन गर्नुभएको राष्ट्रिय महत्त्वको खेलकुदको नवौंँ संस्करण दुई वर्ष ढिला भएको हो । यसअघि वि.सं. २०७७ मा पोखरामा नै आयोजना गर्ने तय गरिए पनि कोरोनाका कारण त्यतिबेला हुन सकेन । पछि स्थानीय निर्वाचन आदिका कारण थुप्रै पटक सारिएपछि बल्ल शुक्रबार जुरेको हो । औपचारिक उद्घाटनसँगै खेलाडीको राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अभिलाषा पनि पूर्ण भएको छ । त्यसो त औपचारिक उद्घाटन हुनु केही दिनअघि नै पोखरामा विभिन्न खेलका प्रतियोगिता तथा पदकको छिनोफानोसमेत भइसकेको छ । यसले खेलाडी र खेलप्रेमीमा नयाँ उत्साह छाइसकेको छ ।

प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना हुने भनी निर्धारण गरिएको राष्ट्रिय खेलकुद चार दशकमा नौ पटकसम्म मात्र आयोजना हुन सकेको पाइन्छ । यसमा अनेक कारण छन् । राष्ट्रिय खेलजीवनलाई नियमित बनाउनु जरुरी थियो तर सकिएको छैन । तैपनि ढिलै भए पनि राष्ट्रिय प्रतियोगिताले निरन्तरता पाउनु नै ठूलो कुरो हो । यसबाट निश्चय नै खेलाडीमा हौसला बढ्नेछ । उनीहरूमा उत्साहको सञ्चार हुनेछ । यसैगरी राष्ट्रमा खेलकुदको गतिविधिले प्रश्रय पाउने र नयाँ प्रतिभाको प्रष्फुटन हुनेछ । नयाँनयाँ राष्ट्रिय कीर्तिमान बन्न सक्नेछन् । सुन्दर पर्यटकीय नगरी पोखरामा भइरहेको यो महोत्सवको विशिष्ट महŒव छ । यो शुक्रबार औपचारिक उद्घाटन भएको नवाँैं संस्करणको खेलकुद प्रतियोगिता कात्तिक ३ गतेसम्म जारी रहनेछ । सर्वाधिक पदक विजेता टिमले सुनौलो ट्रफी हात पार्नेछ । यो प्रतियोगिताको खास विशेषता हुनेछ । यसअघि यस्तो ट्रफी वितरण गरिने परम्परा थिएन । नयाँ व्यवस्थाबाट टिम तथा खेलाडीमा थप उत्साहपूर्ण वातावरण सिर्जना हुनेछ । 

खेलकुदको पोखरा महामहोत्सवमा झन्डै छ हजार दुई सय खेलाडीको सहभागिता छ । निर्णायक, प्रशिक्षक, आयोजक समिति, सञ्चारकर्मीसमेत गरेर झन्डै दस हजारको सहभागिता रहने अनुमान गरिएको छ । पर्यटकीय नगरीमा दस हजारको मेला ठूलो राष्ट्रिय पर्व नै हो । कुल ६० करोड रुपियाँको लागतमा गरिन लागेको यस नवौँ संस्करणमा ३६ खेल र दुई प्रदर्शनीसहित ३८ खेल समाविष्ट गरिएका छन् । मुलुकका सातवटै प्रदेश तथा विभागीय टिमअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका टोलीले सहभागिता जनाउँदै छन् । यसबाहेक गैरआवासीय नेपाली सङ्गठन (एनआरएन)को टिमसहित कुल ११ टिमको यसमा सहभागिता रहेको छ । सहभागी खेलाडी तथा टिमले ३९३ स्वर्ण, ३९३ रजत र छ सय कांस्य पदकका लागि आफ्नो सर्वोत्तम प्रस्तुतिको प्रयास गर्दैछन् । 

राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्देश्य मनोरञ्जन तथा प्रतिस्पर्धा मात्र होइन । यो त देशवासीबीच भाइचारा तथा आत्मीय सम्बन्धको विकासमा कोसेढुङ्गासमेतहो । यस दृष्टिकोणबाट सातै प्रदेश, विभागीय टोली तथा एनआरएनको टोलीको सहभागितालाई यो खेलकुद प्रतियोगिताको सुन्दर पक्षका रूपमा औंँल्याउन सकिन्छ । यसबाट स्वदेश तथा विदेशमा रहेका नेपालीबीच आपसी सम्बन्ध प्रगाढ र सुदृढ गर्न निकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा छ ।  

पोखराले पहिलो पटक यस्तो राष्ट्रिय महोत्सव आयोजना गरेको भने होइन । यसअघि राष्ट्रिय खेलकुदको दोस्रो संस्करण–२०४० पनि पोखरामै भएको थियो । चार दशकपछि फेरि पोखराले नवौंँ संस्करण सम्पन्न गर्दै छ । पोखराको पर्यटन प्रवद्र्धन तथा गौरव बनाउन यो महोत्सवले ठूलो योगदान दिन सक्नेछ । पोखरा मात्र होइन, यो खेलले सिङ्गो गण्डकीलाई नयाँ ऊर्जा दिनेछ । गण्डकी प्रदेशको मनाङ, लमजुङ तथा मुस्ताङबाहेक पोखरामा २६ खेल र बाँकी जिल्लामा गर्ने कार्यक्रमले गण्डकीलाई प्रभावित गरेको हो । यसबाट प्रदेशमा लगभग सबैजसो जिल्लामा राष्ट्रिय खेलकुुदको उत्साह तथा उमङ्ग विस्तार भएको छ । खेलाडी र खेलप्रेमीका निम्ति राष्ट्रियकुम्भका रूपमा परिचित राष्ट्रिय खेलकुद पटक पटक विलम्ब चिर्दै आयोजना हुनु आफँैमा एउटा उपलब्धि हो । यस्ता महत्त्वपूर्ण खेलकुद प्रतियोगितालाई नियमित गर्न राष्ट्रिय खेलकुद परिषद्लगायतका सम्बद्ध निकायको मेहनत र प्रतिबद्धता अत्यन्त जरुरी छ । राष्ट्रिय खेलकुद प्रतियोगिताका निम्ति वर्षौं कुर्नैपर्ने बाध्यताको अन्त्य पनि निकै महत्त्वपूर्ण विषय हो । पोखरामा जारी नवाँैं संस्करण सफलतापूर्वक सम्पन्न होस्, हार्दिक हार्दिक शुभकामना !