• ११ असोज २०८१, शुक्रबार

राप्रपा नेत्री रेखा थापाद्वारा उम्मेदवारी दर्ता

blog

मोरङको क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि राप्रपा नेपालको तर्फबाट उम्मेदवारी दर्ता गराउँदै नायिका रेखा थापा । तस्बिरः गोपाल काफ्ले/रासस

काठमाडौं, असोज २३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेत्री रेखा थापाले मङ्सिर ४ मा हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मनोनयन दर्ता गराउनुभएको छ ।

आइतबार बिहान ११ः२७ बजे नेत्री थापाले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो ।

नेत्री थापाको प्रस्तावकमा  भोला गौतम र समर्थकमा परशुराम सुवेदी हुनुहुन्छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग बोल्नुहुँदै नेत्री थापाले आफ्नो क्षेत्रमा परिवर्तन गर्नका लागि आफू आएको बताउनुभयो ।

उहाँले मोरङ–३ ले २० वर्षको अन्तरालमा कहिल्यै विकल्प नपाएको भन्दै अब विकल्पको रूपमा युवाशक्ति बनेर आफू निर्वाचनका लागि तयारी भएको बताउनुभयो । मोरङ–३ बाट आफ्नो जित सुनिश्चित रहेको भन्दै मात्र निर्वाचनको प्रतिक्षमा आफू रहेको उहाँ बताउनुहुन्छ ।

नेत्री थापाले भन्नुभयो, ‘‘मैले साइत हेरेर नै दर्ता गराएको हो । मोरङले कहिल्यै विकल्प पाएन, यहाँबाट चुनिएका नेताहरूले दुनो सोज्याएका छन् । यसको विकल्पको रूपमा म आएको हो । युवा नेतृत्व मैले गर्न सक्छु भनेर विकल्प दिन आएको हुँ । जित सुनिश्चित छ, मात्र निर्वाचन कुरिरहेको हो, यो यहाँका बासिन्दाको अनुहारमा उत्साह देख्दा थाहा हुन्छ ।’’

उहाँसँगै प्रदेश सभा सदस्य ३ (क) मा तीर्थ गुरुङ र ३ (ख) मा रमेश रिजालले सामूहिक रूपमा मनोनयन दर्ता गराउनुभयो । तीर्थ गुरुङको प्रस्तावकमा युवराज न्यौपाने र समर्थकमा  रिशिकेश  घिमिरे हुनुहुन्छ भने रमेश रिजालको  प्रस्तावक जयप्रसाद सिटौला र समर्थकमा बाघदल अधिकारी रहनुभएको छ ।

विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा मोरङ ३ बाट एमालेका भानुभक्त ढकाल निर्वाचित हुनुभएको थियो ।

एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका उम्मेदवार ढकालले ४२ हजार ४१३ मत प्राप्त गरेर निर्वाचित हुनुभएको थियो भने नेपाली कांग्रेसका सुनिल शर्माले ४० हजार ५०६ मत प्राप्त गरेर दोस्रो बन्नुभएको थियो ।

गत निर्वाचनमा यो क्षेत्रमा राप्रपाका कमलबहादुर गुरुङले २६८ मतमात्र पाउनुभएको थियो । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मङ्सिर ४ गतेका लागि तोकिएको छ ।