• १६ भदौ २०८१, आइतबार

सबै एक भएर नवौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न आग्रह

blog

नवौं राष्ट्रिय खेलकुदको तयारी बारे छलफलमा सहभागीहरु । तस्बिर : राखेप

काठमाडौं, असोज २२ गते । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले सबै एक भएर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न आग्रह गर्नुभएको छ ।

गण्डकी प्रदेशको पोखरामा यही असोज २८ देखि कार्तिक ३ गतेसम्म आयोजना हुने प्रतियोगताका लागि गठित विभिन्न उपसमितिका संयोजक तथा सचिवहरुको पोखरामा भएको बैठकलाई सम्बोधन गर्ने क्रममा सदस्य सचिव घिसिङले उक्त आग्रह गर्नुभएको हो । 

विभिन्न उपसमितिका कार्यहरुको प्रगती विवरणको जानकारी लिने क्रममा आयोजना गरिएको बैठकमा सदस्य सचिव घिसिङले सबैको सहयोग र सहकार्यले मात्र राष्ट्रिय प्रतियोगिता सफल हुने बताउनुभयो । 

विविध कारणले भौतिक रुपमा बैठकमा उपस्थित हुन नसकेका उपसमितिका संयोजक र सचिवहरुका लागि जुम मार्फत बैठकमा सहभागिता जनाउन सहज गरिएको बैठकमा सबैले आआफ्नो कार्यको प्रगती विवरण प्रस्तुत गरेका थिए ।

सदस्य सचिव घिसिङले प्रतियोगिताको अभियानमा जुट्न पोखरेलीहरुसँग आग्रह समेत गर्नुभएको छ । शनिबार पोखरामा विभिन्न संघ संस्थाहरुसँगको अन्तक्रिया कार्यक्रममा सदस्य सचिव घिसिङले उक्त आग्रह गर्नुभएको हो ।

“हामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिातको संघारमा छौं । गण्डकी प्रदेश आयोजक प्रदेश भएको नाताले पनि प्रतियोगिता सफल बनाउने जिम्मेवारी यहाँहरुको काँधमा छ,” उनले भने–“म गण्डकी प्रदेशवाशीलाई यो अभियानमा जुट्न आग्रह गर्दछु ।”

नेपालको खेलकुद ऐन कार्यान्वयन भए संगै संघीयताको मोडलमा पहिलो पटक नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भइरहेको बताउँदै सदस्य सचिव घिसिङले पनि यो प्रतियोगिताको महत्व छुट्टै रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो–“हामी नयाँ खेलकुद विकास ऐनको जगमा उभिएर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्दैछौंं त्यसैले पनि यसको महत्व र मर्म बारे बुझ्न आवश्यक छ ।” नवौं राष्ट्रिय प्रतियोगिताको अन्तिम तयारी भइरहेको बताउँदै यहाँ आउने खेलाडीहरुलाई न्यानो आतिथ्यताको सन्देशको छाप छोड्न पनि उहाँको आग्रह थियो ।

असोज २३ गते बाट नै औपचारिक रुपमा नवौं राष्ट्रिय खेलकुदका प्रतियोगिताहरुको सुरुवात हुने जानकारी दिँदै सदस्य सचिव घिसिङले असोज २८ गतेको उद्घाटन समारोह तथा कार्तिक ३ गते हुने समापन समारोहमा पोखरा रंगशालामा आउन खेलाडीहरुलाई आग्रह गर्नुभयो । 

नवौं राष्टिय प्रतियोगिता अन्तर्गत हुने खेलहरु अवलोकनका लागि कुनै टिकटको व्यवस्था नगरिए पनि भलिबल र फुटबलको सेमिफाइनल देखिका खेलहरुको भने टिकटको व्यवस्था गर्न लागिएको बताईएको छ । 

प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता ३९ वर्ष छि पुनः गण्डकीले आयोजना गर्न पाउनु गौरवको कुरा रहेको बताउँदै यसको सफलतामा पोखरेलीहरुको पनि उत्तिकै ठूलो सहयोग र सहभागिता रहेको बताउनुभयो । 

कार्यक्रममा पोखराका विभिन्न वडाहरुमा आयोजना हुने वडाहरुका वडाध्यक्षहरु, उद्योगी र पर्यटन व्यवसायीहरु, विभिन्न संघ–संस्था, प्याब्सन, एनप्याब्सन, हिसान, वित्तिय संस्थाका प्रतिनिधीलगायतको सहभागिता रहेको थियो ।