• ८ मंसिर २०८१, शनिबार

उम्मेदवारको योग्यता मापन

blog

आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ। विश्वविख्यात विश्वविद्यालयबाट उच्च अध्ययन गरेकादेखि राम्रोसँग लेखपढ गर्नै नजान्ने उम्मेदवार चुनावी मैदानमा छन्। योग्य उम्मेदवार कसरी छान्ने भन्ने मतदाताको स्वविवेकमा भर पर्छ। नाता पर्ने, मन परेको पार्टीको, भरअभरमा सहयोग गर्ने, युवा जोस जाँगरले भरिएको, विकासपे्रमी, देश–विदेशमा उच्च अध्ययन गरेको, महिला, पिछडिएको वा सीमान्तकृत वर्गको उम्मेदवार भनेर भोट हाल्ने गरेका छौँ हामीले। योग्यताको रूपमा भाषणकला, मिलनसारिता, प्रजातन्त्रका लागि जेलनेल भोगेको वा अरू नै किसिमबाट योगदान पु-याएको, र योभन्दा अगाडि गरिएका विकासका कामलाई हामीले मापकका रूपमा लिने गरेका छौँ। 

हाम्रा प्रतिनिधिले चुनावमा जितेपछि विभिन्न ओहदामा बसेर काम गर्नुपर्ने हुन्छ। उनीहरूले कतिपय ठाउँमा लिखित सन्देश र मन्तव्य दिनुपर्ने हुन्छ भने कतिपय परिवेशमा गोप्य लिखित  दस्ताबेज नै तयार पार्नुपर्छ। नीति र कानुन निर्माण गर्न त अहम् भूमिका नै निर्वाह गर्नुपर्छ। त्यस्तै, राष्ट्रका विषम परिस्थितिबारे सर्वसाधारणलाई सुसूचित गराउन पत्रपत्रिकामा लेख प्रकाशन गर्नुपर्ने पनि हुन्छ। यदाकदा छिमेकी देश वा अन्तर्राष्ट्रिय जगत्लाई विश्व परिस्थितिका सम्बन्धमा नेपालीको अवधारणासँग परिचित गराउन पनि लिखित  दस्ताबेज नै तयार पार्नुपर्छ।

मित्रराष्ट्रसँग गरिने दुई पक्षीय सम्बन्धलाई मूर्तरूप दिन कैयौँ चोटि चिठीपत्र आदानप्रदान गरिन्छन्। यस्ता चिठीपत्र भूराजनीति सुहाउँदा, कूटनीतिक भाषाअनुरूप अङ्ग्रेजीमा भाँती पारेर लेख्नुपर्ने हुन्छ। यी र अरू पनि यस्तै प्रकृतिका कामका लागि आवश्यक पर्ने लिखित  दस्ताबेज आफैँ तयार गर्नसक्ने क्षमता हामीले निर्वाचित गर्न चाहेका उम्मेदवारसँग छ त ? यस्तो क्षमतालाई पनि उम्मेदवार छान्ने मापक बनाए कसो होला ?

साधारणतया हामीले चुनेका प्रतिनिधिले सांसद, विभिन्न संसदीय समितिका पदाधिकारी, नेपाली प्रतिनिधि मण्डलका सदस्य÷अध्यक्ष, सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीजस्ता पदको दायित्व निर्वाह गर्नुपर्ने हुन्छ। यी पदमा पदासीन व्यक्तिको कार्यसम्पादनमा सहयोग पु¥याउन सरकारले नै सचिवालयको व्यवस्था गरेको हुन्छ, जहाँ आवश्यक कर्मचारी र विषयविज्ञ पनि सम्मिलित हुन्छन्। सचिवालयले नै सम्पूर्ण  दस्ताबेज तयार पारिदिने हुनाले हामीले चुनेका प्रतिनिधिमा लेखनकलाको ज्ञान हुनैपर्छ भन्ने हुँदैन। बुझ्नैपर्ने कुरा हाम्रा कर्मचारी र विषयविज्ञ पनि राजनीतिमा लागेकाले नेतृत्व लिने व्यक्ति आफ्नो राजनीतिक पार्टीको भन्दा भिन्न हुन गयो भने सही सल्लाह नदिने र विवाद सिर्जना गरेर असफल पार्नेतिर काम गरेको हामीले देखेसुनेका नै छौँ। 

राजनीतिज्ञका समीपमा पुगेका कैयौँ कर्मचारी र विषयविज्ञ अध्ययनशील हुन्छन् नै भन्नसक्ने स्थिति पनि नभएकाले उनीहरूले लेखेको दस्ताबेजलाई समयसापेक्ष बनाउन परिमार्जन गर्नैपर्ने हुन्छ। कर्मचारीले लेखेकाले नै पुग्ने भए त राजनीतिक नेतृत्वको काम नै पर्ने थिएन। कर्मचारीको दायित्व भनेको राजनीतिक ओहोदामा रहेको व्यक्तिले दिएको मार्ग निर्देशनलाई नियम र कानुनभित्र रहेर कार्यान्वयन गर्ने मात्र हो। विषयवस्तु, राज्यको नीति र जनभावनालाई समेटेर दस्ताबेजलाई अन्तिम रूप दिने काम त ओहोदावालाको नै हो। सल्लाहकार वा कर्मचारीले राम्रोसँग नै लेखिदिएको भाषण कहाँ पुगेर सकिन्छ भन्ने थाहा नपाई भाषण लेखिएको कागतमा नथ्थी गरिएका सबै  दस्ताबेज जस्ताको तस्तै पढ्ने मन्त्री पनि थिए कुनै बेला यो देशमा। झन्डै एकदशक पहिले नेपाल सरकारका एक जना वातावरण मन्त्रीले भुटानको थिम्पुमा आयोजना गरिएको जलवायु परिवर्तनसम्बन्धी एउटा उच्चस्तरीय सम्मेलनमा लिखित तिनपाने भाषण पढेका थिए। नेपाली अक्षरमा लेखिएको अङ्ग्रेजी भाषण थियो त्यो। पढ्दा पहिलो, दोस्रो र तेस्रो पेज क्रमैसँग पढ्नुपर्नेमा पहिलो, तेस्रो (अन्तिम) र दोस्रो पेज क्रमैसँग पढेर विषयवस्तु असान्दर्भिक बनाएको कुराले नेपाली प्रतिनिधिमण्डलका सदस्यलाई दुःखी बनाएको थियो। भर्खरै पदावधि सकिएको संसद्का कैयाँै सदस्य लेखनकार्यका लागि कर्मचारीको मात्र भर पर्ने, विषयवस्तुको सारलाई भन्दा रूपलाई मात्र ध्यानदिने, शब्द र शैली चयनको महìव नबुझ्ने, गहन सन्देशकेन्द्रित हुनुपर्ने ठाउँमा असान्दर्भिक विम्ब घुसाएर विषयवस्तुको प्रस्तुति फितलो भएको थाहा नै नपाउने, कर्मचारीले बनाएको लिखित भाषण आफूले परिमार्जन नगरी वा भाषणले सान्दर्भिकता दर्साए–नदर्साएको नबुझी सोझै पढ्ने, नेपाली भाषामा नै पढ्दा पनि हुने ठाउँमा कनीकुथी 

अङ्ग्रेजी भाषामा पढ्ने र नेपालीमा नै लेखेको कुरा पनि शुद्ध र स्पष्टसँग उच्चारण गर्न नसकेका उदाहरण हामीले देखेभोगेकै हौँ। 

एउटा अनुसन्धानको निचोड के छ भने जो व्यक्ति आफ्नो सिर्जनात्मक आलोचना सुन्नेबित्तिकै पाँडेगाली वा मनपरी तरिकाले बोल्न थाल्छ त्यो व्यक्ति अध्ययनशील हुँदैन, उसको शब्दज्ञान (भोकाव्युलरी) अत्यन्त थोरै हुन्छ। उच्च ओहोदामा आसीन कतिपय हाम्रा निर्वाचित पदाधिकारीको मुखारविन्दबाट सार्वजनिक स्थलमा वा अन्तर्वार्ता दिनेक्रममा निक्लिएको पाँडेगाली र मातहतका कर्मचारीलाई अभद्र व्यवहार गर्नुको अन्तर्य पनि यही नै हो। 

यस्तै सन्दर्भलाई जोडेर राजनीतिमा जमेको फोहोरको डङ्गुर सफा गर्ने बाटोमा देश नलम्कनु र स्नातकसम्म पनि अध्ययन नगरेका व्यक्तिबाट शासित हुनु विडम्बनायुक्त भएको बेला सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि चर्चा हुने गरेको छ। त्यसैले, हामी देश र जनताको हित चाहन्छौँ भने कस्ता खालका उम्मेदवारलाई निर्वाचनमा विजयी गराउने भन्ने अहम् विषय हाम्रो मनमा आउनुपर्छ।

धनुषचन्द्र गौतम (ध.च. गोतामे) ले लेख्नुभएको र नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले २०५३ सालमा प्रकाशित गरेको ‘कालान्तर’ पुस्तकमा उल्लिखित एउटा परिच्छेद (बहानाविहीन जलपोत) को प्रसङ्ग यहाँ उल्लेख गर्न योग्य छ। भएछ के भने तत्कालीन प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाललाई तत्कालीन राजा वीरेन्द्रले पञ्चायती व्यवस्थाअन्तर्गतको संविधान दिवसका दिन (पुस १ गते) राष्ट्रलाई सम्बोधन गर्ने भाषण लेख्ने जिम्मा दिनुभएको रहेछ। प्रधानमन्त्रीले बुझ्दै जाँदा त्यही काम गर्न तत्कालीन जल्दाबल्दा राजनीतिज्ञ तुलसी गिरीलाई पनि भनिएको रहेछ। 

आफूले लेखेको भाषण गिरीले लेखेको भन्दा फितलो ठहरिए प्रधानमन्त्री पदबाट हात धुनुपर्ने स्थितिको लेखाजोखा रिजालले गर्नुभएको रहेछ। विडम्बना, प्रधानमन्त्री पदमा आसीन भए पनि लेखनकलामा उहाँ अब्बल नरहेको महसुस रिजाल आफैँलाई पनि भएको रहेछ। त्यसैले यो सङ्कटबाट मुक्ति पाउन प्रधानमन्त्री ध.च. गोतामे (प्रधानमन्त्री कार्यालयका एक राजपत्राङ्कित कर्मचारी) को शरणमा पुग्नुभएको रहेछ। केही सवाल जवाफपछि, शरणको मरण नगर्ने स्वभावका गोतामेले त्यो प्रस्ताव स्वीकार्नुभएको र तीन दिन लगाएर भाषण तयार पार्नुभएको रहेछ। नभन्दै गिरीले लेखेको भाषणलाई एकातिर थन्क्याएर गोतामेले लेखेको भाषण राजाले हुबुहु वाचन गर्नुभएछ। त्यसपछि प्रधानमन्त्री निवासमा हर्षोल्लास भएको उक्त परिच्छेदमा रोचक ढङ्गले प्रस्तुत गरिएको छ। 

माथि उल्लेख गरिएको प्रसङ्गले चारवटा कुरालाई उजागार गरेको सजिलै महसुस गर्न सकिन्छ। पहिलो, सशक्त लेखनकलाले मै हुँ भन्ने शासकलाई पनि सिद्धहस्त लेखकको शरणमा ल्याउने रहेछ। दोस्रो, हाम्रो देशका राष्ट्र वा सरकार प्रमुखलाई उनले पढेको भाषणको शिल्पकार को थियो भनेर थाहा नै नहुने रहेछ! तेस्रो, लेखनकला जानिएको छैन भने हातमा आइसकेको महìवपूर्ण मौकाको सदुपयोग पनि नहुने रहेछ। चौथो, सशक्त प्रतिभावान् व्यक्तिको पहिचान र उनीहरूको क्षमताको सदुपयोग गर्न राजनीतिक प्रणाली चुक्यो भने त्यसको पीडा देशवासीले भोग्नुपर्ने रहेछ। 

ध.च. गोतामेले नै लेखेको अर्को एउटा पुस्तक ‘आरोह अवरोह’ भित्रको एउटा परिच्छेद (शिखरपुरुष) को प्रसङ्ग पनि उत्तिकै मननयोग्य छ। २०३६ साल ताका ध.च.ले सरकारी जागिर छोडेर पार्टीको सदस्यता लिने इच्छा व्यक्त गर्दा तत्कालीन कम्युनिस्ट पार्टीका महासचिव मनमोहन अधिकारीले ‘तिम्रो हातमा सरस्वतीको वास छ। अनियमित केही गरिएन भने सरकारी सेवा पवित्र सेवा हो। साहित्य साधनाभन्दा ठूलो देन समाजका लागि अरू केही हुन सक्दैन। पार्टीमा फर्कने कुरा त्यागीदेऊ’ भनेर निःस्वार्थ सल्लाह दिनुभएको रहेछ। यो उदाहरणीय सल्लाह अधिकारीको मनमा स्वतःस्फूर्त आउनुमा उहाँको अध्ययनशीलताले काम गरेको हो भन्ने सजिलै अनुमान गर्न सकिन्छ। उहाँको अध्ययनशीलता र लेखकीय क्षमताको पहिचान त २०५१ सालमा प्रधानमन्त्री भएपछि उहाँले गरेका कामले पुष्टि गरिसकेका छन्। विभिन्न विधामा स्थापित भइसकेका व्यक्तित्वलाई पनि राजनीतिमा सक्रिय पारिएको अहिलेको परिवेशमा पार्टीका प्रमुख व्यक्तिले अचेल यस्तो सल्लाह देलान् भनेर कल्पना नै गर्न सकिँदैन। 

माथि उल्लेख गरिएका प्रसङ्गले के कुरा बुझाउँछन् भने देश चलाउँछु भनेर राजनीतिमा लाग्ने र निर्वाचनमा होमिने उम्मेदवारमध्येबाट सुयोग्य उम्मेदवार छान्न चलनचल्तीका मापक मात्र काफी छैनन्। उम्मेदवारको अध्ययनशीलता र लेखकीय क्षमताको पनि पूर्ण मूल्याङ्कन गर्नै पर्छ। यसको अर्थ उम्मेदवार कहलिएको लेखक मात्र हुनुपर्छ भन्ने पनि होइन। के चाहिँ हो भने निर्वाचित व्यक्तिले पढ्ने भाषण वा दिने सन्देशलाई कर्मचारीले नै लेखिदिएको भए पनि त्यसलाई आफ्नो पदीय हैसियत अनुकूल, उच्चारण वा पाठकमैत्री, विषयवस्तु सम्प्रेषित, सन्देशकेन्द्रित र देश हितमा समर्पित  दस्ताबेज बनाउने ढङ्ग भने निर्वाचित पदाधिकारीमा हुनैपर्छ। अध्ययनशील व्यक्तिले मात्र यस्तो काम निपुण ढङ्गले गर्न सक्छ । सम्भवतः विश्वेश्वरप्रसाद कोइराला र मदन भण्डारी अध्ययनशीलता र लेखकीय क्षमता भएका उच्चकोटीका दुर्लभ राजनीतिज्ञ हुन्। उहाँहरूले स्थापना गरेको इतिहासबाट पनि यो प्रसङ्गका धेरै सिक्न सकिन्छ।  चुनाव जितेर राजनीतिमा प्रवेश गर्नु भनेको राज्य सञ्चालनको सिलसिलामा परिआएको जुनसुकै राष्ट्रिय कर्तव्य पनि निर्वाह गर्न योग्य छु भन्नु हो। 

राष्ट्रको दायित्व निर्वाह गर्नु भनेको चानचुने कुरा होइन। यो त राज्य र नागरिक दुवैलाई सबल बनाउन भूमिका खेलेर इतिहास रच्ने महान् अवसर हो। महìवपूर्ण कार्यकारी पदमा आसीन व्यक्तिले गरेको सानो गल्तीले देशका नागरिक कैयौँ वर्षसम्म आहत हुन्छन्, राज्य अनिर्णयको बन्दी हुन्छ र देशको राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिष्ठामा गम्भीर आँच आउँछ।  उम्मेदवार छान्न दलहरूको घोषणापत्र, उम्मेदवारको शैक्षिक योग्यता, इमानदारी, कर्तव्यनिष्ठता, नैतिकता र विकासप्रेमीजस्ता मापकले मात्र पुग्दैन। उम्मेदवारको लेखनकला र अध्ययनशीलतालाई पनि मतदाताले मूल्याङ्कन गर्नै पर्छ। त्यसका लागि, उम्मेदवारले अध्ययन गरेका पुस्तकमार्फत प्राप्त ज्ञानको छोटो संश्लेषणात्मक टिप्पणी र 

प्रकाशित गरेका लेखरचनाको अध्ययन गर्नु मनासिव ठहरिन्छ। सञ्चारकर्मीले अन्तर्वार्ता लिँदा उम्मेदवारलाई ‘तपाईंको अध्ययनशीलता र लेखकीय क्षमताबारे पनि मतदातालाई परिचित गराउनुहोस् त’ मात्र भनिदिए पनि धेरै कुरा उजागार हुने थियो। अहिलेसम्म एउटा पनि लेख रचना प्रकाशित नगरेको र समकालीन साहित्य, अर्थशास्त्र, इतिहास, राजनीतिशास्त्रजस्ता विषयका पुरस्कृत वा कहलिएका पुस्तक नपढेको व्यक्तिलाई निर्वाचित गराएर शासनसत्ता सुम्पनु भनेको त उम्मेदवारको भन्दा पनि मतदाताको निर्णय अदूरदर्शी होइन र ?