• ९ मंसिर २०८१, आइतबार

शिक्षासँगै महिलालाई उत्पादनमा जोड्दै सिकाइ केन्द्र

blog

दाङका महिलाले बनाएका गमला । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल 

तुलसीपुर, असोज २४ गते । समाज साक्षरताका लागि गठन भएको सामुदायिक सिकाइ केन्द्रले महिलालाई उत्पादन काममा जोड्न थालेको छ । तुलसीपुर उपमहानगरपालिका ११ मा रहेको सिकाई केन्द्रले आत्मनिर्भर बन्नका लागि विभिन्न सीप प्रदान गर्दै उत्पादन भएका वस्तुहरूको बजारीकरण समेत गर्न थालेको छ । 

सिकाइ केन्द्रका अध्यक्ष गोमा बालान क्षेत्रीले प्रारम्भिक चरणमा १५ जना महिलालाई गमला बनाउन सिकाइएको छ । महिलाले करिब ६ सय गमला निर्माण गर्नुभएको छ । अध्यक्ष क्षेत्रीले एउटा गमला बनाउन पचास रुपियाँ बराबरको कच्चा पदार्थ आवश्यक पर्छ । एउटा गमलाको बजार मूल्य ८० देखि ९० रुपियाँसम्म छ । 

गाउँमै उत्पादन भएका गमला गाउँमै बिक्री वितरणको व्यवस्थापन गरिएको अध्यक्ष क्षेत्रीले बताउनुभयो । अध्यक्ष क्षत्रीले वडामा साक्षरता, अध्ययनका लागि स्थापना भएको सिकाइ केन्द्रले उत्पादनको बाटोमा समेत अघि बढेकाले सबैको सहयोग साथ अनिवार्य भए मात्रै सफल भइने बताउनुभयो । 

तुलसीपुर उपमहानगरपालिका ११ का वडाध्यक्ष मानबहादुर रावतले महिलाले उत्पादन गरेका गमला प्रारम्भिक चरणमा प्रोत्साहनस्वरुप स्थानीय सरकारले नै खरिद गरेर प्रत्येक वडावासीको घरमा पुष्पका साथै तरकारी खेतीका लागि उपयोगमा ल्याइने बताउनुभयो । उहाँले वडाबाट गमला खरिद गरेर वडावासीलाई कौसीखेतीका लागि प्रोत्साहन गर्ने र तरकारीमा आत्मनिर्भरताको बाटोमा लैजान थालिएको बताउनुभयो । 

गमला बनाउँदै आउनुभएकी रक्षा भण्डारीले आफूले सिकेको सीपलाई व्यावसायिक रूपमै लैजाने बताउनुभयो । आफूले उत्पादन गरेका गमला सुरुको चरणमै वडाले नै खरिद गर्ने कुरालाई थप उत्साहित बनाएको उहाँको भनाइ छ ।