नवराज नेपाली
बागलुङ (गलकोट), साउन २० गते । बागलुङ नगरपालिका–४ दाबगरामा निर्माण गरिएको आधुनिक बागलुङ बसपार्क गत भदौमा धुमधामका साथ उद्घाटन गरिएको थियो । निर्माण थालेको २३ वर्षपछि पूर्णता पाएको बसपार्कको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभएको थियोे ।
उद्घाटनमा विभिन्न जातिका भेषभूषासहित झाँकी प्रदर्शन गरिएको थियो । यसरी धुमधामका साथ उद्घाटन गरिएको आधुनिक बागलुङ बसपार्क उद्घाटन गरेको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । बरु यहाँको भौतिक संरचना बिग्रँदो अवस्थामा पुगेका छन् । बसपार्कको अवस्था झन् बिग्रँदो छ । बाढी पसेर बस रोक्ने ठाउँ उप्किदो छ, भवनबाट पानी चुहिएर खराब छ, ट्वाइलेट हेर्नै नसक्ने गरी दुर्गन्धित भएको छ ।
बसपार्क नगर विकास कोषबाट नौ करोड रुपियाँ खर्चेर निर्माण गरिएको हो । त्यस बाहेक बसपार्कसम्मको सडक पहुँच विस्तारका लागि तीन करोड रुपियाँ ऋण थप गरिएको छ ।
बसपार्क निर्माणका लागि यस क्षेत्रका जग्गादाताले जग्गा दिएर ठूलो गुन लगाएका छन् । जग्गादाताले नगरपालिकासँग १२ बुँदे सम्झौता गरी जग्गा उपलब्ध गराएका थिए । यद्यपि सम्झौता अनुसार नगरपालिकाले अझै जग्गा फिर्ता दिन सकेको छैन ।
लामो समयदेखि आफ्नो जग्गा फिर्ता नपाउँदा जग्गा दाता आक्रोशित छन् । जग्गादाता हरिबहादुर जिसीले गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले लाभांस कर छुट गर्ने प्रतिबद्धता जनाए पनि त्यो नभएको बताउनुभयो । उहाँले जग्गा व्यवस्थापन समितिले तदारुकता देखाउनुपर्ने बताउनुभयो । जिसीले समितिले तदारुकता नदेखाउँदा आफूहरुले जग्गा फिर्ता पाउन नसकेको बताउनुभयो ।
जग्गादाता उमेश राजभण्डारीले जग्गा फिर्ता गर्न वास्ता नै नगरेको गुनासो गर्नुभयो । उहाँले समितिभित्र नै आन्तरिक विवाद भएको हुन सक्ने बताउनुभयो । आफूहरुलाई झुलाउनुको खास कारण आफुलाई थाहा नभएको बताउनुभयो । राजभण्डारीले समिति र नगरपालिकाले जतिसको छिटो जग्गा फिर्ता गर्न लाग्नुपर्ने बताउनुभयो ।
जगादाता युवराज राजभण्डारीले बसपार्क उद्घाटन गरे लगत्तै फिर्ता गर्ने प्रतिबद्धता जनाए पनि पाउन नसकेको बताउनुभयो । उहाँले जग्गा आफूहरुको नाममा पास गर्दा लाग्ने कर तिर्न तयार भए पनि पाउन नसक्दा दुःख लागेको बताउनुभयो ।
जग्गा दाताहरुले जग्गा फिर्ता नपाउनुमा व्यवस्थापन समितिको भन्दा पनि नगरपालिकाको कमजोरी रहेको उहाँको भनाइ छ ।यस विषयमा जग्गा व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारी नगरपालिकाका कारण जग्गा फिर्ता गर्न नसकिएको बताउनुभयो ।
उहाँले आफूहरु अन्धाधुन्दमा परेको बताउनुभयो। नगरपालिकाले बोले अनुसार काम नगर्दा समस्यामा परेको, समितिले जग्गा पास गर्नका लागि पैसा नभएको र नगरपालिकाले बोलेको कुरा पूरा नगर्दा समस्यामा रहेको बताउनुभयो । दुई वटा जग्गा बिक्रि गरेर समितिको नाममा रहेको ऋण तिर्ने र छिट्टै जग्गा फिर्ता गर्ने बताउनुभयो ।
२०५८ सालमा कुल ५९ रोपनी जग्गा स्थानीयले नगरपालिकालाई प्रदान गरेका थिए । जसमध्ये १७ रोपनी जग्गामा बसपार्क निर्माण गरिएको छ । अन्य जग्गा घडेरीका रुपमा जग्गाधनीलाई फिर्ता गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । बसपार्क सञ्चालनकोलागि ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको समयमा जग्गा फिर्ता गर्ने विषय भने अझै अनिश्चिततामै रहेको जग्गादाताको बुझाइ छ ।
यस विषयमा नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बसपार्क सञ्चालनको पूरा तयारी भइरहेको र जग्गादाताको जग्गा पनि फिर्ता हुने प्रक्रियामा रहेको बताउनुभयो । चालु आर्थिक बर्षमा जग्गा दाताले जग्गा फिर्ता पाउने गरि व्यवस्थापन समितिले काम गर्ने विश्वास रहेको बताउनुभयो ।
बसपार्क मध्यपहाडी लोकमार्ग र बागलुङ–बेनी सडक नजिकै भए पनि पहुँचमार्गको समस्याले सञ्चालनमा आउन सकेको थिएन । हाल बसपार्क जाने दुई स्तरीय सडक निर्माण गरिएका छन् । यहाँ एकै पटकमा ७० बस राख्न सकिनेछ भने भूमिगत ट्याक्सी पार्किङको सुविधा छ ।
बसपार्क सञ्चालनमा नआउँदा पालिकाले लिएको ऋण बापत नगरपालिकाले एक वर्षको अवधिमा ७१ लाख साँवा र ४२ लाख ब्याज गरी एक करोड १३ लाख रुपियाँ भुक्तानी गर्नुपर्छ ।
बसपार्क सञ्चालनमा नआउँदा नगरपालिकाले यो घाटा ब्यहोर्न बाध्य छ भने जग्गादातापनि आफ्नै जग्गा नपाउँदा निराश छन् ।जग्गादाताको जग्गा फिर्ता र समयमानै व्यवस्थित रुपमा बसपार्क सञ्चालन गर्न नगरपालिकाले ढिलाइ नगरोस्, आम नगरवासीको अनुरोध छ ।