• २० साउन २०८२, मङ्गलबार

फेरी बन्द हुँदा रोकिए गाडी

blog

बाजुरा समाचारदाता

बाजुरा, साउन २० गते । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको कर्णाली नदीमा फेरी चल्न बन्द भएपछि सवारीसाधन पिलीचौरमै रोकिने गरेका छन् । हिउँदको महिना कर्णाली पारेर स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न ठाउँमा चल्ने जिप ट्याक्टर अहिले कर्णाली नदीमा पानीको बहाब बढेकाले फेरी चल्न बन्द भएसँगै ती पनि पिलीचौरमा नै रोकिने गरेका हुन् ।

२०७७/७८ सालमा स्वामीकार्तिक र जगनाथ गाउँपालिकाको बिचमा रहेको कर्णाली नदीमा राखेको फेरीले यहाँका जिप, ट्याक्टरलगायतका सवारीसाधनलाई हिउँदमा वारपार गर्दै आएको थियो । बर्खाको समय कर्णाली नदीमा पानीको बहाब बढ्दै गएपछि अहिले त्यो फेरी पनि चल्न बन्द भएको छ ।  यसरी कर्णाली नदीमा हालेको फेरीले हिउँदमा गाडी वारपार गर्न सहज भए पनि बर्खाको समयमा फेरी बन्द हुँदा यहाँका स्थानीयलाई नुन, तेल, चामललगायतका दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै समस्या हुने गरेको स्वामीकार्तिक गाउँपालिकाका स्थानीय नरे लुहारले बताउनुभयो । 

उहाँले भन्नुभयो, “हिउँदमा गाडीले घरमै पु¥याउने दैनिक उपभोग्य सामग्री अहिले पिठियुँमा बोक्नु बाध्यता भएको छ ।” हिउँदमा कर्णाली नदीमा पानीको बहाब कम हुँदा फेरी चल्ने र बर्खाको समय पानीको बहाब बढे फेरी नचल्ने भएकाले यति बेला नुन, तेल, चामललगायतका दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै समस्या हुने गरेको लुहारले बताउनुभयो । बाजुराको पूर्वीउत्तरमा पर्ने यो पालिका कर्णाली नदी पारि पर्छ । अहिले यो स्थानीय तहले यहाँका अधिकांश वडा सडक सञ्जालको पहुँचमा राखेको भए पनि कर्णाली नदीमा पक्की पुल नहुँदा भने बर्खाको समय गाडी चल्न समस्या हुने गरेको छ । 

गाउँपालिकाले यहाँका सबै वडामा सडक पु¥याउने काम गरेको छ । ती सडकमा हिउँदको महिना गाडी गुड्ने गर्छन् । कर्णाली नदीमा पुल नहुँदा भने बर्खाको समय ती गाडी पिलीचौरमा नै रोकिने गरेको स्थानीय जिपचालक मानबहादुर रोकायाले बताउनुभयो । कर्णाली नदीमा फेरीका सहायताले स्वामीकार्तिक गाउँपालिकामा डोजर पु¥याएका हौँ । अहिले  अधिकांश गाउँबस्ती सडक सञ्जालको पहुँचमा छन् । ती सडकमा अहिले जिप, ट्याक्टर चल्ने गरेपछि स्थानीयको जनजीवनमा समेत निक्कै परिवर्तन भएको स्वामीकार्तिक गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सङ्घीय सरकारको १९ करोड रुपियाँमा हिमाली गाउँपालिका र स्वामीकार्तिक गाउँपालिका–४ को बिचमा रहेको चुल्लीगाडमा पुल निर्माण हुन थालेको थियो । त्यो पुुल अहिले रद्द भयो ।” अहिले फेरि अर्को ठाउँमा पक्की पुल निर्माण गर्ने योजना छ । त्यहाँ चाँडै पुल बनेपछि यहाँका सवारीसाधनलाई  हिउँद बर्खामै आजजाउ सहज हुने अध्यक्ष रोकायाले बताउनुभयो ।