• २० साउन २०८२, मङ्गलबार

दिगो विकास लक्ष्य हासिल गर्न चुनौती छ : सांसद थापा

blog

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य सूर्यबहादुर थापा ।

गोरखापत्र अनलाइन

तुर्केमिनेस्तान, साउन १९ गते । प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य सूर्यबहादुर थापाले दिगो विकास लक्ष्यहरु (एसडिजी) हासिल गर्न सबैका लागि चुनौतीपूर्ण रहेको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको भ्रमण टोलीमा तुर्केमिनेस्तानमा रहनुभएका सांसद थापाले छलफलका क्रममा सो धारणा राख्नुभएको हो । 

खासगरी भूपरिवेष्ठित तथा विकासोन्मूख राष्ट्र (एलएलडिसी) हरुका लागि दिगो विकास लक्ष्य हासिल गर्न अझ चुनौतीको विषय रहेको उहाँको भनाइ छ । त्यसकालागि सशक्त आवाज र स्रोतको समतामूलक बाँडफाँटको आवश्यकता रहेको उहाँले धारणा राख्नुभयो ।

भूपरिवेष्ठित तथा विकासोन्मूख राष्ट्रहरुले गरेका विकास प्रयासमा आआफ्नै प्रकारका मौलिक समस्याहरु झेल्नुपरिरहेको उपलब्ध तथ्य तथा प्रमाणहरुले प्रष्ट्याएको चर्चा गर्नुहुँदै सांसद थापाले भन्नुभयो, "उच्च यातायात लागत, अपर्याप्त पूर्वाधार, तथा विश्वबजारमा सीमित पहुँचले गर्दा आर्थिक तथा सामाजिक विकासका प्रयासहरु निष्प्रभावी बनेका छन् ।"

वैश्विक जलवायु परिवर्तनमा न्यून योगदान भए पनि यी देशहरु जलवायु परिवर्तन, आपतकालीन स्थिति र निकै बढी विपद् सामना गर्न बाध्य रहेको उहाँले चर्चा गर्नुभयो । "म भूपरिवेष्ठित तथा विकासोन्मूख राष्ट्रहरुका विशेष आवश्यकता तथा चुनौतीहरु सम्बोधन गर्ने लक्ष्य राखेको भियना कार्ययोजनाका हस्ताक्षरकर्ताहरुलाई सो प्रतिबद्धता स्मरण गराउन चाहन्छु । हामीले हाम्रा ती प्रतिबद्धतालाई काममा रुपान्तरण गर्नैपर्छ", उहाँले भन्नभयो ।

सांसदका रुपमा आवाज कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्नु आफूहरुको महत्वपूर्ण जिम्मेवारी भएको बताउँदै सांसद थापाले भन्नुभयो, "हामी जनताका आवाज हौं, तसर्थ हाम्रा छलफल तथा कुराकानीहरु प्रमाणमा आधारित हुनुपर्दछ ।"

शान्ति, विश्वास र उत्तरदायी शासन निर्माणमा सांसदहरुको गहन भूमिका रहेको उहाँले बताउनुभयो । हामी जनता, सरकार, नागरिक समाज र निजी क्षेत्रबिचको पुल पनि हौं । हामीसँग कानुन निर्माण गर्ने सार्वभौम अधिकार छ भने आवाज कार्ययोजना कार्यान्वयनका लागि सरकारको वार्षिक वजेटमार्फत् स्रोतको व्यवस्था गर्न सक्छौं, उहाँले भन्नुभयो ।

दिगो विकास लक्ष्य हासिल गर्न तथा देशको समग्र विकासका लागि देशमा शान्ति, सरकारप्रति जनताको विश्वास र जनउत्तरदायी संस्थाहरुको भूमिका अत्यन्त महत्वपूर्ण हुने उहाँको भनाइ छ । नेपालमा सन् २०१५ मा नयाँ संविधान जारी गरेपछि हामी राजनीतिक स्थिरता र आर्थिक–सामाजिक रुपान्तरणको युगमा प्रवेश गरेका छौं, उहाँले भन्नुभयो ।

निर्धारित समयमै दिगो विकास लक्ष्यहरु हासिल गर्न हामी प्रयासरत् छौं । यी लक्ष्य प्राप्तिका लागि नेपालले आफ्नो समग्र सरकारी संयन्त्र र समाजको सम्पूर्ण सामथ्र्यको प्रयोग गरिरहेको छ, उहाँले भन्नुभयो, "हामी केही लक्ष्य प्राप्तिको दिशामा उन्मूख छौं भने केहीमा हाम्रा अभाव र चुनौती छन् भन्दै उहाँले थप्नुभयो, ती चुनौती परास्त गर्न हामीलाई हाम्रा विकास साझेदारहरुबाट थप सहयोग र सहकार्यको आवश्यकता छ ।"

समावेशी, जनउत्तरदायी, र पारदर्शी शासनका लागि, एलएलडिसी सांसदहरुले नीति तथा कानुनी हस्तक्षेपमार्फत् सामाजिक एकता, सहभागितामूलक निर्णय प्रक्रिया, स्रोतको समतामूलक वितरण र कानुनको शासन सुनिश्चित गर्नुपर्छ, उहाँले भन्नुभयो, "एलएलडिसी तथा छिमेकी राष्ट्रहरुबिच आपसी विश्वास, शान्ति र सहकार्य सुदृढ गर्न हामीले अन्तरसंसदीय संघ (आइपियू) तथा अन्य उच्चस्तरय राजनीतिक मञ्चलगायत क्षेत्रीय तथा विश्वव्यापी मञ्चहरुको प्रयोग गर्नुपर्छ ।"