• १२ असार २०८१, बुधबार

कर्णालीका अधिकांश सडक अवरुद्ध, घर भत्किएर सात जनाको मृत्यु

blog

कर्णाली प्रदेश ब्युरो 

सुर्खेत, असोज २३ गते । दशैँको नवमी (मङ्गलबार)देखिको वर्षापछि पहिरो जाँदा कर्णाली प्रदेशमा सात जनाको मृत्यु भएको छ । पहिरोका कारण बाटो अवरुद्ध हुँदा दशैँमा घर पुगेका कार्यस्थलमा फर्कन समस्यामा परेका छन् । 

लगातारको वर्षाले कर्णालीको जीवन कष्टकर बन्दै गएको छ । पानी पर्ने क्रम शनिबार पनि जारी छ । दशैँका बेला पानी पर्दा टीका लगाउन गाउँगाउँ पुग्नेहरू अलपत्र परेका छन् । कर्णालीका प्रमुख राजमार्ग अवरुद्ध छन् । हुम्लामा असोज महिनामै हिमपात भएको छ । पहाडी जिल्लामा पहिरो गएर बालीनालीसमेत नष्ट भएको छ । 

कनकासुन्दरीमा सात जनाको मृत्यु

जुम्ला समाचारदाताका अनुसार जुम्लामा शनिबार गएको पहिरोमा परी सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जिल्लाको कनकासुन्दरी गाउँपालिका–५, बारकोटेबाडाका गणेश शाहीको घरमा पहिरो खस्दा सात जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मृत्यु हुनेमा ५५ वर्षीय गणेश शाही, २२ वर्षीय रमेश शाही, २२ वर्षीया पानसरा शाही, आठ वर्षीय अनमोल शाही, मिलन शाही, छिमेकी सुरेन्द्र हमाल र २५ वर्षीया विद्या शाहीको मृत्यु भएको छ । सो घटनामा स्थानीय सरस्वती हमाल र रामबहादुर हमाल घाइते हुनुभएको छ । 

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार घटनास्थल पुगेलगत्तै प्रहरी उद्धार कार्यमा जुटिरहेको छ । टेलिफोन सेवा अवरुद्ध भएको छ । स्थानीय बासिन्दा प्रकाश उपाध्यायका अनुसार बाढीले गोठिज्युला बजार जलमग्न छ । मृतकको पोस्टमार्टम गर्न बाटो खराबीका कारण मेडिकल टोली पुग्न नसकेको जनाइएको छ ।

राष्ट्रिय समाचार समितिका अनुसार जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भन्नुभयो, “बिहान ४ बजे पहिरोले घर पुरिएको खबर प्राप्त भएको छ, घर पुरिँदा सबै जना सुतिरहेका रहेछन्, उम्किनै पाएनन् ।” उहाँले भन्नुभयो, “प्रहरी र स्थानीयवासीले सातै जनाको शव निकालेका छन्, घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ ।”

जुम्लामा निरन्तर वर्षा भइरहेको छ । घटनास्थलमा पुग्ने सडक सबै भत्किएको छ । जिल्ला सुरक्षा समितिको टोली पैदल घटनास्थलतर्फ जाँदै गरेको डीएसपी चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सबै बाटोमै छौँ, सडक बनाउँदै अघि बढ्दै गरेको अवस्था हो ।” उहाँले भन्नुभयो, “साँझसम्म घटनास्थलमा पुग्ने आश गरेका छौँ ।” सदरमुकामबाट चिकित्सकसमेत साथमा लिएर जान लागेको डीएसपी चन्दले जानकारी दिनुभयो । वर्षाका कारण जिल्लाभरि टेलिफोन सेवासमेत अवरुद्ध भएको उहाँको भनाइ छ । 

आमाछोरा बेपत्ता

बाढीपहिरोमा परी हिमा गाउँपालिकामा आमाछोरा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हिमा गाउँपालिका–३, जोगीबाडामा बाढी पस्दा स्थानीय २५ वर्षीया सत्यदेवी योगी र उहाँका तीन वर्षीया छोरा विनम योगी बेपत्ता हुनुभएको छ । उहाँहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीय खम्वा शाहीका अनुसार सिञ्जा क्षेत्रका विभिन्न क्षेत्रमा क्षति भएको छ । मार्सी धानमा ठूलो मात्रामा क्षति पुगेको छ । सिञ्जा क्षेत्रका धेरैजसो काठेपुल बगाएको छ । काठेपुल बगाउँदा आवतजावतमा समस्या भएको छ ।

राजमार्ग अवरुद्ध

पहिरोले कर्णाली राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जुम्ला खण्ड तिला गाउँपालिकाको गाडगडेनीमा पहिरो गएको छ । सो पहिरो शुक्रबारदेखि हटाउन सडक डिभिजन कार्यालय जुम्लासहित सुरक्षा निकाय खटिएको छ । यसैगरी नाग्म–गमगढी राजमार्ग पनि अवरुद्ध भएको छ । नाग्म–गमगढी राजमार्ग हिमा गाउँपालिकाअन्तर्गतको भूगोलपाटामा पहिरो आएर बन्द भएको छ । पहिरो पन्छाउन तयारी भइरहेको जनाइएको छ ।

राष्ट्रिय समाचार समितिका अनुसार अविरल वर्षाका कारण कर्णाली प्रदेशका मुख्य राजमार्ग अवरुद्ध भएका छन् । प्रदेशका विभिन्न राजमार्गअन्तर्गत लगभग २० ठाउँमा बाढीपहिरो जाँदा सडक अवरुद्ध भएको हो । 

प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधव श्रेष्ठका अनुसार कर्णाली राजमार्ग मात्रै १० ठाउँमा अवरुद्ध भएको छ । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डाविन्द्रासैनी नगरपालिका–८ बादुका, दुल्लु नगरपालिका–२ को बरबारेभीर, कालीकोटको तिलागुफा नगरपालिका–१ को गाडगोडेनी र बालुवा, वडा नं. ३ को राँचुली, वडा नं. ५ को धनडाँ, खाँडचक्र नगरपालिका–१ को सुनारखोला, वडा नं. २ को ज्यानमाराभीर र वडा नं. ३ को खरीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

त्यस्तै छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सुर्खेतको गुर्भाकोट–९ को पोखरे, सुर्खेतकै सिम्ता गाउँपालिका–४ को बालीखोला र जाजरकोटको भेरी नगरपालिका–१० को कालाभुरमा पहिरोले सडक अवरुद्ध भएको छ । रातानाङ्ला–धरमपोखरा सडकखण्डको वीरेन्द्रनगर–१३ को राउते गल्छी, सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत गुराँस गाउँपालिकाको रातिखोला र चोचेखोलामा पनि सडक अवरुद्ध छ ।

यसैगरी बोटेचौर–दाङ सडकखण्डअन्तर्गत गुर्भाकोट नगरपालिका–१ को काल्चे, बोटेचौर सल्यान सडकखण्डको गुर्भाकोट–३ को भुजेल र राप्ती राजमार्गअन्तर्गत रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–३ को खारानेटामा पनि सडक अवरुद्ध भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । “अवरुद्ध सडक खुलाउन प्रहरी, स्थानीयवासी र जनप्रतिनिधि सक्रिय हुनुहुन्छ । यद्यपि पानी परिरहेका कारण पहिरो पन्छाउन समस्या भएको छ”, उहाँले भन्नुभयो ।

हिमपातले बाटो बन्द

हुम्ला समाचारदाताका अनुसार बिहीबार रातिबाट हुम्लामा हिउँ परेको छ । यस वर्ष असोजमै हिउँ परेको हो । हिउँ पर्न सुुरु भएपछि हिमालपारिको गाउँ लिमी जाने बाटो बन्द भएको छ । लिमी जाने पाँच हजार मिटर अग्लो न्यालुु लेकमा तीन फिटभन्दा बढी हिमपात भएको छ । नाम्खा गाउँपालिका–६ को लिमी हल्जी गाउँका कोन्ज्योक निमा तामाङले लिमी गाउँ प्राकृतिक बन्दाबन्दीमा परेको बताउनुुभयो । 

उहाँले दुुई दिनदेखि हिउँ परिरहेकोले न्यालुु लेकमा तीन फिटभन्दा बढी हिमपात जमेको र अझै हिमपात भइरहेका कारण अब लिमीबाट बाहिर जान र लिमी आउन नसकिने बताउनुभयो । बिहीबार रातिबाट परेको वर्षापछि लिमीमा यस वर्षको दोस्रो पटक हिमपात सुुरु भएको हो । लिमी वडाध्यक्ष पाल्जोर तामाङले दुुई दिनदेखि सुुरु भएको हिमपात अहिले पनि जारी रहेको जानकारी दिनुुभयो ।

लिमीका तीनवटै गाउँ तील, हल्जी र जाँङमा हिउँ परेका कारण सेताम्मे देखिएका छन् । लिमीका यी गाउँ चार हजारदेखि चार हजार दुुई सय मिटर उचाइमा छन् ।

हिउँ परेपछि अग्ला पाटनमा पालनका लागि लगिएका चौँरीगाईलाई समस्या भएको छ । तील गाउँ जोड्ने लिमी कर्णाली नदी माथि बन्दै गरेको गाडी चल्ने काठेपुलको निर्माण कार्य पनि रोकिएको छ । लाप्चा, तुम्लिङ, ताक्ची क्षेत्रमा पनि हिमपात भई रहेको छ भने लिमी जाने बाटो पर्ने पाँच हजार मिटर अग्लो न्यालुु लेकमा पनि बाक्लो हिमपात जमेका कारण सडक अवरुद्ध भएको छ । प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले हिल्सा, यारी, लिमीको सुुनखानीमा पनि हिमपात भइरहेको जानकारी दिनुुभयो । 

कर्णाली राजमार्गमा पहिरैपहिरो

छिन्चु समाचारदाताका अनुसार वर्षासँगै पहिरो झरेपछि कर्णाली प्रदेशका विभिन्न पहाडी र हिमाली जिल्ला जोड्ने राजमार्ग अवरुद्ध भएका छन् । 

बुधबारदेखि जारी अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग र ग्रामीण सडक अवरुद्ध भएका हुन् । जसका कारण यात्रुको बिचल्ली भइरहेको छ । प्रदेश ट्राफिक कार्यालयका अनुसार प्रदेश राजधानी वीरेन्द्रनगरसँग जोड्ने सबै ठूला राजमार्ग तथा सडक पहिरोका कारण बन्द भएका छन् । प्रदेश ट्राफिक कार्यालयका डीएसपी भीम खड्काका अनुसार कोहलपुर–सुर्खेत रत्न राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । रत्न राजमार्गको बीचमा पर्ने ब्युरेनी भन्ने ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । दैलेख दुल्लु नगरपालिका–३, बोतखोला भन्ने ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध हुँदा दशैँ मनाएर फर्कने यात्रु बाटोमा अलपत्र परेका छन् । कर्णाली राजमार्ग अवरुद्ध हुँदा दैलेख, कालीकोट, जुम्ला, मुगु र अछामका नागरिकको आवतजावत बन्द भएको प्रहरीले जनाएको छ । 

यस्तै कर्णाली राजमार्गको जुम्लाको तिला गाउँपालिका–१ गाडगोडेनी, कालीकोटको खाँडाचक्र नगरपालिका–१ सुनार खोलामा र दैलेखको साङ्गेतडा पादुका र पालीमा पहिरोका कारण सडक पुरिएको छ । वीरेन्द्रनगर, गुराँसे हुँदै दैलेख सदरमुकाम जोड्ने सडकखण्ड पनि अवरुद्ध भएको छ । उक्त राजमार्ग बिहीबार नै अवरुद्ध बनेको हो । दैलेखको गुराँस गाउँपालिका–४, लोहा खोलामा पहिरो गएको छ । यस्तै अन्य तीन ठाउँमा पनि पहिरोले सडक पुरेको छ ।  

वीरेन्द्रनगर नगरपालिका–१६, रातानाङ्लादेखि धरमपोखरा जाने  सडक, वीरेन्द्रनगर–तरङ्गा जोड्ने ग्रामीण सडक पनि बर्सातका कारण अवरुद्ध भएका छन् । सडक खुलाउने प्रयास भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

भासियो राप्ती राजमार्ग

मुसीकोट समाचारदाताका अनसार लगातारको वर्षाका कारण राप्ती राजमार्गको रुकुमपश्चिम खण्ड भासिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–६, डाँगीमोड नजिक राजमार्ग भासिएको हो । मुसीकोट–झुल्नेटा–सल्यान सडकखण्डअन्तर्गत डाँगीमोड नजिक करिब २२ मिटर सडक पहिरोसँगै भासिएको रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो । लगातारको वर्षाले शुक्रबार दिउँसो सडक भासिएपछि राजमार्गमा यातायात बन्द भएको छ । प्रजिअ घिमिरेले सडक डिभिजन कार्यालयसँग समन्वय गरेर वैकल्पिक बाटो निर्माण गर्ने तयारी भइरहेको बताउनुभयो । पानी नरोकिएकाले काम भने सुरु हुन सकेको छैन । 

लगातारको वर्षाका कारण आएको पहिराले त्रिवेणी गाउँपालिका–६ का विभिन्न स्थानमा क्षतिसमेत भएको छ । वडाध्यक्ष भद्रबहादुर सिर्पालीका अनुसार पहिरोमा परेर स्थानीय राजेन्द्र पुनका पाँचवटा ब्याउने बाख्रा मरेका छन् । सोही वडाको बाँठाकोटमा पहिरो आउँदा स्थानीय पदमबहादुर घर्तीको दुईतले घर पुरिएको छ । पहिरोले घरमा बाँधेर राखेको एउटा बाख्रा र १५ वटा कुखुरा मरेका छन् । पीडित परिवारले अहिले आफन्तको घरमा शरण लिएको बताइन्छ ।

मङ्गलबारदेखि रुकुममा विद्युत् सेवा अवरुद्ध भएको छ । विभिन्न स्थानमा गएको पहिरो र ढलेका रुखका कारण विद्युत्का पोल र तारमा क्षति भएकोले विद्युत् लाइन प्रसारण हुन नसकेको विद्युत् प्राधिकरण कार्यालय रुकुम वितरण केन्द्रले जानकारी दिएको । 

विद्युत् सेवा बन्द

कालीकोट समाचारदाताका अनुसार वर्षाले गर्दा कालीकोट जिल्लामा बिहीबार बिहानदेखि विद्युत् सेवा पूर्ण रूपमा बन्द भएको छ । बिहीबार बिहानबाट बन्द भएको विद्युत् सेवा सुरु गराउने प्रयास जारी छ । यद्यपि कहाँ ‘फल्ट’ छ भन्ने यकिन नभएको कालीकोट वितरण केन्द्रले जनाएको छ । कालीकोट वितरण केन्द्रका प्राविधिक प्रकाश शाहीले कालीकोट खण्ड र जुम्ला खण्डमा लाइन सुरु भए पनि विद्युत् आयात हुने लाइन दैलेखमा समस्या देखिएको बताउनुभयो । उहाँले दैलेखका धेरै ठाउँमा जाँच भए पनि कहाँ खराब छ भनेर प्राविधिक टोलीले यकिन गर्न नसकेको जानकारी दिनुभयो । 

विद्युत् सेवा बन्द हँुदा जिल्लाका सबै सामुदायिक रेडियो बन्द भएका छन् । निरन्तर पानी परिरहेकाले सोलार सिस्टमले समेत काम गर्न छोडेको जनाइएको छ । विद्युत् पनि बन्द भएकाले सञ्चारमाध्यमसमेत बन्द भएका छन् । विद्युत् सेवा सुरु नभएमा नेपाल टेलिकमको मोबाइल र ल्यान्ड लाइन सेवा पनि बन्द हुने नेपाल टेलिकमले जनाएको छ । नेपाल टेलिकम कालीकोटका प्रमुख प्रेम विष्टले घाम नलागेकाले सोलारले काम गर्न छोडेकाले ‘ब्याकप पावर’मा अहिलेसम्म चले पनि केही घण्टाभित्र विद्युत् नआएमा सबै सेवा बन्द हुने बताउनुभयो । 

यस्तै वर्षाले जनजीवन कष्टकर बनेको छ । दशैँको टीका थाप्ने शुभ साइतको केही समय पछिबाट सुरु भएको वर्षा अझै नरोकिँदा जनजीवन कष्टकर बनेको हो । प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले अहिलेसम्म ठूलो पहिरो नआए पनि कच्ची सडकमा सानातिना समस्या रहेको बताउनुभयो । 

बर्सातले गर्दा पशुपालक पनि समस्यामा परेका छन् । रास्कोट नगरपालिका–२ का भेडापालक रङ्ग खड्काले लगातारको पानीले गर्दा भेडा चराउन समस्या भएको बताउनुभयो ।

सुर्खेतको तल्लो तटीय क्षेत्र डुबान

सुर्खेत समाचारदाताका अनुसार लगातारको वर्षाले कर्णाली प्रदेश राजधानी सुर्खेतको तल्लो तटीय क्षेत्र डुबानमा परेको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नं. २, ३, १० र ११ को तल्लो तटीय क्षेत्र डुबानमा परेको हो । सुर्खेत उपत्यकाको पानी निकास हुने निकास खोला सानो भएका कारण पानीको सतह बढ्दै गएको थियो । शुक्रबार दिनभरजसो डुबान भएको उक्त क्षेत्र रातिदेखि पानीको सतह घटेको थियो । मानवीय र भौतिक क्षति नभए पनि सर्वसाधारण बेलैमा सुरक्षित स्थानमा गएका थिए । 

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले उद्धारका लागि जनपद प्रहरी, सशस्त्र प्रहरीको टोली डुबान क्षेत्रमा तैनाथ गरिएको बताउनुभयो । यद्यपि बर्सात जारी रहेकोले सुरक्षित रूपमा रहन सबैलाई आग्रह गरिएको उहाँले जनाउनुभयो ।