• ११ असोज २०८१, शुक्रबार

पाँचथरमा उम्मेदवारी दर्ता उत्साहप्रद, ठूला दलसहित स्वतन्त्रको उम्मेदवारी

blog

फिदिमस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि पुगेका नेता तथा कार्यकर्ता । तस्बिर : गोरखापत्र

राधा लुइँटेल

फिदिम, असोज २३ गते । पाँचथर जिल्लाका राजनैतिक दलहरुले मङ्सिर ४ गते हुने प्रदेश प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उत्साहजनक रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

सत्तारुढ गठवन्धन दल, नेकपा एमाले, जनता समाजवादी पार्टी, राप्रपा, राप्रपा नेपाल, जनता समाजवादी पार्टी, जनमुक्ती पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन र सङ्घीय लिम्बुवान मञ्च लगायतका दलसहित स्वतन्त्र उम्मेदववारले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले बताउनुभयो ।

सत्तारुढ गठवन्धनबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री भीष्मराज आङदेम्वेले उम्मेदवारी दर्ता गर्नुभएको छ । उक्त गठबन्धनले प्रदेश सभा ‘क’ मा नेकपा एसका कमलप्रसाद जवेगु र प्रदेश सभा ‘ख’ मा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्वो (मौसम)को उम्मेदवारी दर्ता गराएको छ । 

यस्तै नेकपा एमालेले प्रतिनिधि सभा सदस्यका लागि केन्दीय सदस्य तथा पूर्व भौतिक योजना तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको उम्मेदवारी दर्ता गराएको छ । उक्त पार्टीको तर्फबाट प्रदेश सभा ‘क’ मा राजकुमार भण्डारी र ‘ख’ मा आइन्द्रसुन्दर नेम्वाङको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

पाँचथरबाट प्रतिनिधि सभा सदस्यका लागि दलबहादुर आङदेम्वे र एलबी पालुङवाले उम्मेदवारी दिनुभएको छ । यस्तै प्रदेश निर्वाचन क्षेत्रतर्फ नेपाली कांग्रेसका नेता तथा फालेलुङ गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङले स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको छ । 

यस्तै प्रदेश सभा ‘ख’ मा पनि कांग्रेसकै पुराना नेता खड्गसुन्दर लावतीको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । नेकपा मालेका पोलिटव्युरो सदस्य दिनानाथ घिमिरेले पनि प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।