• १५ असार २०८१, शनिबार

भरतपुर अस्पतालमा नयाँ आकस्मिक कक्ष

blog

चितवन समाचारदाता

चितवन, आसोज २६ गते । भरतपुर अस्पतालमा नयाँ इमर्जेन्सी (आकस्मिक) कक्ष सञ्चालन गरिएको छ।  काम चलाउका रूपमा सञ्चालन हुँदै आएको आकस्मिक कक्षले बिरामीको चापलाई धान्न नसकेपछि दुई वर्ष अगाडिदेखि नयाँ इमर्जेन्सी भवन निर्माण सुरु गरिएको थियो। 

छ करोड ५० लाख रुपियाँको निर्माण लागत रहेको भवनमा पहिलो चरणमा पहिलो तला मात्र निर्माण गरिएको छ। अस्पतालका इन्जिनियर विपिन सापकोटाले अर्को वर्षबाट बाँकी भाग निर्माण गरिने भए पनि अहिले जमिन तलाको मात्र काम सम्पन्न भएको जानकारी दिनुभयो। पुरानो इमर्जेन्सी कक्षमा १२ वटा शøयाबाट सेवा दिँदै आएकोमा नयाँ निर्माण भएको भवनमा ५० शय्यामध्ये जनशक्ति अभावमा सुरुवातमा २० वटा शय्याबाट सेवा दिएको भन्दै एक साताभित्रमा सबै शय्या सञ्चालन हुने अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो। 

भरतपुर केन्द्रीय अस्पतालमा आकस्मिक कक्ष साँघुरो र थोरै शøयाका कारण बिरामीले राम्रोसँग सेवा पाउन सकेका थिएनन्। अहिले निर्माण भएको नयाँ भवन फराकिलो र पर्याप्त शøया भएकाले अब सहज तरिकाले सेवा दिन सकिने सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो। 

अस्पतालको स्थापनाकालदेखि काम चलाउका रूपमा सञ्चालन हुँदै आएको आकस्मिक कक्ष मर्मत गर्दै चलाउँदै आएको थियो। अहिले भइराखेको ओपीडी भवनभन्दा पूर्वतर्फ निर्माण सम्पन्न भएको आकस्मिक भवनमा आपत्कालीन ल्याबसँगै अन्य सेवा पनि सुरु हुने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण पौडेलले जानकारी दिनुभयो। अस्पतालमा नयाँ भवन र सेवालाई विस्तार गर्दै लैजाने योजना कायम रहेको उहाँले बताउनुभयो। अस्पतालको ‘सी’ ब्लक निर्माण सम्पन्न भएर ट्रमा सेवा सञ्चालनमा आएको छ। अस्पतालको गुरुयोजनाअनुसार थप सेवाहरू दिँदै आए पनि केन्द्रीय अस्पतालअनुसारको सेवा दिन नसकेको बताउनुभयो।