लीलाधर वली
घोराही, चैत ६ गते । नेपाल विद्युत प्राधिकरण कोहलपुर ग्रिडअन्तर्गत लमही सबस्टेशनमा आगलागी हुँदा विद्युत सेवा अवरुद्ध भएको छ ।
लमही नगरपालिका –५ रातोडाँमा रहेको विद्युत सवस्टेशनमा शुक्रवार दिउँसो १ बजेतिर सवस्टेशनमा आगलागी हुँदा विद्युत सेवा अवरुद्ध भएको लमही वितरण केन्द्रकी इञ्जिनियर प्रतिक्षा न्यौपानेले जानकारी दिनुभएको छ ।
इञ्जिनियर न्यौपानेका अनुसार आगलागीका कारण देउखुरी क्षेत्रको विद्युत आपूर्ति अवरुद्ध भएको छ । अवरुद्ध विद्युत सञ्चालनका लागि आगलागी भएको सवस्टेशनमा मर्मतको काम भइरहेको छ । आगलागी हुँदा भालुवाङ फिडर र गढवा फिडरको प्यानल पूर्ण रुपमा क्षति भएको इन्जिनियर न्यौपानेले जानकारी दिनुभो ।
घोराहीदेखि बेलदमारसम्म आएको फिडरबाट लमही क्षेत्रमा विद्युत दिनेगरि प्राविधिक मर्मतको काम भइरहेको बताउनुभएको छ । मर्मत कार्य सकिएपछि विद्युत सुचारु हुने छ । आगलागीका कारण नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रअन्तर्गत देउखुरी क्षेत्रको लमही बजारसँगै मौरीघाट, कालाकाटे, गढवा, भालुबाङ, रिहारलगायतका ठाउँमा सेवा अवरुद्ध बनेको छ ।