शंकर केसी
सल्यान, चैत ६ गते । हावाहुरीसहित परेको असिना पानीले सल्यानमा तरकारी तथा अन्नबालीमा क्षति गरेको छ । विशेषगरी जिल्लाको कपुरकोट क्षेत्रमा बेमौसमी तरकारी खेती, गहुँ र जौँमा शुक्रबार दिउँसो परेको असिना पानीले ठुलो क्षति गरेको किसानहरूले चिन्ता व्यक्त गरेका छन्।
कपुरकोट गाउँपालिका –५ खाली निवासी कृषक भीष्म बुढाले खेतीका लागि तयार गरेको टमाटरको बेर्ना असिनाले नष्ट गरिदिएको जानकारी गराउनुभयो। “दुई प्याकेट बीउबाट तयार गरेको बेर्ना असिनाले सखाप पारिदियो” उहाँले भन्नुभयो, “गहुँ र जौँमा पनि करिब ५० प्रतिशत क्षति पुगेको छ ।”
साविक रिम गाविस –८ क्षेत्रमा अधिकांश किसानको तरकारी ब्याड तथा गहुँ, जौँ लगायतका हिउँदे बालीमा क्षति पुगेको स्थानीयले बताएका छन् ।
कपुरकोट–५ का पूर्व वडा अध्यक्ष तथा किसान यामकुमार बस्नेतले बाली भित्र्याउने बेलामा आएको असिनाले गहुँ, जौँ सखाप पारिदिकाले अब उत्पादन घट्ने भन्दै किसानहरु चिन्तित बनेको बताउनुभयो। जिल्लाभर कति क्षति भयो भन्ने पूर्ण विवरण भने अझै संकलन हुन बाँकी रहेको छ। असिना पानीपछि सल्यानमा चिसो बढेको छ।