• १३ साउन २०८१, आइतबार

गीतसङ्गीतलाई अमर बनाउनेहरू

blog

सुगम नेपाली गीत–सङ्गीतको चर्चा–परिचर्चा धेरै पहिलेदेखि हुँदै आएको हो । मूलतः नेपाली सञ्चार माध्यमले गीत–सङ्गीत बजाउने अनि श्रोता आकर्षित हुँदै आफूलाई मन परेको गीत–सङ्गीतमा रमाउने परम्परा पुरानै हो । गीत–सङ्गीतलाई माध्यम बनाएर आफ्नो नाम अमर बनाउनेहरूको सूची पनि लामै छ । छोटा र सस्ता जीवनीलेखन पनि भएकै छन् । प्रतिनिधिमूलक साधकलाई स्थान दिएर गीत–सङ्गीतको क्षेत्रमा समीक्षा–समालोचना गर्ने लेखकहरू अत्यन्त थोरै छन् । थोरै सम्पादक, लेखक, अन्वेषकमध्ये आफूलाई समर्पित गर्ने साधक हुनुहुन्छ– नगेन्द्रराज रेग्मी ।

सर्जक तथा समालोचक नगेन्द्रराज रेग्मीको ‘कालजयी आवाजहरू’ नामक ग्रन्थ प्रकाशनमा आएको छ । प्रकाशनलाई बजार भन्ने चलन पनि छ । बजारले नै चर्चा नपाउनुपर्ने कृतिलाई चर्चित तुल्याइदिने र चर्चा गर्नैपर्ने पुस्तकले थुप्रिएर रहनुपर्ने स्थिति सिर्जना गरिदिन्छ । त्यही हिसाबले पनि उचित चर्चा पाउनलायक ग्रन्थको रूपमा ‘कालजयी आवाजहरू’ रहेको तथ्य पठनबाट ठहर गरिएको छ । प्यासिफिक पब्लिकेसन बागबजार, काठमाडौँद्वारा प्रकाशित ‘कालजयी आवाजहरू’ पुस्तकमा २२ जना नेपाली गीत–सङ्गीत क्षेत्रका गहिरा साधकहरूको जीवनीमूलक लेख समावेश गरिएको छ । कला समीक्षक प्रकाश सायमी र नेपाली गीत–गजलका स्रष्टा एवं समालोचक प्राध्यापक कृष्णहरि बरालको भूमिकाले पुस्तकको महìवलाई अझ बढाएको छ । लेखनीबारे सविनय विचार प्रस्तुत गरेर नगेन्द्रराज रेग्मीले एउटा असल साधकका रूपमा आफूलाई प्रस्तुत गर्नुभएको छ । दम्भ र घमण्ड कतै नदेखिने लेखकीयमा मान–मर्यादा र आफ्नो शक्ति र सीमालाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ ।

माक्र्सका अनुसार जुन कलाकृति र साहित्यिक रचनाहरूले अनन्तकालसम्म सौन्दर्यबोधीय आनन्द दिन्छन् र आदर्श बनी रहन्छन्, तिनलाई नै कालजयी भन्न सकिन्छ । एउटा महान् विचारकको विचारलाई प्रमाणका रूपमा प्रस्तुत गर्नुहुँदै लेखक रेग्मीले नेपाली गीत–सङ्गीतको क्षेत्रमा मनोरञ्जन र चेतना दुवै भर्ने साधकहरूलाई सन्तुलित हिसाबले प्रस्तुत गर्नुभएको छ । रेग्मी कालजयी रचनालाई शास्त्रीयतावादी रचना र त्यस्ता रचनाकारलाई महान् रचनाकारका रूपमा चर्चा गर्दै विषयमा ऐतिहासिकता र प्रस्तुतिमा परिपक्वता नै कालजयी हुनुको प्रत्यक्ष प्रमाण हो भन्नु हुन्छ । आफ्नो लेखन र खोजयात्राको एउटा महìवपूर्ण उपलब्धिको रूपमा रेग्मीले सन्दर्भ सामग्री र गीतकार–सङ्गीतकारसँगको आफ्नो फोटोसमेत प्रस्तुत गरेर आफ्नो गहन अध्ययनलाई पुँजीकृत गर्नुभएको छ । कलाकार गणेश नेपालीको आकर्षक आवरणका साथमा २०८ पाठपृष्ठ समावेश भएको यस ग्रन्थले नेपाली गीत–सङ्गीतका अगमसिंह गिरी, अरुणा लामा, कर्म योञ्जन, कालीप्रसाद रिजाल, कुमार सुब्बा, क्षेत्रप्रताप अधिकारी, गणेश रसिक, जितेन्द्र बर्देवा, दिलमाया खाती, नगेन्द्र थापा, प्रेमध्वज प्रधान, बटच्चुकैलास, मनबहादुर मुखिया, यादव खरेल, योगेश वैद्य, रत्नशमशेर थापा, रानुदेवी अधिकारी, वासु शशी, शरण प्रधान, शान्ति ठटाल, हरिभक्त कटुवाल र हेम हमालको जीवनीको पक्ष र पाटाहरू समेटेको छ । 

नेपाली गीत–सङ्गीतको क्षेत्रमा योगदान दिनेहरूको कमी छैन । भारतीय भूमिमा जन्मिएर नेपाली भाषा साहित्यको क्षेत्रमा आफूलाई समर्पित गर्नेहरूको सूची लामै छ । लेखन र स्वर एउटा भूगोलको सीमामा कैद हुँदैन । जति हामी त्यसको फराकिलोपन कायम गर्न खोज्छौँ त्यति नै फराकिलो हुन्छ । एउटा आधिकारिक अन्वेषकको खोजले नेपालको सिमाना पर बस्ने श्रद्धेय साधकलाई समेटेको छ । नेपाली गीत–सङ्गीतको आयामको चर्चा गर्दा अमर गुरुङजस्ता स्रष्टाहरू पनि यसैमा राख्न पाएको भए भन्ने पाठकलाई पर्छ । अझ नेपाली प्रगतिशील आन्दोलनका स्रष्टाहरूलाई पनि एकै ठाउँमा पढ्न पाएको भए भन्ने चाहनाले सताउँदा–सताउँदै मूलतः गीतकारहरू बढी समावेश भएको, गायनको क्षेत्रमा पनि नाम कमाएका, स्वदेश र भारतको भूमिमा बसेर दीर्घ साधनाद्वारा नेपाली जाति र वाङ्मयको इज्जत बढाउन लागी पर्नेहरूको सम्मानका खातिर कृति प्रकाशित भएको हो । हामीजस्तो साहित्यभित्रको महत्वपूर्ण विधा गीत–सङ्गीत कलामा रुचि राख्नेहरूको मनको कुरालाई बुझेर मिहिन ढङ्गले जीवनीपरक समालोचना तयार गर्ने रेग्मी धन्यवादको पात्र ठहरिएका छन् । फरक–फरक कोणबाट प्रत्यक्ष र परोक्ष रूपमा जम्मा पारिएका सामग्रीलाई विश्लेषण गर्ने योग्यता यस कृतिमा कृतिकारले देखाउनु भएको छ ।

अन्त्यमा यो गीत–सङ्गीतको क्षेत्रमा जोडिएका समीक्षा–समालोचना लेख्ने–पढ्ने अनि नेपाली गीत–सङ्गीतको आलोकमा रमाउनेहरूका लागि पठनीय र सङ्ग्रहणीय सामग्री बन्न पुगेको देखिन्छ । यसको मूल्य भने ३३०/– रुपियाँ कायम गरिएको छ ।