• १३ साउन २०८१, आइतबार

स्वदेशमा लगानी आह्वान

blog

विश्वका विभिन्न भागमा रोजगारी, अध्ययनका साथै उच्च जीवनस्तरको अभिलाषा तथा अन्य अवसर प्राप्तिका निम्ति एक देशका बासिन्दा अर्को देशमा बसाइँसराइ गर्ने परम्परा लामो छ। विश्वव्यापीकरणको प्रभावले विगत केही दशकयता त यो प्रवृत्ति निकै फस्टाएको छ। अन्तर्राष्ट्रिय आप्रवासनको यस कडीमा नेपाली समुदाय अछुतो छैन। विश्वको थुप्रै मुलुकमा अवसर प्राप्तिका लागि नेपाली पुगेका छन्। यिनै प्रवासी नेपालीको सङ्गठित संस्थाका रूपमा गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले छरिएका नेपालीलाई एकै छातामुनि आबद्ध गरेर मातृभूमिप्रतिको दायित्वलाई झकझकाउने प्रयास गरिरहेको छ। यसमा केही सफलतासमेत प्राप्त हुँदै गएको छ।

विदेशमा मातृभूमि तथा परिवारजनको मायालाई मुटुमा गाँठो कसेर पनि थुप्रै नेपालीले अमूल्य सीप तथा पुँजी आर्जन गर्न सक्षम भएका थुप्रै उदाहरण देखिएका छन्। यस्ता व्यक्तित्वप्रति मुलुक र मुलुकवासीले गर्व गर्नु स्वाभाविक हो। यस अर्थमा आर्जन गरिएका सीप तथा पुँजीलाई मातृभूमिको विकास र समृद्धिका लागि उपयोग गर्न सकिए निकै सकारात्मक वातावरण सिर्जना हुने विषयमा दुई मत छैन। गैरआवासीय नेपालीका लागि यो विषय मातृभूमिप्रतिको दायित्व निर्बाहको आत्मसन्तुष्टिपूर्ण उत्तरदायित्व मान्न सकिन्छ। संस्थागत रूपमै एनआरएनका गतिविधिले नेपाली समाजमा सकारात्मक ऊर्जा थप्ने प्रयास गरेको छ।

एनआरएन दिवसका अवसरमा मङ्गलबार राजधानीमा आयोजित एक समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको आर्थिक र सामाजिक विकासमा एनआरएनको सहयोगको आह्वान गर्नुभयो। कुनै व्यवसाय वा उद्योगमा लगानी गरिएपछि व्यवसायी वा उद्यमीले लगानीको प्रतिफलको अपेक्षा गर्नु स्वाभाविक हो। यस सन्दर्भमा प्रधानमन्त्रीले गैरआवासीय नेपालीको लगानीको प्रतिफल प्राप्त गर्न सक्ने वातावरण निर्माण गरिने प्रतिबद्धता गर्नुभएको छ। यसबाट वर्तमान सरकार गैरआवासीय नेपालीको सीप र पुँजी मुलुकको विकास तथा समृद्धिका निम्ति भिœयाउन निकै इच्छुक रहेको सन्देश प्रवाहित भएको छ। लगानीको प्रतिफलका निम्ति वातावरण तयार गर्ने सरकार प्रमुखको यो आश्वासनले गैरआवासीय नेपालीको पुँजी तथा प्रतिफल संरक्षणमा निकै टेवा प्रदान गर्ने विषयमा विश्वस्त हुन सकिन्छ। मौजुदा लगानीको वातावरणमा आगामी दिनमा सकारात्मक परिवर्तन हुने कुरामा विश्वस्तसमेत हुन सकिन्छ।

प्रधानमन्त्रीले गैरआवासीय नेपालीको मातृभूमि आगमनलाई सहजीकरण गर्ने आश्वासन दिनुभएको छ। साथै, लगानी तथा सम्पत्तिको संरक्षणमा सरकारबाट सहयोग भइरहेको वर्तमान स्थितिको चर्चा गर्नुभएको छ। यसको पर्याप्त लाभ गैरआवासीय नेपालीहरूले उठाइरहेको अवस्था देखिन्छ। सोही अवसरमा प्रधानमन्त्रीले स्वदेशी उत्पादनाई गैरआवासीय नेपालीले प्रयोग गर्न सके नेपाली उत्पादनको निर्यात प्रवद्र्धनमा निकै सघाउ पुग्ने विषयलाई उठाउनुभएको छ। निःसन्देह रूपमा विदेशमा बसेका नेपालीले स्वदेशको उत्पादन प्रयोग गरे यसको सकारात्मक प्रभाव नेपाली कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगमा पर्नेछ। लगानी र रोजगारी बढ्नेछ।

गैरआवासीय नेपालीहरू विदेशी पुँजी र लगानीलाई नेपालतर्फ आकर्षित गर्न महत्वपूर्ण माध्यमसमेत हुन सक्छन्। यसै तथ्यलाई आत्मसात् गर्दै सरकारले चालू आर्थिक वर्षको बजेटमा दुई करोड रुपियाँको न्यूनतम लगानी गर्न सकिने व्यवस्था गरेको छ। यसबाट साना तथा मझौला आयस्तरका गैरआवासीय नेपाली लगानीकर्तालाई स्वदेशमा लगानीको उपयुक्त वातावरण सिर्जना भएको मान्न सकिन्छ। अहिले नेपालले गैरआवासीय नेपालीलाई विदेशमा आर्जन गरेका सीप तथा पुँजी स्वदेशको विकास तथा समृद्धिका लगानी गर्न आह्वान गरिरहेको अवस्थामा उनीहरूका जायज मागका सम्बन्धमा पनि सरकार सकारात्मक हुनु पनि त्यत्तिकै आवश्यक छ। गैरआवासीय नेपालीलाई सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकारसहितको नागरिकता प्रदान गर्ने सरकारको प्रतिबद्धता यहाँ महत्वपूर्ण मान्न सकिन्छ। गैरआवासीय नेपालीमा नेपालप्रतिको माया, ममता पक्कै पनि नसानसामा भरिएको छ। यसको प्रमाणका रूपमा उनीहरूद्वारा कोरोना नियन्त्रण, विनाशकारी गोरखा भूकम्प र त्यसपछि क्षतिग्रस्त आवास निर्माण गर्न गरेको योगदानलाई लिन सकिन्छ। नेपाल विकसित तथा समृद्ध भएमा गैरआवासीय नेपालीको पनि विदेशमा गौरव, इज्जत तथा शानमा अभिवृद्धि हुने तथ्यमा शङ्का छैन। यसर्थ गैरआवासीय नेपालीले मातृभूमिको विकासका निम्ति महत्वपूर्ण काम गर्नु त्यत्तिकै जरुरी छ। सरकारले उनीहरूका निम्ति गरेको सहजीकरणको उच्च सम्मान र अभ्याससमेत वाञ्छनीय छ।