• ८ मंसिर २०८१, शनिबार

पारिवारिक कथा ‘गुडबाई’

blog

काठमाडौँ, असोज २४ गते । जीवनको अन्तिम सत्य हो मृत्यु । हामी हाम्रो जन्मदिनमा के गर्ने भनेर धेरै योजना बनाउँछौँ तर हामी आफैँलाई थाहा छैन हामी यो संसारमा कति समयका लागि आएका हौँ। यस्तै विषयवस्तु लिएर निर्देशक तथा लेखक विकास बहलले चलचित्र ‘गुडबाई’ बनाउनुभएको छ। 

मुम्बईकी वकिल तारा (रश्मिका मन्डन्ना) आफ्नो पहिलो मुद्दा जितेपछि साथीहरूसँग पार्टीमा रमाइरहनुभएको हुन्छ। ठीक त्यही समय उहाँलाई आमा गायत्री भल्ला (नीना गुप्ता)को फोन आउँछ। फोनमा कुरा गर्दागर्दै फोन सम्पर्क काटिन्छ। भोलिपल्ट चण्डीगढमा बस्ने उहाँकी आमाको निधन भएको समाचार आउँछ। बुबा हरिश भल्ला (अमिताभ बच्चन) तारासँग एकदमै रुष्ट हुनुहुन्छ। जब तारा घर पुग्नुहुन्छ, उहाँकी आमाको लासमाथि नाकमा कपास र खुट्टाका औँलाहरू जोडेर राखिएको हुन्छ। ताराले जब यी सब कुरा देख्नुहुन्छ, उहाँलाई यो चलन फिटिक्कै मन पर्दैन। उहाँ आफ्नो बुवालाई यी कुरामा कुनै तर्क नभएको बताउनुहुन्छ। बुवा भने यस्तो चलन कैयौँ वर्षदेखि चलिआएको भनेर तारासँग जुहारी खेल्न थाल्नुहुन्छ। 

गायत्रीका थप तीन छोरा छन्। जेठो छोरा करण (पावेल गुलाटी) आफ्नी श्रीमती डेजी (एली अवराम) सँग अमेरिका बस्नुहुन्छ। आमाको निधनको खबरपछि उहाँ आफ्नो परिवारसहित घर फर्किनुभएको छ। धर्मपुत्र अङ्गद (साहिल मेहता) दुबईबाट आउनुभएको छ। तेस्रो छोरा नकुल (अभिषेक खान) पर्वतारोही हुनुहुन्छ। उहाँ आमाको सबै कर्मकाण्ड सकिएपछि घर पुग्नुहुन्छ। आमाको मृत्युपछि गरिने संस्कार प्रथामा कुनै तर्क छ वा यो विज्ञान हो; जसलाई विश्वाससँग जोडिएको छ। यिनै कुराहरूको सम्मिश्रण हो– चलचित्र ‘गुडबाई’ ।   

बलिउड सुपरस्टर अमिताभ बच्चनको अभिनयले चलचित्रमा मिठास थप्ने काम गरेको छ। प्राय सानो पर्दामा देखिने कलाकार नीना गुप्ताको अभिनय छोटो भएपनि सम्झिरहने खालको छ। साउथ नायिका रश्मिका मन्डन्नाको यो पहिलो हिन्दी डेब्यु चलचित्र हो। उनले चलचित्रमा बेजोड अभिनय गरेकी छिन्। पावेल, साहिल र आशिष विद्यार्थी आ–आफ्ना अभिनयमा फिट छन्। पण्डितको सानो भूमिकामा देखिएका सुनील ग्रोवरको अभिनयले चलचित्रमा अवश्य नै प्रभाव पार्छ।  

मृत्यु र अन्त्येष्टिमा कमेडी ड्रामा बनाउन त्यति सजिलो छैन। यस्तो चलचित्र बनाउन आँट गर्नु नै ठूलो कुरा हो। चलचित्रमा निर्देशक विकासको प्रयास राम्रो छ तर अन्त्यसम्म यो प्रथामा कुनै तर्क  खोज्ने कोशिस गरिएको हो या हामी विज्ञानलाई पनि मान्छौं भन्ने कुरालाई उजागर गर्न खोजिएको हो निर्देशक बहलले यी कुरा कतै बुझाउन सकेको देखिँदैन। यस्तै, चलचित्रको कथा अनुसार निर्देशकले चलचित्रको समय अवधि केही घटाउन पनि सक्थे तर उनले यसमा पनि खासै ध्यान दिनु उचित ठानेनन्। समग्रमा चलचित्र राम्रो बनेको छ तर दर्शक सिनेमाघरभित्र चलचित्र हेर्न कति समय अडिन सक्छन् भन्ने कुराले चलचित्रको भविष्य निर्धारण गर्छ।