• १२ साउन २०८१, शनिबार
blog

काठमाडौँ, असोज २३ गते ।प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता आइतबार हुँदै छ । राजनीतिक दलका नेता र स्वतन्त्र राजनीतिक अभियन्ताले पाँच वर्षको प्रतीक्षापछि जनताबाट अनुमोदित हुने अवसरका रूपमा प्रत्यक्षतर्फको उम्मेदवारी (मनोनयनपत्र) दर्ता गर्नुहुनेछ । 

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आइतबार बिहान १० देखि साँझ ५ बजेभित्र गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि आइतबार मनोनयनपत्र पेस गर्नुपर्नेछ । राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले निर्धारित समयमा आवश्यक कागजपत्रसहित उपस्थित भएर उम्मेदवारी मनोनयनपत्र दर्ता गर्नुहुनेछ ।”

सम्बन्धित उम्मेदवारले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर उम्मेदवारी मनोनयनपत्र दर्ता गर्नुपर्नेछ । उहाँका अनुसार उम्मेदवार स्वयं उपस्थित भएर वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट मनोनयनपत्र दर्ता गर्न सकिनेछ ।

निर्वाचन आयोगले बाढी, पहिरो तथा यातायात अवरोधका कारण कुनै समस्या परेमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सहजीकरण गरिने बताएको छ । आयोगले आइतबार बिहान १० बजेभित्र निर्वाचन आयोगमा कागजात उपलब्ध गराएमा आवश्यक सहजीकरण गरिदिने व्यवस्था मिलाइएको जानकारी दिएको छ । प्रत्यक्षतर्फ देशभरिका कुल १६५ प्रतिनिधि सभा र ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गरिनेछ । आगामी निर्वाचनमा भाग लिन ७६ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका थिए । विभिन्न राजनीतिक दलले एउटै चुनाव चिह्न लिएर चुनावमा जाने भएपछि दलहरूका लागि ६८ वटा चिह्न निर्धारण गरिएको छ । 

उम्मेदवार चयनका लागि शनिबार अबेरसम्म पनि विभिन्न राजनीतिक दलबीच बैठक जारी रहेको थियो । सत्ता साझेदार नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीसहितका दलबीच चुनावी तालमेल हुनेछ । गठबन्धनका तर्फबाट साझा उम्मेदवारले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिनेछन् । 

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी नेपालसहित प्रमुख प्रतिपक्षी दलको नेतृत्वमा रहेको गठबन्धनले पनि केही क्षेत्रमा साझा उम्मेदवार उठाउनेछ । अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी दर्ताको तयारी अन्तिम चरणमा पु¥याएका छन् । उम्मेदवारको टिकटका लागि काठमाडौँ आएका नेताहरू शनिबार सम्बन्धित जिल्ला फर्किएका छन् । 

निर्वाचन आयोगले प्रत्यक्षतर्फ निर्वाचन प्रयोजनका लागि ७७ स्थानमा मुख्य निर्वाचन अधिकृत र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । यस पटक एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताको नामावली सङ्कलन गरिएको आयोगले जनाएको छ । 

पुरुष मतदाता ९१ लाख ४० हजार ८०६ र महिला मतदाता ८८ लाख ४७ हजार ५७९ रहेको आयोगको तथ्याङ्कमा उल्लेख छ । 

निर्वाचनका लागि १० हजार ८९२ मतदानस्थल तोकिएको छ । जसमा २२ हजार २२७ मतदान केन्द्र कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।