भर्खर जुम्ला विस्तार क्याम्पसबाट शिक्षक तालिम सकेर घर आएकी थिएँ । त्यो बेलामा म किशोरावस्थामा उक्लँदै थिएँ । “छोरीहरूलाई पनि पढाउने र ?” भन्ने त्यो जमानामा १४ दिनको यात्रा तय गरेर जुम्ला विस्तार क्याम्पससम्म बुवाले मलाई पढ्न पु¥याउनुभयो । म जुम्लाबाट फर्केलगत्तै मास्टर्नी भइहालेँ– श्री सुनीपीपल चौर प्राथमिक विद्यालय, सुबेडामा । मेरो जागिरको पहिलो नियुक्ति नै त्यही थियो । मैले कखराको सुरुवात पनि त्यही स्कुलबाट गरेकी थिएँ । बुवा त्यही स्कुलमा प्रधानाध्यापक हुनुहुन्थ्यो ।
त्यसताका मलाई जागिर खानमा न कुनै रौस थियो न त खुसी नै । जागिर पाउने भएँ भन्ने उत्सुकता पनि थिएन किनभने मसँगै पढ्ने साथी सत्यवादी माध्यामिक विद्यालयमा कक्षा दसमा अध्ययन गरिरहेका थिए । म त आठ कक्षा पास गरेपछि तालिममा गइहालेँ । शिक्षक तालिमका कारण म पढाइमा एक वर्ष पछाडि थिएँ । साथीहरूभन्दा तल भएकाले मलाई कक्षा नौमा बसेर पढ्न पनि लाज लाग्थ्यो । सायद केटाकेटीपनका कारणले होला । मेरो कच्चा निर्णयले आखिर म मास्टर्नी नै भएँ । तत्कालीन गाउँपञ्चायतभरिको पहिलो मास्टर्नी ।
सुदूरपश्चिमका बझाङ, बाजुरा, डोटी र अछाममा ग्रामीण विकासका निमित्त सेती परियोजना सुरु भएको रहेछ । परियोजनाबाट स्कुलमा पठनपाठनका लागि सहायक पुस्तक कक्षा तीन, चार र पाँचका लागि फरक फरक छापिएका रहेछन् । यस्तै सरल भाषामा लेखिएका सहायक पुस्तक प्रौढ र चेलीबेटी कक्षाका लागि पनि तयार गरिएका हुन्थे । परियोजनाले छापेका पुस्तक स्कुलमा थप पढाउन थालिएको थियो । विशेषगरी सेती परियोजनाले शिक्षा, स्वास्थ्य र सरसफाइका काममा बढी महìव दिएर काम गरिरहेको थियो । यसका कारण स्कुले शिक्षा प्रभावकारी पनि बनेको थियो । विशेषगरी गाउँका चेलीबेटीलाई कसरी स्कुल पठाउने÷साक्षर बनाउने भन्नेमा परियोजनाको ध्यान थियो । यसको मूल उद्देश्य भनेको स्कुलमा छात्राको सङ्ख्या बढाउनु नै हो । सोहीअनुसार गाउँमा छ वर्षमाथिका स्कुल नजाने छोरीलाई एक ठाउँमा जम्मा पारेर पढाइन्थ्यो, बिहान या बेलुका उनीहरूको कामको फुर्सदिलो समय निकालेर । यस कक्षालाई ‘चेलीबेटी कक्षा’ भनिन्थ्यो ।
कक्षा सञ्चालन गर्नका लागि परियोजनाले स्थानीय लेखपढ गर्न जान्ने महिला खोजिरहेको रहेछ । प्रायःजसो स्कुलमा पढ्दै गरेका छात्रालाई छानेको रहेछ । मलाई छानियो या मैले आफैँ नाम टिपाएँ, के भयो अहिले मलाई खासै हेक्का छैन । सँगै पढेका धेरै साथी चेलीबेटी सहजकर्ता तालिमका लागि छनोटमा परेछन् । चेलीबेटी सहजकर्ता तालिम लिनुपर्ने थियो । तालिम आवासीय थियो । भोजपुरको सत्यवादी माध्यमिक विद्यालयको हाताभित्र रहेको पुरानो बझाङी राजाको दरबारमा । प्रायः स्कुलकै चिनेका साथी नै भएकाले रमाइलो नै थियो । परियोजनाले चेलीबेटी कक्षा सञ्चालन गर्ने सहजकर्तालाई पैँतीस दिनको तालिम दियो ।
प्रमिला राजभण्डारी, कुसुम श्रेष्ठ र बन्दना शर्माले तालिम दिनुहुन्थ्यो । शुक्रबारको दिनमा नाचगानको कार्यक्रम हुन्थ्यो । गीत÷सङ्गीत त तालिमका प्रायः कक्षामा भइरहन्थ्यो । कतिपय कुरा गीतकै माध्यमबाट सिक्ने÷सिकाउने गरिन्थ्यो । प्रमिला र कुसुम डोटीको हुनुहुन्थ्यो तर बन्दना भने काठमाडौँबाट आउनुभएको थियो शायद । उहाँलाई महिना दिनसम्म बझाङमा बस्नुपर्दा साह्रै गाह्रो भएको मलाई याद छ । उहाँको व्यक्तिगत स्वास्थ्यका कारण हो या त्यहाँको हावापानी र खानपिनको फेरबदलले पो हो ?
कहिलेकाहीँ हाम्रो कक्षामा सरहरू पनि आउनुहुन्थ्यो । मलाई उहाँहरू सबै जनाको नाम त याद भएन । एक जना उत्तमप्रसाद उपाध्याय भन्ने सर हुनुहुन्थ्यो । उहाँ कक्षाको अनुगमनका लागि आउनुहुन्थ्यो । रमाइलोसँग तालिम सकियो । कक्षाका लागि बीस÷पच्चीस थान किताब र अरू पठनपाठनका लागि चाहिने आवश्यक सामानहरू (कालोपाटी, चक, सिलोट) लिएर आफ्नो गाउँतिर लाग्यौँ ।
मैले काप्राको कोइरालवाडामा कक्षा सञ्चालन गर्ने तय गरेकी थिएँ । एउटा कक्षाका लागि कम्तीमा पनि २० जना चेली जम्मा गर्नुपर्ने हुन्थ्यो । मैले २२ जना चेली जम्मा गरेँ । पढाउनका लागि लक्ष्मीराज कोइरालाले आफ्नै घरको बुइँगल मिलाई दिनुभयो । कतै कतै त घरको आँगनमै पनि कक्षा सञ्चालन गरे रे । बिहानको छ बजेबाट दुई घण्टा पढाउने व्यवस्था मिलाइयो । सायद सबैको यस्तै होला । बिहानको ८ बजे कक्षा सकेर म विद्यालयमा पढाउन जान्थँे ।
पढौँ पढौँ दिदीबहिनी डर मान्नु छैन ।
एउटा मात्र हातले ताली बज्दैन ।।
धेरै विकास गरी सके अरू देशका नारीले ।
हामीलाई त छोडेन घाँसको भारीले ।।
यस्तै गीत गाउँदै, पाटीमा अक्षर लेख्न सिकाउँदै स्कुल जानबाट वञ्चित नानीलाई छ महिनासम्म पढाएँ । दैनिक कक्षाको सुरुमा राष्ट्रिय गान र एउटा चेलीबेटी गीत गाउने ग¥थ्यौँ । पढाउने तरिका स्कुलको भन्दा भिन्न थियो । पाठयोजनाअनुसार पढाइन्थ्यो । अक्षरभन्दा पनि शब्दको माध्यमबाट पढ्न सिकाइन्थ्यो । पहिला आकार नलागेका शब्द जस्तै– तर, पर, चरन, गर आदि । त्यसपछि आकार लागेका शब्द जस्तै– आमा, मामा, काका, पापा, नाना, छाना, पानाजस्ता शब्दहरूबाट अक्षर बनाउन र ती अक्षरबाट शब्द बनाउन सिकाउँथ्यौँ ।
शब्दले के भनेको हो, त्यसको अर्थ सिकाउँथ्यौँ । बिस्तारै त्यस्तै शब्दहरू जोडेर सानासाना अनुच्छेद बनाउन लगाउने र तिनै अनुच्छेदलाई पढ्न लगाइन्थ्यो । यस्तै गरेर इकार÷उकारका अक्षर पनि शब्दकै माध्यमबाट पढ्न सिकाइन्थ्यो । पढ्ने किताबमै गृहकार्य दिइएको हुन्थ्यो । सबैले त्यसैमा गृहकार्य गरेर ल्याउँथे । हरेक दिनको पाठ पाना अलग अलग हुन्थ्यो । बिस्तारै अङ्क लेख्न, सानासाना जोड घटाउका हिसाब गर्न पनि सिकाइन्थ्यो । त्यो उनीहरूको पाठ्यक्रममै थियो । यसरी हिसाब सिकाउँदा सानासाना ढुङ्गा बटुलेर, काठका सानासाना छेस्का बनाएर ल्याउन लगाउँथेँ ।
हामीलाई तालिममा झोला बनाउन सिकाइएको थियो । नानीहरूका लागि पनि झोला बनाउने कपडा, सियो, धागो र कैँची दिइएको थियो । झोला सिलाउन सबै चेलीबेटीलाई कपडा काट्न र सिलाउन सिकाएँ । प्रायःजसोले त एकै दिनमा झोला बनाउँथे । साना नानीहरूलाई अलि गाह्रो हुन्थ्यो । अर्काे दिनदेखि आपूmले सिलाएको झोलामा किताबहरू बोकेर कक्षामा आउँथे । कसैले त धागोले झोलामा आफ्नो नाम पनि लेखेका थिए । सबैका काँधमा नीलो रङका झोलाहरू हुन्थे ।
हामीले करेसाबारी र चर्पी पनि बनायौँ । अस्थायी चर्पी । चेलीहरूको घरमा पनि चर्पी बनाउन लगायौँ । राम्रोसँग हात धुन सिकेको मैले त्यतिबेलै हो । चेलीलाई हात धुन सिकाएका थियौँ । हरियो सागपात खानुपर्छ । चर्पीमा दिसापिसाब गर्नुपर्छ । चर्पीबाट फर्कंदा साबुनपानीले हात धुनुपर्छ । साबुन नभए खरानीले धुनुपर्छ, घरआँगन सफा राख्नुपर्छ । खानामा झिँगा बस्न दिनुहुन्न, यसले रोग सार्छ । साना नानीलाई आमाको दूध अमृतसमान हुन्छ । आमाको दूध खान दिनुपर्छ भन्ने कुरा सिकायौँ । सेती परियोजनाबाट यस्ता साना साना तर धेरै महìवपूर्ण कुरा हामीले सिकेका थियाँै र सिकायौँ पनि ।
मेरा सबै जना चेली पढ्नमा उत्साहित थिए । गीत गाउन पायो भने झन् खुसी हुन्थे । चेलीबेटी कक्षामा गाइने गीत सबै सन्देशमूलक थिए । चेली गाउँदै सिक्थे, नाच्दै गाउँथे र गाउँदै ज्ञान हासिल गर्थे । कहिलेकाहीँ त म स्थानीय देउडा गीत पनि गाउन लगाउँथे । सबै मिलेर गाउँथ्यौँ । बिहानै कक्षामा आएर घण्टी बजाउँथे । त्यो घण्टीले सबै चेलीलाई कक्षामा बोलाउँथ्यो । बिरामी पर्दा बाहेक अरू बेलामा कहिल्यै पनि चेलीले कक्षा छुटाएनन् । यसो गर्दा मलाई पनि कक्षामा कतिबेला जाउँ र चेलीलाई भेटौँजस्तो हुन्थ्यो ।
छोटो समयमै भए पनि चेलीले धेरै सिकेका थिए । पढाइका लागि छ महिना भनेको त साह्रै न्यून समय हो । तैपनि चेली साधारण लेखपढ गर्न सक्ने भइसकेका थिए, दुई÷चार जनाबाहेक । गाईबाख्राको गोठालो जाँदा वनका ढुङ्गामा गीत लेखेका हुन्थे । एक जना राधा भन्ने चेली थिइन् । साह्रै लगनशील । ध्यान दिएर पढ्ने । कहिल्यै पनि कक्षा नछुटाउने । अक्षर पनि साह्रै राम्रो थियो । हिसाबमा पनि अब्बल थिइन् तर उनलाई स्कुल पढ्न पठाइएन । २२ जनामध्येका केही त स्कुल गए पनि तर सबैले स्कुल जान पाएनन् । स्कुलमा एकै पटक दुई÷तीन कक्षामा भर्ना भएर पढ्न सक्ने क्षमताका थिए उनीहरू तर पनि स्कुल जान पाएनन् । घरखेत गरेर खानुपर्छ । अर्काको घर जानेलाई किन पढाउनु भन्ने मानसिकता धेरै भएका कारण सबै जना चेली स्कुल जान पाएनन् । छोरीले पढ्नै सक्दैनन् भन्ने मानसिकता पनि थियो त्यहाँ तर छोरीले मौका पाए पढ्न सक्छन् भन्ने उदाहरण पनि दिएका थिए कसैकसैले त ।
चेलीबेटीमा कोही कोइराला बाहुनका छोरीहरू थिए । कोही सिंह ठकुरीका । बाहुनका छोरीहरूलाई चाँडै विवाह गरिदिने भएकाले उनीहरू कसैले पनि स्कुल जान पाएनन् । स्कुल पठाएनन् पनि । ठकुरीका छोरीहरू कुनै कुनै स्कुल गए । पढे पनि । मलाई याद भएको एक जना हजारी भन्ने बहिनी अहिले स्थायी शिक्षिका नै छन् । त्यतिबेला कक्षामा उनी सबैभन्दा सानी थिइन् । उमेरमा पनि साह्रै सानी । कपाल कोर्न जान्ने पनि भएकी थिइनन् । घरमा आमाले कपाल नकोरी दिँदा यत्तिकै कक्षामा आउँथिन् । कक्षा सकेको करिब दुई वर्षपछि त मेरो पनि विवाह भयो । एकैचोटि पाँच वर्षको अन्तरालमा माइती फर्कंदा त को कता को कता थाहै भएन ।
कक्षा चेलीबेटी सहजकर्ताको मासिक पारिश्रमिक चार सय रुपियाँ थियो । वैशाख महिनाको सुरुवातीको समय थियो । देवलको चैतली मेला सकिएर बान्नीको चैतली आउन थालेको थियो । दिदी हंसाले पनि चेलीबेटी कक्षा पढाउनुहुन्थ्यो । मेरो दिदी भने पनि साथी भने पनि उहाँ नै हो । हाम्रो पारिश्रमिक आउने बेला भएको थियो । हामीसँगै चैनपुरमा रहेको सेती परियोजनाको कार्यालयमा गयौँ । दुई महिनाको पारिश्रमिक बुझ्यौँ । हामीसँग आठ÷आठ सय रुपियाँ भयो । बाहिर आएर हामीले बान्नीको चैतलीमा लगाउने नयाँ साडी किन्ने योजना बनायौँ । त्यतिबेला अलि राम्रा कपडाका पसल भनेका चैनपुर बजारमा दार्चुलाका ब्यासी दाइहरूका हुन्थे । ब्यासीको पसलमा गयौँ । साडी हे¥यौँ । हामी दुवै जनाले हरियो भुइँमा किरमिरे पारी भएको एउटै किसिमको साडी किन्यौँ ।
साडी किन्ने बेलामा एक जना सर आउनुभएको थियो । हाम्रो हातमा साडी देखेर हामीलाई भन्नुभयो, “दुई महिना खत्तम ।” पैसा बुझेर आएको उहाँलाई थाहा थियो । त्यसैले दुई महिनाको पारिश्रमिक साडीले खायो भनेर हामीलाई व्यङ्ग्य गर्नुभएको थियो सायद । हामी चेलीलाई मेलापर्वमा जान घरबाट सजिलै अनुमति पाइँदैन थियो । परिवारसँगको ठूलो सङ्घर्षपछि मैले बान्नी जाने अनुमति पाएकी थिएँ । तैपनि म बान्नी (जात्रा) गयो भनेर घरमा मेरो मुमाले कति भनाइ खानुप¥यो होला । त्यो वर्ष पहिलो पटक बान्नीका चैतली गएको हो म । दुवै दिदीबहिनी (हंसा दिदी र म)ले चेलीबेटी कक्षाबाट आएको पारिश्रमिकले किनेको साडी लगाएर बान्नीका चैतली गयौँ ।
शिक्षा कार्यालयबाट सञ्चालन गरेका कक्षाहरूभन्दा परियोजनाले सञ्चालन गरेका कक्षा धेरै उपलब्धिमूलक थिए । थोरै मात्र भए पनि छोरीलाई पढाउनुपर्ने रहेछ । सबै जनाले लेखपढ गर्न जाने घरव्यवहारमा सहज हुने रहेछ भन्ने सन्देश यस्ता कक्षाबाट फैलिएको थियो । केही यस्ता गीत पनि थियो, जुन सुनेर अभिभावकका मन किन नपग्लिउन् ? जस्तै ः
घाँस पनि काटौँला पानी पनि भरौँला ।
घरको काम सकेर पढ्न बसौँला ।।
एउटा आँखा छोरा हो अर्काे आँखा छोरी हो ।
कोही छैन फरक बराबरी हो ।।
जयपृथ्वीबहादुर सिंहको जिल्लाका मानिस भएर हो कि त्यो समयमा हामीले शिक्षाको झिसमिसे उज्यालोे पायौँ ।