• १५ असार २०८१, शनिबार

नागरिकता विवादमा जनप्रतिनिधि

blog

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, असोज २६ गते । काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरू नक्कली नागरिकताको सिफारिस, नक्कली नाता प्रमाणितमा संलग्न रहेको पाइएको छ। जिल्लामा नक्कली तथा दोहोरो नागरिकताका विषयमा भएका अनुसन्धानबाट वडाध्यक्षलगायतका जनप्रतिनिधि र वडा सचिवको संलग्नता रहेको पाइएको हो। 

बाबु, आमाको पहिचान नभएकी पोखराकी रिया मगर लामाले जिल्लाको पाँचखाल नगरपालिका–७ का युवासँग विवाह गरी जनप्रतिनिधिको संलग्नतामा नै नक्कली बाबु, आमा तथा झुटो विवरण पेस गरी जन्मदर्तादेखि नागरिकता बनाउनुभयो। रियाले नक्कली विवरण पेस गरी नागरिकता बनाएको पत्ता लागेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले उक्त नागरिकता रद्द गरेको छ। 

रियाले पाँचखाल नगरपालिका–७ का तत्कालीन वडाध्यक्ष, वडा सचिवको मिलेमतोमा स्थानीय बालकृष्ण मगर र तारा मगरलाई बाबुआमा बनाई जन्मदर्तादेखि नागरिकताको सिफारिस लिनुभएको थियो। जिल्ला अदालत काभ्रेपलाञ्चोकले असोज ९ गते रियालगायत नक्कली बाबु बालकृष्ण मगर र नक्कली आमा तारा मगरलाई जनही ६० हजार तथा तत्कालीन सचिव रामशरण कोइराला (मिजार) लाई दुई लाख पचास हजार रुपियाँ जरिवाना सुनाएको थियो। अदालतले पाँचखाल नगरपालिकाका तत्कालीन वडाध्यक्ष पुष्कर ढकाललाई फरारको सूचीमा राखेको छ। 

काभ्रेमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले नक्कली र दोहोरो नागरिकताको विषयमा जनप्रतिनिधि संलग्न देखिएकोले संवेदनशील र पछिसम्म असर पार्ने विषयमा सिफारिस र निर्णय गर्दा जनप्रतिनिधि र कर्मचारी दुवै सचेत रहनुपर्ने बताउनुभयो। यसैगरी प्रहरीले नमोबुद्ध नगरपालिका–३ बाट दोस्रो नेपाली नागरिकता प्रमाणपत्र लिने ललिताकुमारी दनुवारको नागरिकताको विषयमा अनुसन्धान गरिरहेको छ। 

दनुवारले पहिलो नागरिकता ललिता सिंह (चौधरी)को नामबाट सुनसरी जिल्लाको साबिक दुहवी गाविस–३ बाट लिएको पाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। कार्यालयले दनुवारले काभ्रेबाट लिएको दोस्रो नागरिकता बदर गरेको छ। 

त्यसैगरी चौँरीदेउराली गाउँपालिका–२ स्थानीय ठेगाना कायम गरी पहिलो पटक नागरिकता लिएका रामकुमार प्रधानले अमेरिका जाने लोभमा नाता परिवर्तन गरी आफ्नै दाजुलाई बाबु कायम गरी दोस्रो नागरिकता लिएको पाइएको छ। प्रधानले दाजुलाई बाबु प्रमाणित गरी चाैँरीदेउराली–२ ठेगाना देखाइ पुनः रोशन प्रधान नाम कायम गरी दोस्रो नागरिकता लिएको खुल्न आएपछि प्रशासन कार्यालयले दोस्रो नागरिकता बदर गरेको थियो। त्यस्तै तनहुँ जिल्लाको साबिक आँबुखैरेनी गाविस–६ कायम गरी पहिलो नागरिकता लिएकी पूजा श्रेष्ठ कार्कीले यस जिल्लाको पाँचखाल नगरपालिका–४ ठेगाना देखाइ प्रशासन कार्यालय काभ्रेबाट पूजा श्रेष्ठको नामबाट दोस्रो नागरिकता लिएपछि प्रशासनले दोस्रो नागरिकतालाई बदर गरेको थियो।

यस्तै जिल्लाको साबिक पोखरीचौँरी गाविस–९ ठेगाना कायम गरी अर्कै व्यक्तिलाई आफ्नो बाबुआमा भनी देखाइ पहिलो पटक सुनिता गिरीको नामबाट नागरिकता लिएको र पुनः देवी खड्का खत्रीको नामबाट भुम्लु गाउँपालिका–३ ठेगाना कायम गरी नागरिकता लिएपछि प्रशासनले दुवै नागरिकता बदर गरेको छ। 

प्रशासनले जिल्लाको नमोबुद्ध नगरपालिका–३ की सुन्तली तामाङले आफ्नो दिदीको नागरिकता आफ्नो भनी राहदानी लिएपछि प्रहरीले त्यस सम्बन्धमा अनुसन्धान अघि बढाएको छ। प्रशासन कार्यालयले दोहोरो नागरिकता लिएको सम्बन्धमा जिल्लामा छ जनाको नागरिकताको छानबिन तथा अनुसन्धान गरिरहेको छ।