• १९ साउन २०८२, सोमबार

रात्रिकालीन व्यवसायमा बेथिति

blog

काठमाडौँ, साउन १९ गते । नेपाल भ्रमणमा आउने पर्यटक काठमाडौँ उत्रिएको दिन र फर्किने दिन उपत्यकाको प्राचीन मौलिक कला र सांस्कृतिक सम्पदा हेरेर बिताउँछन् । फर्किनुअघि उनीहरू एक रात ठमेल, दरबारमार्गसहित काठमाडौँका रात्रि मनोरञ्जन ‘स्पट’ मा रमाइलो गर्छन् । 

बाह्य पर्यटक र आन्तरिक ग्राहकको भिड लाग्ने ठमेल, दरबारमार्ग, चाबहिलसहितका क्षेत्रमा दिनदिनै हुने झगडा र तनावपूर्ण घटनाले उपत्यकाको रात्रि मनोरञ्जन व्यवसाय बदनाम छ । यति मात्रै होइन, चौबिसै घण्टा खुला रहने ठमेल क्षेत्रमा हरेक दिनजसो क्लब, बार, दोहोरीसाँझ र होटेलमा हुने झैझगडाका कारण नेपालबारे गलत सन्देश पनि प्रवाहित भइरहेको छ । 

अन्तर्राष्ट्रियस्तरमै परिचित एवं पर्यटकको आकर्षक गन्तव्य  भए पनि सरोकारवालाको लापर्बाहीपूर्ण र अराजक व्यवहारका कारण सुरक्षा निकायको टोलीकै अगाडि ग्राहक कुटिन्छन् । ग्राहकले बिल बढी भएको र छुटको विषय उठाउँदा क्लब र दोहोरीका ‘बाउन्सर’ बाट कुटपिट र दुव्र्यवहार हुन्छ । लछारपछार पार्दै ग्राहक बाहिर निकालिन्छन् । गस्तीको सुरक्षा टोली उल्टै ग्राहकलाई ‘मातेर हल्ला नगरी जाओ’ भन्दै थर्काउँछन् । ठमेल, दरबारमार्गदेखि चाबहिलसम्म पुग्दा यस्ता घटना सामान्य जस्तै लाग्छन् ।

ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष भविश्वर शर्माले रात्रिकालीन मनोरञ्जन व्यवसायमा विकृति बढेको स्वीकार गर्नुभयो । उहाँका अनुसार व्यवसायीको मनोमानी र लापर्बाही, ग्राहकमाथि दुव्र्यवहार र सुरक्षाकर्मीबाट पनि कमजोरी भएकै छन् । उहाँले भन्नुभयो, “व्यवसायीले कमजोरी स्विकार्नु पर्छ । पछिल्ला दिनमा रात्रि व्यवसाय असुरक्षित र अमर्यादित भएको साँचो हो । यस विषयमा समीक्षा हुनु पर्छ ।”

आचारसंहिता कार्यान्वयन भएन 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको ‘पूर्ण समय व्यवसाय सञ्चालनसम्बन्धी आचारसंहिता एवं सुरक्षा व्यवस्थापन मापदण्ड २०८०’ मा सार्वजनिक सदाचार र नैतिकताको आधारभूत मूल्यमान्यताको प्रतिकूल नहुने गरी, उपभोक्तालाई भेदभाव नगरी र उपभोक्ताले देख्ने गरी वस्तु तथा सेवाको प्रकृति र तिर्नुपर्ने मूल्यको 

सूची राखेर व्यवसाय सञ्चालन गर्नुपर्ने भनिएको छ । 

त्यसै गरी उपभोक्तालाई बिल वा रसिद उपलब्ध गराउनुपर्ने, अनावश्यक रूपमा दबाब दिने, इच्छाविपरीत वस्तु तथा सेवा खरिद गर्न दबाब दिने, व्यावसायिक लाभका लागि कमिसन दिन उत्प्रेरित गर्न नपाइने भनिएको छ । परिषद्का पूर्वअध्यक्ष शर्माले ग्राहकले आफूलाई नियन्त्रण गर्न नसकेमा सुरक्षा प्रदान गर्ने र सुरक्षित रूपमा घर पठाउने दायित्व पनि व्यवसायीको हुने बताउनुभयो । उहाँले भन्नुभयो, “विवाद भए कानुन अनुसार गर्ने हो । बाउन्सर लगाएर आक्रमण गर्ने होइन । ग्राहकमाथि जाइलाग्ने घटना बढ्नुले राम्रो सन्देश गएको छैन ।”

अनुगमन र कारबाही हुन्छ : प्रशासन 

रात्रि मनोरञ्जन व्यवसायमा देखिएका विकृतिलाई प्रशासनले निगरानी गरिरहेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार सुरक्षा र प्रशासनसँगै स्थानीय तहको पनि व्यवस्थापकीय जिम्मेवारी हुन्छ । उहाँले भन्नुभयो, “प्रहरी प्रशासनले सक्रिय रूपमा काम गरिरहेको छ । आपराधिक घटना भएमा कानुन अनुसार कारबाही गरिएको छ । अनुगमन तथा सरोकारवाला निकायसँग समन्वय र परामर्श गरेर व्यवसाय र व्यवसायीलाई जिम्मेवार बनाइने छ ।”

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले बाटो अवरोध गरेर सेलिब्रेसन गर्ने, गलत ढङ्गले गाडी चलाउने, अरूको मानव अधिकार हनन गर्ने जस्ता अवाञ्छित गतिविधि गरेको पाइएमा तुरुन्तै कारबाही गरिने बताउनुभयो । उहाँका अनुसार प्रहरीले गुन्डानाइकेका रूपमा परिचित चक्रे मिलनको समूहलाई नै नियन्त्रणमा लिनुको कारण पनि त्यही हो । एसएसपी खनालले ग्राहकको असुरक्षा भएको र प्रहरी मूकदर्शक भएको थाहा पाएमा तुरुन्तै कारबाही गरिने प्रस्ट पार्नुभयो । उहाँले प्रहरी निरन्तर रूपमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन प्रतिबद्ध रहेको प्रस्ट पार्दै प्रहरी कर्मचारीको पनि यदाकदा कमजोरी हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै व्यवसायीले बाउन्सर राखेर कानुन हातमा लिने अथवा ग्राहकलाई दुव्र्यवहार गर्ने छुट कसैले पनि दिँदैन ।”