• १२ असार २०८१, बुधबार

कर्णाली प्रदेश ब्युरो

कर्णालीमा मनोनयन दर्ता गठबन्धनविरुद्ध बागी

blog

सुर्खेत, असोज २४ गते । कर्णाली प्रदेशमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । अविरल वर्षाका कारण मार्ग अवरुद्ध हुँदा कतिपय उम्मेदवारले वारेसमार्फत आफ्नो मनोनयन दर्ता गराएका थिए ।

प्रतिनिधि सभा र प्रदेश सभामा देशभरि सत्तापक्षीय गठबन्धन भए पनि कर्णालीको कालीकोट जिल्लामा गठबन्धनभित्रैको दलबाट सङ्घ र प्रदेशमा बागी उम्मेदवारी परेको छ । सत्ता गठबन्धनका उम्मेदवार पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपा (माओवादी केन्द्र)का काशीचन्द बरालले मनोनयन दर्ता गराउनुभएको छ ।

त्यस्तै रुकुमपश्चिममा सत्ता गठबन्धनबीच चुनावी तालमेल हुन सकेन । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले बेग्लाबेग्लै उम्मेदवारी दर्ता गराएका छन् ।

उता नेकपा (एकीकृत समाजवादी) कालीकोट जिल्ला इन्चार्ज कुर्मराज शाही नेकपा (एमाले) प्रवेश गरेलगत्तै प्रदेश क्षेत्र ‘क’ बाट मनोनयन दर्ता गराउनुभएको छ ।

मुसीकोट समाचारदाताका अनुसार रुकुमपश्चिममा सत्ता गठबन्धनबीच चुनावी तालमेल हुन सकेन । सत्ता गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले बेग्लाबेग्लै उम्मेदवारी दर्ता गराएका छन् । 

प्रतिनिधि सभामा एउटै निर्वाचन क्षेत्र रहेको रुकुमपश्चिममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट अर्थमन्त्री एवं पार्टीका उपमहासचिव जनार्दन शर्माले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा मानबहादुर नेपालीले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

मुसीकोट नगरपालिका–१ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अर्थमन्त्री शर्माले आइतबार उम्मेदवारी दर्ता गराउनुभएको हो । 

उहाँले सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको हो । प्रतिनिधि सभा सदस्यका लागि चौथो पटक रुकुमबाट अर्थमन्त्री शर्मा उम्मेदवार बन्नुभएको छ ।

अर्थमन्त्री शर्माले राष्ट्रिय एकताको पक्षमा आफ्नो उम्मेदवारी रहेको चर्चा गर्नुभयो । उहाँले मुलुकको विकास र समृद्धिका लागि राष्ट्रिय एकता आवश्यक रहेको प्रतिक्रिया दिनुभयो । अर्थमन्त्री शर्माले भन्नुभयो, “राष्ट्रिय एकतापछि गरिबी न्युनीकरण, रोजगारी र गुणस्तरीय विकासका पक्षमा मेरो प्रतिबद्धता छ ।”

मुख्य निर्वाचन अधिकृत खड्कबहादुर केसीका अनुसार प्रदेश सभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) का तर्फबाट क्षेत्र ‘क’ मा महेन्द्र केसी र ‘ख’ मा राजकुमार शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेपाली कांग्रेसका जिल्ला सचिव परमेश्वर भण्डारीका अनुसार प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा कृष्णबहादुर रोकाय र ‘ख’ मा प्रेम प्रकाश ओलीको उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धन दलबीच रुकुमपश्चिमको तालमेलका विषयमा स्पष्ट निर्णय नभएकाले नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गराएको सचिव भण्डारीले बताउनुभयो । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले)का जिल्ला अध्यक्ष नन्दराम देवकोटाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा (एमाले)ले निर्वाचन क्षेत्र ‘क’ मा नारायणकुमार शाह र ‘ख’ मा कर्णबहादुर घर्तीको उम्मेदवारी दर्ता गराएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभामा दीपक मल्लको उम्मेदवारी दर्ता गराएको छ । प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा सेती घर्ती विक र ‘ख’ मा निर्जल केसीको उम्मेदवारी दर्ता गरिएको जनाइएको छ । 

सल्यान समाचारदाताका अनुसार प्रतिनिधि सभा सदस्यका लागि सल्यानबाट छ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनका तर्फबाट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वाला र नेकपा (एमाले)का तर्फबाट राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्रलाल श्रेष्ठ, नेकपा (माले)का भीमबहादुर वली, राष्ट्रिय स्वतन्त्र पार्टीका पवनराज देवकोटा र स्वतन्त्रबाट राजेन्द्रबहादुर शाहले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सत्ता गठबन्धनबाट प्रदेश सभा ‘क’ मा नेकपा (माओवादी केन्द्र)का भीमप्रकाश शर्मा र ‘ख’ मा नेपाली कांग्रेसका सुरेश अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै प्रदेश सभा ‘क’ मा नेकपा (एमाले)का कुलबहादुर गिरी र ‘ख’ मा गलावजङ्ग शाहले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार प्रदेश सभा ‘क’ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर खत्री, स्वतन्त्रमा एकाज डिसीले उम्मेदवारी दिनुभएको छ । प्रदेश सभा ‘ख’ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायणकुमार शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

छिन्चु समाचारदाताका अनुसार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वारेसमार्फत मनोनयन दर्ता गर्नुभएको छ । पूर्वगृहमन्त्री खड्काले सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराउनुभएको हो । 

सुर्खेतमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच चुनावी गठबन्धन रहेको छ । प्रतिनिधि सभामा दुई निर्वाचन क्षेत्र र प्रदेश सभामा चार निर्वाचन क्षेत्र रहेको सुर्खेतमा नेपाली कांग्रेसले प्रतिनिधि सभाका दुवै क्षेत्र लिएको छ । त्यस्तै प्रदेश सभामा दुई नेपाली कांग्रेस र दुई क्षेत्र नेकपा (माओवादी केन्द्र)ले लिएको छ । सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र १ को ‘क’ मा नेपाली कांग्रेसका खड्क पोखरेल र ‘ख’ मा नेकपा (माओवादी केन्द्र)का कृष्ण जिसीले मनोनयन दर्ता गराउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र नम्बर १ बाट धुव्रकुमार शाहीले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै प्रदेश ‘क’ मा ठम्मर विष्ट र ‘ख’ मा डण्डीप्रसाद शर्माले मनोनयन दर्ता गराउनुभएको छ ।

वीरेन्द्रनगर समाचारदाताका अनुसार सुर्खेत क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)लगायत अन्य दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । 

सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानीले मनोनयन दर्ता गराउनुभएको छ । पूर्वमन्त्री थानी २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा पराजित हुनुभएको थियो । 

पूर्वमन्त्री थानीले जनताको चाहनाअनुसार क्षेत्रको विकास गर्न उम्मेदवारी दिएको प्रतिक्रिया दिनुभयो । क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका कालीप्रसाद शाक्य र ‘ख’ मा नेकपा (माओवादी केन्द्र)का विन्दमान विष्टले मनोनयन दर्ता गराउनुभएको जनाइएको छ ।

नेकपा (एमाले)का तर्फबाट सुर्खेत क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा अमृत बिसीले मनोनयन दर्ता गराउनुभएको छ । सुर्खेत क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ मा नेकपा (एमाले)का यामलाल कंडेल र ‘ख’ मा ताराकेशर गौतमले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेश सभाका पूर्वसदस्य कंडेलले जनताको बीचमा रहेर काम गर्ने उपयुक्त ठाउँ प्रदेश सभा ठानेर फेरि उम्मेदवारी दिएको प्रतिक्रिया दिनुभयो । 

गठबन्धनविरुद्ध बरालको उम्मेदवारी

कालीकोट समाचारदाताका अनुसार सत्ता गठबन्धनका तर्फबाट पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रतिनिधि समा सदस्यका लागि मनोनयन दर्ता गराउनुभएको छ । प्रतिनिधि सभामा एउटै निर्वाचन क्षेत्र रहेको कालीकोटमा सत्ता गठबन्धनका लागि बागी उम्मेदवारी दर्ता भएको छ । नेकपा (माओवादी केन्द्र)का काशीचन्द बरालले मनोनयन दर्ता गराउनुभएको छ । 

नेकपा (एमाले) बाट प्रतिनिधि सभामा नगिन्द्र शाहीले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष खड्कराज शाही, स्वतन्त्रमा लच्छु चौलागार्इं, राप्रपाका धनबहादुर बुढालगायत आठ जनाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रवेश गर्नेबित्तिकै प्रदेशमा टिकट

नेकपा (एकीकृत समाजवादी)का जिल्ला इन्चार्ज कुर्मराज शाही नेकपा (एमाले) प्रवेश गरेका छन् । नेकपा (एमाले) प्रवेश लगत्तै शाहीले प्रदेश क्षेत्र ‘क’ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा (एमाले) प्रदेश क्षेत्र ‘क’ को टिकट कृष्णप्रसाद आचार्यलाई दिएको थियो । ‘ख’ मा नेकपा (एमाले)का तर्फबाट वीरेन्द्रबहादुर बोगटीले वारेसमार्फत मनोनयन दर्ता गराउनुभएको छ ।

प्रदेश सभा सदस्यमा सत्ता गठबन्धनका तर्फबाट ‘क’ मा नेकपा (माओवादी केन्द्र)का नेता दुर्गबहादुर रावत र ‘ख’ मा नेपाली कांग्रेसका हिक्मतबहादुर विष्टले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँहरूलेसमेत वारेसमार्फत उम्मेदवारी दर्ता गराउनुभएको हो । 

निर्वाचन कार्यालयका सूचना अधिकारी प्रेमप्रकाश थापाका अनुसार प्रतिनिधि सभामा आठ जना र प्रदेश क्षेत्र ‘क’ मा छ जना, ‘ख’ मा नौ जनाको उम्मेदवारी परेको छ ।

प्रदेशमा गठबन्धनलाई बागी 

प्रदेश सभामा सत्ता गठबन्धनकै नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवारी दिएको छ । नेकपा (एस)का जिल्ला अध्यक्ष विश्वराज बलमे प्रदेश क्षेत्र ‘ख’ मा उम्मेदवारी दर्ता गर्नुभएको छ । त्यस्तै ‘ख’ मा पनि सत्ता गठबन्धनको उम्मेदवारविरुद्ध नेकपा (माओवादी केन्द्र)का मानबहादुर भण्डारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

पलाँता गाउँपालिका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बमले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा (एस)का कालीकोट जिल्ला सह–इन्चार्ज तुलाराज सिम्खडाले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्ता गठबन्धनले आफ्नो पार्टीलाई धोका दिएको भन्दै सिम्खडाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो । 

हुुम्ला समाचारदाताका अनुसार पाँच दिनदेखि लगातारको वर्षाले सडक तथा हवाई मार्ग अवरुद्ध भएपछि हुम्लामा मनोनयन दर्ता काठमाडौँस्थित निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालय सुर्खेतबाट गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि अधिकांश उम्मेदवारले काठमाडौँ र सुर्खेतबाट वारेसमार्फत मनोनयन दर्ता गराएका थिए । 

खराब मौसमका कारण हवाई सेवा अवरुद्ध भएपछि उम्मेदवारलाई जिल्ला आउन समस्या भएको थियो । काठमाडौँ र सुर्खेतबाट मनोनयन दर्ता गर्नेमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का छिरिङ डम्डुुल लामा (कार्चेन) र प्रदेश सभा ‘क’मा रणसिंह परियार हुनुहुन्छ । मौसम खराबका कारण तीन दिनदेखि हुम्ला उड्ने प्रतीक्षामा उहाँहरू सुर्खेतमा रहनुभएको थियो । मौसमका कारण हेलिकोप्टर चार्टर गरेर हुम्ला जाने उहाँहरूको प्रयास सफल भएन । सत्ता गठबन्धनकै तर्फबाट प्रदेश क्षेत्र ‘ख’मा नेपाली कांग्रेसका पूर्वमुख्यमन्त्री जीवनबहादुुर शाहीले वारेसमार्फत मनोनयन दर्ता गर्नुभएको छ । 

नेकपा (एमाले)का दलबहादुर रावलले प्रतिनिधि सभा सदस्य पदका लागि वारेसमार्फत मनोनयन दर्ता गराउनुभएको छ । कर्णाली प्रदेशका पूर्वमन्त्री रावलले काठमाडौँबाट वारेसमार्फत मनोनयन दर्ता गर्नुभएको हो । नेकपा (एमाले)का तर्फबाट प्रदेश क्षेत्रको ‘क’मा  दलबहादुर फडेरा र ‘ख’मा छक्कबहादुर लामाले मनोनयन दर्ता गराउनुभएको छ ।

प्रदेश क्षेत्र ‘क’मा नेपाली कांग्रेसका मङ्गलबहादुर शाहीले स्वतन्त्र र ‘ख’मा नेकपा (जनता समाजवादी)का बलीराज शाहीले उम्मेदवारी दर्ता गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

दुल्लु समाचारदाताका अनुसार सङ्घीयमा दुई र प्रदेशमा चार निर्वाचन क्षेत्र रहेको दैलेखमा सात पार्टीले मनोनयन दर्ता गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का अमरबहादुर थापाले मनोनयन दर्ता गर्नुभएको छ । सो क्षेत्रमा नेकपा (एमाले)का तर्फबाट रवीन्द्रराज शर्माले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीकुमारी शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका इन्द्रप्रसाद शर्मा, नेपाल मजदुर किसान पार्टीका प्रकाश गुरुङ र नेपाली कांग्रेस (बीपी)का भूपालबहादुर थापाले प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर १ मा मनोनयन दर्ता गर्नुभएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवारी दर्ता गर्नेमा गोपाल नेपाली, गणेशबहादुर शाही र निरखबहादुर थापा हुनुहुन्छ । क्षेत्र नम्बर १ मा नौ जनाले मनोनयन दर्ता गराउनुभएको छ । 

सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र १ को ‘क’मा नेपाली कांग्रेसका नेता पूर्णबहादुर खत्री र नेकपा (एमाले)का धर्मराज रेग्मीले मनोनयन दर्ता गर्नुभएको छ । त्यस्तै राप्रपाका हृदयराज शाही, नेमकिपाका जगतबहादुर वली र स्वतन्त्र उम्मेदवारका रूपमा त्रितबहादुर खत्रीले मनोनयन दर्ता गर्नुभएको छ ।

क्षेत्र नम्बर १ ‘ख’मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णकुमार बीसी र नेकपा (एमाले)का प्रेमबहादुर थापाले मनोनयन दर्ता गर्नुभएको छ । नेमकिपाका लक्ष्मीकुमारी सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका रणबहादुर सिंह र स्वतन्त्र टेकबहादुर खानले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

दैलेखको निर्वाचन क्षेत्र २ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिक्पालकुमार शाही र नेकपा (एमाले)का लक्ष्मीप्रसाद पोखरेलले मनोनयन दर्ता गर्नुभएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका बखतबहादुर भण्डारी र नेपाल मजदुर किसान पार्टीका केसेन्द्रप्रकाश कार्कीले उम्मेदवारी दिनुभएको छ । निर्वाचन क्षेत्र २ ‘क’मा सत्ता गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका घनश्याम भण्डारी र नेकपा (एमाले)का तिलकप्रसाद रिजालको उम्मेदवारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका यज्ञबहादुर थापा, हाम्रो नेपाली पार्टीका प्रेमबहादुर भण्डारी, नेमकिपाका मदनकुमार भण्डारी र स्वतन्त्र उम्मेदवार चक्रलाल सुनार एवं पुरुषोत्तम रिजालको उम्मेदवारी परेको जनाइएको छ ।

निर्वाचन क्षेत्र २ ‘ख’मा नेकपा (एमाले)का विनोदकुमार शाह, सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का योगेन्द्रबहादुर शाही, नेमकिपाका जयबहादुर थापा, राप्रपाका ज्ञानेन्द्रबहादुर शाही र स्वतन्त्र राजेशकुमार शाहीको उम्मेदवारी परेको जनाइएको छ ।