• ९ मंसिर २०८१, आइतबार

नवौं राष्ट्रिय खेलकुद

महिला क्रिकेटमा मधेस र बागमतीको विजयी सुरुवात

blog

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको उद्घाटन गरिँदै ।

काठमाडौं, असोज २३ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा मधेस प्रदेश र बागमती प्रदेशले विजयी शुरुवात गरेका छन् । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आइतबारदेखि सुरु भएको प्रतियोगिताकाे उद्घाटन खेलमा मधेशले गण्डकी प्रदेशलाई ४० रनले हरायो । अर्को खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले स्तब्ध बनायो । 

मधेश प्रदेशले दिएको ७८ रनको विजय लक्ष्य पछ्याएको गण्डकी १९ ओभरमा सबै विकेटको क्षतिमा ३७ रनमा समेटिएको थियो । गण्डकीका लागि शिला क्षेत्रीले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् ।

गण्डकीलाई सस्तैमा समेट्न मधेशका अनुराधा चौधरीले चार विकेट लिनुभयो । कविता गौतम र शान्ती चौधरीले समान दुई दुई तथा सन्तोषी चौधरीको एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ७७ रन बनायो ।

मधेसका लागि सरस्वती कुमारी चौधरीले अविजित १५, साना प्रविन र अलिशा यादवले समान १४/१४ रन बनाउनुभयो । बलिङमा गण्डकीका लागि आकृति तिवारीले तीन विकेट लिनुभयो । कुसुम गोदारले दुई तथा शृष्टि जैसी र शिला क्षेत्रीले एक एक विकेट लिनुभयो । 

यसैगरी अर्को खेलमा सूदुरपश्चिम प्रदेशले दिएको ७२ रनको विजय लक्ष्य बागमतीले १३.१ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । बागमतीको जितमा कन्चन श्रेष्ठले सर्वाधिक २५ रन बनाउनुभयो । सुमन खतिवडाले अविजित ११ रन बनाउनुभयो । सूदुरपश्चिमका लागि यसु पाण्डेले एक विकेट लिनुभयो । 


यसअघि पहिले ब्याटिङ गरेको सूदुरपश्चिमले १८.२ ओभरमा सबै विकेटको क्षतिमा ६१ रन बनाएको थियो । सूदुरपश्चिमका लागि अनु कडायतले २२ र रुबी पोदारले १२ रन बनाउनुभयो । बागमतीका लागि सोनी पाख्रिन एक्लैले पाँच विकेट लिनुभयो । खुशी डङ्गोलले दुई विकेट झार्नुभयो । महिला क्रिकेटमा नौ टोलीको सहभागिता छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सूदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेका छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश छन् ।

समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । महिला क्रिकेट पाँच दिन अगाडि सुरु गरिएको हो । पुरुष क्रिकेट यसअघि नै सम्पन्न भइसकेको छ।