• १३ असोज २०८१, आइतबार

पहिचान संरक्षण गर्न सङ्ग्रहालय

blog

दोलखा समाचारदाता

चरीकोट, असोज २५ गते । करिब दुई करोड रुपियाँको लगानीमा दोलखाकोे तामाकोसी गाउँपालिकाका चारवटा वडामा जातीय पहिचान संरक्षणका लागि सङ्ग्रहालय निर्माण गरिएको छ। गाउँपालिकाको लगानीमा वडा नम्बर १ भीरकोटमा माझी सङ्ग्रहालय, वडा नम्बर ४ मालुमा जनजाति सङ्ग्रहालय, वडा नम्बर ७ हावा देउरालीमा सुनुवार सङ्ग्रहालय र वडा नम्बर २ झुलेमा तामाङ सङ्ग्रहालयको निर्माण भएको पालिकाका इन्जिनियर सुबोध चापागाईंले बताउनुभयो ।

उहाँका अनुसार तामाङ सङग्रहालय ठेकेदारमार्फत र बाँकी तनिवटा सङ्ग्रहालय उपभोक्ता समितिमार्फत निर्माण भएको हो। माझी सङ्ग्रहालयका लागि २६ लाख ३२ हजार रुपियाँ, जनजाति सङ्ग्रहालयका लागि १४ लाख रुपियाँ, सुनुवार सङ्ग्रहालयका लागि २७ लाख ६५ हजार रुपियाँ तथा तामाङ सङ्ग्रहालयका लागि ३२ लाख ९४ हजार रुपियाँ गाउँपालिकाले खर्च गरेको छ। माझी सङ्ग्रहालय निर्माणका लागि गाउँपालिकाले जग्गा खरिद गरेको र जनजाति सङ्ग्रहालय स्थानीय क्लबको जग्गामा निर्माण गरिएको छ। सुनुवार सङ्ग्रहालय तथा तामाङ सङ्ग्रहालयका लागि व्यक्तिले जग्गा दान दिएको गाउँपालिकाले जनाएको छ।

सङ्ग्रहालयको रेखदेख तथा व्यवस्थापनका लागि स्थानीयस्तरमै सङ्ग्रहालय सञ्चालन तथा व्यवस्थापन समिति गठन गरी सञ्चालनको जिम्मा दिइएको छ। नयाँपुस्ताले पुराना कुरा भुल्दै जाने सम्भावना देखिएकाले जातीय पहिचान तथा संस्कृति संरक्षणका लागि सङ्ग्रहालय उपयुक्त हुने देखिएकाले गाउँपालिकाले लगानी गरेको बताइन्छ। 

जातीय पहिचान तथा जातीय संस्कृति संरक्षण तथा जातीय संस्कृतिको अध्ययन गर्नेहरूका लागि सङ्ग्रहालयले विशेष महìव राख्ने सुनुवार सङ्ग्रहालय निर्माणका लागि जग्गा दिने दाता भवानी सुनुवारले बताउनुभयो।