पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, साउन २० गते । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगरभित्रका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरी मेयर छात्रवृत्ति कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रमअन्तर्गत नगरका २३ वटा निजी विद्यालयमा २५० जना विद्यार्थीले कक्षा ४ देखि ११ सम्म निःशुल्क पढ्न पाउनेछन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नगरपालिकाबिच भएको सम्झौतापछि चालु शैक्षिक सत्रबाट यो कार्यक्रम लागू भएको नगर प्रमुख धनपत यादवले बताउनुभयो । यो पहलले निजी विद्यालयहरूलाई उनीहरूको सामाजिक उत्तरदायित्व बहन गर्न प्रोत्साहित गरेको उहाँले उल्लेख गर्नुभयो ।
छात्रवृत्तिका लागि कुल ७५० जनाले आवेदन दिएका थिए । नगरपालिकाले तोकेको मापदण्डका आधारमा परीक्षा लिई गरिब, विपन्न, जेहेन्दार, सीमान्तकृत समुदायका र सहिद परिवारका बालबालिकालाई छनोट गरिएको थियो । एक कार्यक्रममा छनोट भएका विद्यार्थीहरूलाई प्रमाणपत्र र शैक्षिक सामग्री वितरण गरिएको छ ।
नगरप्रमुख यादवले सामुदायिक विद्यालयलाई कमजोर बनाउने हल्ला निराधार भएको बताउँदै यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरपालिकाका उपप्रमुख सम्झना चौधरीले यस कार्यक्रमले गरिब परिवारका बालबालिका पनि निजी विद्यालयमा पढ्न सक्छन् भन्ने उदाहरण पेस गरेको बताउनुभयो ।
प्याब्सनका रामग्राम नगर अध्यक्ष बलिराम यादवले नगरको शैक्षिक सुधार अभियानमा निजी विद्यालयको तर्फबाट यो सहयोग गरिएको जानकारी दिनुभयो । यसैगरी, प्याब्सनका केन्द्रीय सल्लाहकार सुमनगोपाल आचार्यले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा थप ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
नगरपालिकाका शिक्षा अधिकृत सुन्दर खनालका अनुसार छनोट प्रक्रिया पारदर्शी र मापदण्डमा आधारित थियो, जसले गर्दा सही विद्यार्थीले अवसर पाएका छन् ।