• १६ भदौ २०८१, आइतबार

कलाकारको टीका

blog

काठमाडौँ, असोज २४ गते । नेपाली चलचित्र क्षेत्रमा सबै कलाकार मांसाहारी छैनन्। सबै तास खेल्दैनन् र सबै मद्यपान पनि गर्दैनन्। तैपनि कलाकारले दशैँको भरपुर मनोरञ्जन चाहिँ उठाउँछन्। आफ्ना परिवारसँग रमाइलो गरी मीठामीठा परिकारसहित टीका–जमरामा रमाउन हाम्रा कलाकार पनि पछि परेनन्। प्रायः सबै कलाकारले आफूहरूले टीका लगाएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको छ। 

अभिनेत्री भुवन चन्दले श्रीमान् माइकल चन्दको हातबाट टीका ग्रहण गरेपछि परिवारका अन्य सदस्यलाई पनि टीका लगाइदिनुभएको थियो भने अभिनेता हरिवंश आचार्यले पत्नी, छोरा र बुहारीलाई टीका लगाइदिनुभयो। यस्तै अभिनेता अनमोल केसीले आफ्नो बुवा भुवन केसीको हातबाट टीका लगाएर आशीर्वाद लिनुभयो भने अभिनेत्री सुहाना थापाले बुवा सुनीलकुमार थापा र आमा झरना थापाबाट टीका ग्रहण गर्नभयो। 

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बुवाबाट, अभिनेता तथा निर्देशक निर्मल शर्माले आमाबाट र अभिनेता जितु नेपालले आमाको हातबाट टीका ग्रहण गर्नुभयो। यस्तै कलाकार मदनकृष्ण श्रेष्ठले पनि परिवारका साथ टीका लगाउनुभयो। यस्तै नायिका प्रियङ्का कार्कीले पनि आफ्नो परिवार र माइती घरसँग दशैँको टीका ग्रहण गर्नुभएको छ। श्रीमान् आयुष्मान देशराजसँग टीका लगाएपछि दुवैले छोरी आयङ्कालाई पनि टीका लगाइदिनुभएको थियो। 

हास्य कलाकार दीपकराज गिरीले पनि टीकापछिको रमाइलो आफ्ना फ्यानसँग सामाजिक सञ्जालमा साट्नुभएको छ। कलाकार गिरी लेख्नुहुन्छ, ‘टीका लगाउनुभन्दा फोटो पोस्ट्याउन हतार गर्ने जमाना आयो!!! जमानाअनुसार चल्नै परो क्यार्नु ? शुभ विजयादशमी!!! 

अभिनेत्री रिमा विश्वकर्मा, रेखा थापा, गायिका मिलज नेवा, निर्देशक तथा कलाकार अनुप बराल, अभिनेत्रीहरू ऋचा शर्मा, एलिजा गौतम, निर्देशकहरू नवल नेपाल, शोभित बस्नेत, केपी पाठकलगायतले पनि परिवारसँग टीका लगाएको तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गर्नुभएको छ।