प्रकृतिले मानव हितका निम्ति विभिन्न तत्व उपलब्ध गराएको छ। त्यस्ता तत्वको उपयोगका लागि अध्ययन, अनुसन्धान तथा अन्वेषण आवश्यक हुन्छ। जैविक इन्धनको प्रचुर प्रयोगले विगत एक सय वर्षमा संसारमा आर्थिक तथा सामाजिक विकासले गति त लियो तर विश्व तापमानमा आएको बढोत्तरीको प्रभाव जलवायु परिवर्तनमा परिरहेको छ। बढी जैविक इन्धन प्रयोगका कारण उत्सर्जित कार्बनको प्रतिकूल प्रभाव मूल चुनौती भएको छ। परिणामस्वरूप बेमौसममा निरन्तर वर्षा हुने, बाढीपहिरो जाने, खडेरीलगायतका समस्या देखा परिरहेकै छन्। यस्तो समस्या विश्वभर छ। हाम्रै देशको कुरा गर्ने हो भने पनि जलवायु परिवर्तनका कारण मौसममा देखिएको परिवर्तन, कृषिमा परेको प्रभाव, बाढीपहिरो तथा अनावृष्टि आदिको समस्या भोग्नु परिरहेको छ। तसर्थ समष्टिगत रूपमा विश्लेषण गर्दा विश्वमा नै जैविक इन्धन प्रयोगमा कमी ल्याउनु आवश्यक छ। त्यसका लागि वैकल्पिक ऊर्जातिर लाग्नु आवश्यक हुन्छ। त्यसमा पनि हाइड्रोजन ग्यास प्रयोगमा जोड दिनु वर्तमानको आवश्यकता हो। यसमा नेपालले ठूलो लाभ लिन सक्ने देखिएको छ। भावी सन्ततिलाई सुरक्षित पृथ्वी हस्तान्तरण गर्नसमेत वैकल्पिक ऊर्जा जरुरी भइसकेको छ।
वैज्ञानिकका अनुसार हाइड्रोजन ब्रह्माण्डमै सबैभन्दा बढी पाइने तत्व हो। यो मिश्रणका रूपमा रहन्छ। पानीलगायतमा मिश्रणका रूपमा रहने हाइड्रोजनलाई ग्यासमा परिणत गरेर यातायात, औद्योगिक क्रियाकलाप, ऊर्जा उत्पादनका रूपमा प्रयोग गर्न सकिन्छ। औद्योगिक प्रक्रियाद्वारा हाइड्रोजनलाई इन्धनका रूपमा परिणत गर्न सकिन्छ। यो प्रविधि विश्वका कतिपय मुलुकले सुरु पनि गरिसकेका छन्। हाइड्रोजन पनि हरित, खैरो र निलो गरी तीन प्रकारका हुने वैज्ञानिकको भनाइ छ। यसमध्ये हरित हाइड्रोजन सौर्य वा वायुजस्ता नवीकरणीय ऊर्जा प्रयोग गरेर उत्पादन गरिन्छ। तसर्थ यो ग्यास प्रयोगमा ल्याउँदा कार्बनडाइअक्साइडजस्तो प्रदूषित ग्यास उत्सर्जन हुँदैन। यसै कारण हाम्रो वायुमण्डलमा प्रतिकूल प्रभाव पर्ने सम्भावना न्यून हुन्छ। पर्यावरणीय स्वच्छता प्राप्त हुने हुँदा यो वैकल्पिक इन्धनको माग र आवश्यकतालाई महŒव दिइएको हो।
विश्वका धनी तथा विकसित मुलुकले अविवेकी ढङ्गले जैविक इन्धन प्रयोग गर्दा संसार नै प्रभावित भएको छ। अझ बढी जैविक इन्धन प्रयोग नगर्ने नेपालजस्ता गरिब तथा अविकसित मुलुकमा यसको मार निकै परिरहेको छ। यस अर्थमा पनि कार्बन उत्सर्जन नहुने हाइड्रोजन ग्यासलाई इन्धनमा प्रयोग गर्नु सर्वोत्तम विकल्पका रूपमा लिन सकिन्छ। हरित हाइड्रोजनलाई ग्यासका रूपमा परिणत गर्न आवश्यक पर्ने वायु तथा सौर्यजस्ता नवीकरणीय ऊर्जाको समेत प्रचुर सम्भावना छ। प्रचुर सम्भावना भएकै कारण नेपालले हाइड्रोजन उत्पादन गर्न प्राथमिकता दिनुपर्ने जरुरी भइसकेको छ। हरित हाइड्रोजन अर्थतन्त्र निर्माण गर्ने गरी रोडम्याप बनाउन विज्ञहरूद्वारा दिइएको सुझावलाई समेत मनन गर्नु उपयुक्त देखिन्छ। यसैगरी हरित हाइड्रोजन उत्पादनका निम्ति सरकारले आवश्यक नीति नियम तथा व्यवस्थापनमा जोड दिनु आवश्यक छ। यसनिम्ति आवश्यक गृहकार्यसँगै प्रविधि र लगानी भिœयाउने गृहकार्यलाई प्राथमिकतामा राख्नु श्रेयस्कर हुनेछ।
वैकल्पिक ऊर्जाका स्रोतबाट नेपाललाई ठूलो फाइदा हुनेछ। रासायनिक मल आयातका निम्ति हाम्रो देशले बर्सेनि अर्बौं रुपियाँ खर्च गर्नुपर्छ। बर्सेनि विदेशिइरहेको अर्बौं रुपियाँ जोगाउँदै देशलाई औद्योगिकीकरणको दिशामा अग्रसर गराउन सकिने सम्भावना छ। रासायनिक मल उत्पादनका निम्ति आवश्यक पर्ने मुख्य तत्व हाइड्रोजन रासायनिक मल कारखानाका लागि उपयुक्त खपतको क्षेत्र बन्न सक्छ। हाइड्रोजन तथा रासायनिक मलको उत्पादनबाट मुलुकले बर्सेनि अर्बौं रुपियाँ बचत गर्न सक्ने निश्चितप्रायः छ। जलविद्युत् उत्पादनलाई प्रतिकूल असर पर्ने गरी हरित हाइड्रोजनको योजना अगाडि भने बढाउनु हुँदैन। त्यसतर्फसमेत ध्यान दिनु आवश्यक छ।
विश्वका कतिपय मुलुकले हरित हाइड्रोजन ग्यास उत्पादन गरेर सार्वजनिक सवारी, औद्योगिक उत्पादन, ऊर्जा उत्पादनका साथै विभिन्न क्षेत्रमा उपयोग गरिररहेका छन्। नेपालले बर्सेनि ठूलो धनराशि पेट्रोलियम आयातमा लगाइरहेको छ। यस सन्दर्भमा जैविक इन्धनको स्वच्छ तथा सर्वोत्तम विकल्पका रूपमा यसको प्रयोगलाई बढावा दिनु पर्यावरण बचाउने एउटा महत्वपूर्ण कार्य हो। यसमा नेपालले पनि आफ्ना उपलब्ध सम्भाव्यतालाई उपयोग गरेर हरित हाइड्रोजन ग्यास उत्पादनलाई हरतरहले सम्भव तुल्याउनु आवश्यक देखिन्छ।