• ११ असोज २०८१, शुक्रबार

सम्झौताको साढे दस वर्ष

सडक सञ्जालमा जोडिए उदयपुर र खोटाङ

blog

गाईघाट–दिक्तेल सडकअन्तर्गत उदयपुर र खोटाङ जोड्ने सुनकोसी नदीको फोक्सिन्टारमा निर्मित पक्की पुल । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिबिलास पोखरेल

गाईघाट, असोज २९ गते । गाईघाट–दिक्तेल सडकअन्तर्गत उदयपुर र खोटाङ जोड्ने सुनकोसी नदीको फोक्सिन्टारमा मोटरेबल पक्की पुल निर्माणको काम सम्पन्न भएको छ। गाईघाट दिक्तेल सडक आयोजनाका प्रमुख डीई गोपालप्रसाद खकुरेलका अनुसार १२० मिटर लामो सो पुलको बिहीबार अपराह्न स्ल्याब ढलानको काम सम्पन्न भएको हो।

मुग्लिनपछि नेपालकै दोस्रो ठूलो आर्क डिजाइनमा निर्माण भइरहेको सो पुल निर्माणमा व्यापक ढिलो भइरहँदा विगतमा हरेक वर्ष ९० लाख रुपियाँसम्म सरकारी रकम खर्च गरी पुसदेखि चैतसम्म चार महिनाका लागि मात्रै पनि बेलिब्रिज जडान गरेर सवारी सेवा सञ्चालन गरिँदै आएको थियो। अब यो वर्षदेखि त्यस्तो बेलिब्रिज जडानको आवश्यक्ता सदाका लागि टरेर गएको आयोजना प्रमुख डीई खकुरेलले बताउनुभयो।

सो पक्की पुल निर्माणको म्याद चौथो पटक थपिएपछि निर्माण सम्पन्न हुन लागेको हो। पटक पटक म्याद थप्दासमेत निर्माण कम्पनीको लापरबाहीले पुल निर्माण सम्पन्न हुन सकेको थिएन। गाईघाट–दिक्तेल सडकको उदयपुरतर्फ रौतामाई गाउँपालिका वडा नं. ५ र खोटाङतर्फ खोटेहाङ गाउँपालिका वडा नं. ९ बीचको फोक्सिन्टारमा रहेको सो पुल निर्माणका लागि गौरी पार्वती र वाईपी जेबी निर्माण कम्पनीले २०७५ साल चैत २२ गते काम सम्पन्न गर्नेगरी २०६९ साल चैत ३० गते ठेक्का सम्झौता गरेको थियो।

नदीको दुवैतर्फ साढे छ मिटर गहिरो फाउन्डेसन (जग) सहित २० मिटर अग्लो पिलर र १२० मिटर लामो पुल निर्माणको जिम्मा छ। पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ धरानले सो पुल निर्माणको प्राविधिक रेखदेख गर्ने जिम्मा पाएको छ। अलपत्र अवस्थामा रहेको सो आर्क डिजाइनको पुलमा असोज २७ गते राति स्ल्याब ढलान सकिएको पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ धरानका निमित्त डिभिजन इन्जिनियर नितेश झाले बताउनुभयो। 

आर्कमाथि ८० मिटर लामो स्ल्याब ढलान गर्नुपर्ने प्राविधिक इस्टमेट छ। स्ल्याब ढलानपछि पुलवारि २५० मिटर र पारि २५० मिटर एप्रोच सडक पनि बनाउनुपर्ने हुन्छ। एप्रोच सडकका लागि दुवैतर्फ काम अन्तिम चरणमा छ। सुरुमा आठ करोड ५० लाखमा ठेक्का सम्झौता भएकोमा हाल मूल्य समायोजन गर्दा २२ करोड ६७ लाखभन्दा बढी पुगेको छ। 

सो पक्की पुल ढिलो हुनुमा ठेकेदार र सडक विभागका उच्च पदस्थ प्राविधिक कर्मचारी जिम्मेवार भएको खोटाङ चिसापानीका धर्म पोखरेलले बताउनुभयो। २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले शिलान्यास गरेपछि निर्माण कार्य सुरु भएको गाईघाट–दिक्तेल सडक निर्माणको कामले अभैm गति लिन सकेको छैन। 

गाईघाट दिक्तेल सडक आयोजनाको निर्माण कार्य सुुरु भएको करिब ३० वर्षपछि उदयपुर र खोटाङ जिल्ला अब स्थायी रूपमा सडक सञ्जालमा जोडिएका छन्। पुलको एप्रोच सडक र रेलिङ निर्माण गरी अबको ३० पछि सार्वजनिक सवारीका लागि खुला गरिने आयोजना कार्यालयले जनाएको छ। यी दुई जिल्लाको आर्थिक विकासमा मेरुदण्डको रूपमा रहेको यो पुल निर्माणपछि अब यस क्षेत्रमा आर्थिक गतिविधिसमेत बढ्ने विश्वास गरिएको छ।