• १३ साउन २०८१, आइतबार

डेंगुको प्रकोपमा मधेश प्रदेश : दुईको मृत्यु, पाँच सय बढी विरामी

blog

बर्दिबासस्थित शुभ स्वास्तिक अस्पतालमा उपचारार्थ भर्ना भएका डेंगुका विरामी । तस्बिर : गोरखापत्र

रवीन्द्र उप्रेती

बर्दिबास, असोज २६ गते । वर्षा लागेसँगै फाट्टफुट्ट देखा परेको डेंगु पछिल्लो समय भयावह बन्दै गएको छ । फैलिदो क्रममा रहेको डेंगुको प्रकोपबाट मधेश प्रदेशका आठ वटै जिल्ला आक्रान्त छन् । अस्पतालहरुमा डेंगुका विरामी भरिदै गएका छन् । उपचारकै क्रममा दुई जनाको मृत्यु भएको छ ।

अस्पतालको अनुसार अहिले दैनिक १० जनाभन्दा बढी नयाँ विरामी उपचारमा आउने गरेका छन् । डेंगुका कारण सर्लाही र धनुषामा एक एक जनाको मृत्यु भएको मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

स्वास्थ्य निर्देशक विजयकुमार झाकाअनुसार असोज २४ गतेसम्म सवैभन्दा बढी बारा जिल्लामा डेंगुबाट एक सय १७ जना संक्रमित भएका छन् । पर्सामा ९२, सर्लाहीमा ९१, रौतहटमा ८५, महोत्तरीमा ४१, सप्तरीमा २९ सिरहामा २३ र धनुषामा सवैभन्दा कम १९ जना डेंगुका विरामी फेला परेको छ । प्रदेशमा बढ्दो क्रममा रहेको डेंगु संक्रमणले चिन्ता थपेको उहाँले बताउनुभयो । 

‘‘प्रदेशका ८ वटै जिल्लामा असोज १७ गतेसम्म डेंगुका चार सय २५ जना संक्रमित रहेकामा ४ दिनभित्र बढेर असोज २१ गते चार सय ६३ पुग्यो’ निर्देशक झाले थप्नुभयो, ‘त्यो संख्यामा पनि २४ गते ३४ जना थपिएर चार सय ९७ जना पगेपछि डेंगु नियन्त्रण एवं रोकथाममा चुनौती बनेको हो ।’’

प्रदेश निर्देशनालयको तथ्याङ्कले नीजि अस्पतालमा पुगेका डेंगु संक्रमितलाई नसमेटेकोले विरामी संख्या योभन्दा बढी रहेको अनुमान गरिएको छ । महोत्तरीमा डेंगुबाट सवै भन्दाबढी बर्दिबास आक्रान्त छ । असोज २५ गतेसम्म ३१ जनाडेंगु संक्रमितको उपचार गरिएको बर्दिबास अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णा महर्जनले बताउनुभयो । भदौ महिनासम्म यो संख्या १४ जना मात्र थियो ।

तर, बर्दिबासस्थित शुभ स्वास्तिक अस्पतालमा सोही अवधिमा उपचारमा आएकामध्ये ४१ जनाममा डेंगु संक्रमण पाईएको अस्पतालका ल्याव प्रमुख मेघबहादुर खपाङ्गीले जानकारी दिनुभयो । यो संख्या निर्देशनालयको तथ्याङ्कमा समेटिएको छैन ।

उक्त अस्पतालका ब्यवस्थापक दीपेन्द्र ढकालकाअनुसार विरामीको उपचार अवस्था हेरी आकस्मिक र अन्तरंग कक्षमा हुने गरेको छ । तर, डा.महर्जनका अनुसार बर्दिबास असपतालको अन्तरंग कक्ष ब्यवस्थित नभएकोले सवैको उपचार ओपीडीमै हुने गरेको छ ।

सरकारी असपतालमा तुलनात्मकरुपले स्तरीय उपचार नहुँदा यसका संक्रमित नीजि असपतालमा बढी जाने गरेकाले सरकारी तथ्याङ्कमा डेंगुका सबै संक्रमित समेटिन नसकिएको हो । वर्षा सकिएर जाडो सुरु हुने क्रमसँगै डेंगुको प्रकोप पनि मत्थर हुदै जाने अनुमान गरिएको थियो । तर, अनुमानविपरित विरामी थपिदै जादा स्वास्थ्य निकायको लागि टाउको दुखाई भएको छ ।

मधेश प्रदेशका स्वास्थ्य निर्देशक विजयकुमार झाका अनुसार डेङ्गुको प्रकोप फैलिनुमा मानवजनित कृयाकलाप पनि जिम्मेवार रहेको छ । ‘आडेस’ नामक लामखुट्टेको टोकाईबाट हुने डेंगुका विरामी नियन्त्रणका लागि ‘स्प्रे’ र ‘फगिङ’ ले मात्र सम्भव नहुने उहाँको भनाई छ । जनस्तरले दायित्व निर्वाह नगरेसम्म सरकारी प्रयासले मात्र यसको नियन्त्रण हुन नसक्ने उहाँले बताउनुभयो । 

‘‘आफ्ना गाउ घरका भाडा वर्तन, टायर, अण्डका खोलजस्ता पानी जम्ने ठाउँ र साधनलाई नष्ट गरिदिए पनि डेंगुनियन्त्रणमा सहयोग पुग्ने थियो, झाले भन्नुभयो ‘‘आफ्नो घर आगनको सफाइमा ध्यान नदिदा डेंगुले प्रकोपको रुप धारण गरेको हो ।’’