• २१ वैशाख २०८१, शुक्रबार

फेरि बल्झियो तेक्वान्दो विवाद

बागमतीका २२ तेक्वान्दो खेलाडीमाथि अन्याय

blog

फाइल तस्बिर ।

काठमाडौं, असोज २७ गते । तेक्वान्दो संघमा देखिएको विवादले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामासमेत निरन्तरता पाएको छ । विवादका कारण नवौंमा बागमती प्रदेशबाट छनोट भएका तेक्वान्दो खेलाडी प्रतियोगिताबाटै बन्चित हुने अवस्था आएको हो ।

वर्षौदेखि राष्ट्रिय प्रतियोगिताको पर्खाइमा बसेका खेलाडी प्रतियोगिातका लागि छनोट भए पनि खेल्न नपाउने भएका छन् । नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशको तेक्वान्दो खेलाडी छनोट भदौ २० र २१ गते भएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राजेश प्रजापतिको संयोजकत्वमा गठित तीन सदस्यीय प्राविधिक छनोट समितिले बागमती प्रदेशका सबै जिल्लाका तीन सय खेलाडीबीचको प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेको थियो । 

छनोट भएका खेलाडीको नामसहित प्रदेश खेलकुद परिषद्‍मा पठाए पनि अन्तिममा छनोट भएका २२ जना खेलाडीलाई प्रतियोगिता खेल्नबाट बन्चित गरिएको बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले बताउनुभयो । 

पुरीका अनुसार प्राविधिक समितिले छनोट गरेको खेलाडीको नाम संघले प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्य भण्डारी र राखेपका सदस्य सचिव टंकलाल घिसिङलाई समेत बुझाइएको थियो । भण्डारीकै स्वीकृतिमा सातदोबाटोमा १३ वटै जिल्लाका खेलाडी भेला गरेर छनोट प्रतियोगिता आयोजना गरिएको थियो । 

तर, पछि सूर्य भण्डारी र राखेपका उपाध्यक्ष एवं राष्ट्रिय तेक्वान्दो संघ, नेपालको अध्यक्षसमेत रहेका शिव कोइरालाले उक्त छनोट प्रतियोगिता मान्य नहुने भन्दै असोज १२ र १३ गते खेलाडी छनोट गर्ने भनी छुट्टै २८ जना खेलाडीलाई नवौंमा सहभागी गराउन लागिएको गिरीले बताउनुभयो । 

‘‘पछिल्लो छनोट खेल एक दमै किर्ते हिसाबले गरियो । हामीलाई ९ गते अनौपचारिक रुपमा फेरि असोज १२ र १३ गते छनोट हुने भनियो । ‘सेन्सर’ र प्रविधिबिनै छनोट हुने कुरा गरियो । अहिले छनोट भएका २२ जना खेलाडीलाई छोडेर आफ्नो हिसाबले खेलाडी बटुलेर लगिएको छ । यो एकदमै राजनीतिक पूर्वाग्रहको काम भयो । अहिले राखे, प्रदेश खेलकुद, युवा तथा खेलकुद मन्त्रालय सबैमा माओवादी केन्द्रको नेतृत्व भएकोले यस्तो भएको हो । हामी यसको भण्डाफोर गर्नेछौं,’’ गिरीले गोरखापत्र अनलाइनसँग भन्नुभयो । 


छनोट भएका खेलाडीलाई नवौंमा खेल्न नदिएपछि खेलाडीको चीनमा हुन लागेको एसियाड खेलकुद र अन्य अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताको अवसरसमेत गुम्ने भएको छ । राखेपले नवौं राष्ट्रिय खेलकुदलाई चीनमा हुने १९औं एसियाली खेलकुद (एसियाड)को समेत छनोट खेलको आधार मानेको छ । 

नेपालमा अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले आधिकारिक मान्यता दिएको तेक्वान्दोको आधिकारिक संस्था नेपाल तेक्वान्दो संघ हो । यही संघले तयार पारेका खेलाडीले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मासमेत १२ स्वर्ण जितेका थिए । 

तर, २०६८ सालमा युवराज लामा राखेप सदस्य सचिव भएको बेला राखेपमा राष्ट्रिय तेक्वान्दो संघ, नेपाल नामक छुट्टै तेक्वान्दोको संस्था खोलेपछि हरेक राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा विवाद हुँदै आएको छ । यसको प्रत्यक्षा मार खेलाडीले खेप्दै आएका छन् । 

नवौंका लागि बागमतीबाट तेक्वान्दोमा छनोट भएका खेलाडीलाई बन्चित गरिएपछि २२ जना खेलाडीले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । रिट उपर पाटन अदालतले बुधबार असोज २८ गतेसम्म खेलाडी छनोटको विषय  कार्यान्वयन  नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरेको छ । 

नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशका अध्यक्ष गिरीले अब अदालतको निर्णय पर्खने र नवौंमा तेक्वान्दो खेल हुन नदिन संघले आन्दोलन गर्ने बताउनुभयो । उहाँले केन्द्रीय संघ, सबै प्रदेश र जिल्लाका खेलाडीलाई राजनीतिक पूर्वाग्रहविरुद्ध एकजुट हुन आग्रह पनि गर्नुभएको छ । नवौं अन्तर्गत तेक्वान्दो प्रतियोगिता म्याग्दीमा असोज २८ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुँदैछ ।