• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिममा सत्तारुढ गठबन्धनमध्ये काङ्ग्रेसबाट धेरै उम्मेदवार

blog

धनगढी, असोज ३० गते । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनको मुख्य दल नेपाली काँग्रेसले सुदूरपश्चिमका १६ मध्ये ९ क्षेत्रमा उम्मेदवार उठाउन पाएको छ । यस्तै प्रदेशका ३२ मध्ये १८ क्षेत्रमा काँग्रेसका उम्मेदवार छन् ।

२०७४ मा प्रतिनिधि र प्रदेश सभाका सबै क्षेत्रमा उम्मेदवारी दिए पनि प्रतिनिधि सभामा एक र प्रदेशमा चार सीटमा मात्र काँग्रेसका उम्मेदवार विजयी भएका थिए । वामगठवन्धनका कारण काँग्रेसले ०७४ को चुनावमा हार व्यहोरेको थियो । ०७४ मा हालका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा मात्र प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएको थियो । यस पटक काँग्रेसले डडेलधुरामा सभापति देउवा, बाजुरामा सह महामन्त्री बद्रीप्रसाद पाण्डे, दार्चुलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द प्रसाद बडू,  कञ्चनपुर क्षेत्र नम्बर २ मा पूर्व मन्त्री एनपी साउद कञ्चनपुर ३ मा अर्का पूर्व मन्त्री रमेश लेखक उम्मेदवार बन्नु भएको छ । 

यस्तै अछाम क्षेत्र नम्बर २ मा जिल्ला सभापति पुष्पबहादुर शाह, कैलाली क्षेत्र नम्बर १ मा पनि पूर्व मन्त्री रामजनम चौधरी, कैलाली क्षेत्र नम्बर ४ काँग्रेसका पूर्व सभापति तथा पूर्व मन्त्री वीरबहादुर बलायर र कैलाली क्षेत्र नम्बर ५ हालका प्रदेश सभा सदस्य डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नु भएको छ । प्रदेश सभाका प्रत्यक्षतर्फका ३२ मध्ये १८ क्षेत्र पाएको काँग्रेसले कैलाली क्षेत्र नम्बर १ ‘ख’ मा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल, कैलाली २ ‘क’ मा कमलबहादुर शाह, कैलाली क्षेत्र नम्बर ३ ‘क’ मा कैलाली काँग्रेसका जिल्ला उपसभापति खेमराज चौधरी, कैलाली क्षेत्र नम्बर ४ ‘ख’ मा प्रकाशबहादुर वम र कैलाली क्षेत्र नम्बर ५ ‘ख’ मा काँग्रेस युवा नेता प्रकाशबहादुर देउवालाई उम्मेदवार बनाएको छ । 

यस्तै कञ्चनपुर क्षेत्र नम्बर १  ‘क’ बाट  बन्धु राना ,  ‘ख’ बाट   दिवानसिंह विष्ट, कञ्चनपुर क्षेत्र नम्बर २  ‘ख’ बाट बहादुर सिंह रावल,  कञ्चनपुर क्षेत्र नम्बर ३  ‘ख’ बाट बेलबहादुर राना मगर प्रदेश सभा सदस्यका उम्मेदवार बन्नु भएको छ । यस्तै गरेर डडेलधुरा ‘ख’ बाट प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा,  डोटी क्षेत्र नम्बर १ ‘क’ बाट जिल्ला सभापति नरेन्द्रबहादुर सिंह, बाजुराको ‘ख’ बाट पदमबहादुर शाही, बझाङ ‘क’ बाट पृथ्वीबहादुर सिंह, अछाम क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेश महामन्त्री मेघराज खड्का, अछाम क्षेत्र नम्बर २ ‘ख’ बाट  मानबहादुर रावल, बैतडी ‘क’  बाट वीरबहादुर विष्ट , ‘ख’ बाट शिवराज भट्ट, दार्चुला ‘क’ बाट विक्रमबहादुर धामी उम्मेदवार बन्नु भएको छ । 

०७४ को चुनावमा काँग्रेसले डोटी क्षेत्र नम्बर १ ‘क’, कैलाली क्षेत्र नम्बर १ ‘ख’ कैलाली क्षेत्र नम्बर ५ ‘ख’ र डडेलधुरा ‘ख’ बाट मात्रै जितेको थियो ।

माओवादीका प्रतिनिधि सभामा चार र प्रदेशमा १२ जना उम्मेदवार 

०७४ मा एमालेसँगको गठबन्धनमा प्रतिनिधि सभामा तीन र प्रदेश सभामा १० क्षेत्र जित्न सफल भएको नेकपा (माओवादी केन्द्र) ले यस पटक काँग्रेस सहितको गठबन्धनबाट प्रतिनिधि सभामा चार र प्रदेश सभामा १२ उम्मेदवार उठाउन पाएको छ ।

माओवादीले अघिल्लो पटक कञ्चनपुर क्षेत्र नम्बर १, कैलाली क्षेत्र नम्बर ३ र ४ मा प्रतिनिधि सभा सदस्य जितेको थियो । यस पटक भने कञ्चनपुर क्षेत्र नम्बर १ पूर्व मन्त्री विना मगर, कैलाली २, ३ र बैतडीमा ०६४ का संविधान सभा सदस्यहरू क्रमशः भगत बडवाल, कृष्ण चौधरी र नरेन्द्र कुँवरलाई उम्मेदवार बनाएको छ । यस्तै प्रदेश सभाका प्रत्यक्ष तर्फका ३२ मध्ये  १२ क्षेत्र पाएको माओवादीले डडेलधुरा ‘क’  बाट प्रदेश इन्चार्ज खगराज भट्ट, दार्चुला ‘ख’ बाट प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी कैलाली क्षेत्र नम्बर १ ‘क’ बाट दीर्घ राज विनाडी, कैलाली क्षेत्र नम्बर २ ‘ख’ बाट नन्दबहादुर साउद, कैलाली क्षेत्र नम्बर ५ ‘क’ बाट रमेश धामी, कञ्चनपुर क्षेत्र नम्बर २ ‘क’ बाट ओमविक्रम भाट सरल, कञ्चनपुर क्षेत्र नम्बर ३ ‘क’ बाट ०६४ का संविधान सभा सदस्य टेकेन्द्र भट्ट, डोटी ‘ख’ बाट शिवसिंह ओली, बाजुरा ‘क’ बाट पूर्व राज्यमन्त्री कर्णबहादुर विक केशव, बझाङ ‘ख’ बाट भीमबहादुर भण्डारी, अछाम क्षेत्र नम्बर १ ‘ख’ बाट झपट साउद, अछाम क्षेत्र नम्बर २ ‘क’ बाट र अक्कलबहादुर रावल उम्मेदवार बन्नु भएको छ । 

एकीकृत समाजवादीका प्रतिनिधि सभामा तीन र प्रदेशमा दुई उम्मेदवार

एमालेबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी) लाई गठबन्धनबाट प्रतिनिधि सभामा तीन र प्रदेश सभामा दुई उम्मेदवार दिइएको छ । 

प्रतिनिधि सभामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर अछाम क्षेत्र नम्बर १ बाट,  पूर्व मन्त्री भानुभक्त जोशी बझाङ र अर्का पूर्व मन्त्री प्रेम बहादुर आले मगर डोटीबाट प्रतिनिधि सभामा उठ्नु भएको छ । ०७० र ०७४ मा डोटीबाटै जित्नु भएका आले मगर लगातार तेस्रो पटक जित्ने दाउमा हुनुहुन्छ भने जोशी ०५१ र ०६४ मा निर्वाचित हुनु भएको थियो । मन्त्री कुँवर ०६४ मा संविधान सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । उहाँ राष्ट्रिय सभाको सदस्य पनि भइसक्नु भएको छ । 

यस्तै गरेर एमाले विभाजन हुँदा प्रदेश सभामा १४ प्रदेश सभा सदस्य सहित ठुलो दल बनेको एकीकृत समाजवादीले कैलाली क्षेत्र नम्बर ३ को ‘ख’ , कैलाली क्षेत्र नम्बर ४ को ‘क’ गरेर दुई क्षेत्र मात्र पाएको छ । कैलाली क्षेत्र नम्बर ३ को ‘क’ बाट प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारी र कैलाली क्षेत्र नम्बर ३ को ‘ख’ बाट प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री अमर साउँद उम्मेदवार बन्नु भएको छ । 

समाजवादीले गठबन्धनबाट प्रदेश सभाका लागि दुई क्षेत्र मात्र पाएपछि पाँच ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने भन्दै उम्मेदवार उठाएको छ । समाजवादीले कञ्चनपुर क्षेत्र नम्बर ३ ‘क’ मा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर रावल, कञ्चनपुर क्षेत्र नम्बर २ को ‘ख’ प्रदेशका पूर्व मन्त्री लालबहादुर खड्का, बाजुरा ‘क’ बाट युवासंघका केन्द्रीय अध्यक्ष नरेश शाही, बैतडी ‘क’ बाट नरेन्द्रबहादुर विष्ट र डडेलधुरा ‘ख’ बाट डा. तारा जोशीलाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको छ । डा. जोशी बाहेक सबै सो पाटीको कलम चिन्हबाट उम्मेदवारी दर्ता गर्नु भएको छ । 

Author

प्रकाशविक्रम शाह