• ११ असोज २०८१, शुक्रबार

ताप्लेजुङमा भट्टराई र बुढाक्षेत्रीबीच प्रतिस्पर्धा हुने

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज २२ गते । प्रतिनिधिसभा सदस्य ताप्लेजुङमा नेकपा (एमाले) सचिव योगेशकुमार भट्टराई र माओवादी केन्द्रका केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्रीबीच प्रतिस्पर्धा हुनेभएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा भट्टराई र बुढाक्षेत्रीले प्रतिनिधिसभा सदस्यका लागि टिकट पाएसँगै उहाँहरुबीच प्रतिस्पर्धा हुनेभएको हो ।

प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा एमालेले सचिव भट्टराईलाई टिकट दिएको छ । यस्तै, सत्ता गठबन्धनको सिट बाँडफाँडमा प्रतिनिधिसभातर्फ माओवादी केन्द्रको भागमा परेपछि जिल्ला इन्चार्जसमेत रहनुभएका बुढाक्षेत्रीले टिकट पाउनुभएको छ । 

ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका लागि भट्टराईले दोस्रो पटक टिकट पाउनुभएको हो । बुढाक्षेत्री भने गठबन्धनको साझा उम्मेदवारका रूपमा पहिलो पटक चुनावमा प्रत्याशी बन्दै हुनुहुन्छ । त्यस्तै प्रदेशसभा सदस्यमा गठबन्धनतर्फ निर्वाचन क्षेत्र १ (क) एकीकृत समाजवादी र निर्वाचन क्षेत्र १ (ख) नेपाली कांग्रेसको भागमा परेको छ । 

एकीकृत समाजवादीको भागमा परेको क्षेत्र १ (क) मा उम्मेदवार टुङ्गो लाग्न बाँकी नै छ भने (ख) मा कांग्रेसका खगेनसिंह हाङ्गामले टिकट पाइसक्नुभएको बुझिएको छ । एमालेले निर्वाचन क्षेत्र १ (क) मा पोलिटब्यूराे सदस्य तिलकुमार मेन्याङ्बो र (ख) मा जिल्ला उपसचिव मणिशङ्कर पोमूले उम्मेदवारको टिकट पाउनुभएको छ ।