सिराज खान
नेपालगञ्ज, असोज २१ गते । बाँकेको पूर्वी क्षेत्रका तीन पालिकालाई छोएर बग्ने राप्ती नदीमा यस वर्षकै ठूलो बाढी आएको छ । तीन दिनदेखि भइरहेको अविरल वर्षाले गर्दा नदीको सतह पहिलो पटक हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
जिल्लाको कुसुमस्थित राप्ती नदीमा पानीको सतह ८ मिटर ५५ सेन्टिमिटर पार गरेको छ । बाढी मापन केन्द्रका अनुसार शुक्रवार बेलुकी नदीको सतह खतराभन्दा माथि पुगेकाले नदी वरिपरिका क्षेत्रका बासिन्दालाई सतर्क रहन सचेत गराइएको छ ।
राप्ती नदीमा ठूलो बाढी आएको र अझै पनि वर्षा निरन्तर भइरहेकाले राप्ती नदी तटीय क्षेत्रमा पर्ने डुडुवा, राप्तीसोनारी र नरैनापुरका बासिन्दालाई तत्काल गाउँ छाडेर अग्लो स्थानमा जान विपद् व्यवस्थापन समितिले शुक्रवार बेलुकी आग्रह गरेको छ ।
एक सूचना प्रकाशित गरेर तथा तीन वटै पालिका र विभिन्न सञ्चार माध्यमलाई खबर पठाएर विपद् व्यवस्थापन समितिले तत्काल तटीय क्षेत्रका गाउँबस्ती खाली गर्न आग्रह गरेको हो ।
विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले पानीको सतह ८ मिटर ५५ सेन्टिमिटर पार गर्नु भनेको अति नै ठूलो बाढी आउनु हो भन्दै सो बाढी तल डुडुवासम्म पुग्न करिब पाँच घण्टा लाग्ने भएकाले राति बाढी गाउँमा पस्न सक्ने बताउनुभयो ।
खतराको साइरन निरन्तर बजाइएको र विभिन्न ठाउँमा रहेका सुरक्षा युनिटलाई गाउँ बस्ती खाली गराएर सुरक्षित स्थानमा लैजान निर्देशन दिइएको उहाँले बताउनुभयो । बाढीले होलिया, बेतहनी, चौफेरी, पाँझा, लगायतका दर्जनौँ गाउँ प्रभावित हुन सुरु भएको र अहिलेको बाढी तल पुग्दासम्म अन्य दर्जनौँ गाउँबस्ती पनि चपेटामा पर्ने उहाँको भनाइ छ ।
नरैनापुरमा २ सय घरमा क्षति
नरैनापुर गाउँपालिकामा बाढी र डुबानले दुई सय घर पूर्णरुपमा क्षति भएको छ । ६ हजार स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा प्रभावित भएको गाउँपालिकाको विपत् शाखाले जनाएको छ ।
लगातारको वर्षाले नरैनापुरको वडा १, २, ३, ४, ५ र ६ का अधिकांश गाउँमा पानी पस्दा भएको डुबानले करिब ६ हजार स्थानीय प्रभावित भएको पालिकाका सूचना अधिकारी एवम् विपत् शाखा प्रमुख समेत रहनु भएका लक्ष्मीकान्त मिश्राले बताउनुभयो ।
गाउँपालिकाको वडा १ बनिया गाउँ, २ को रोशनपुरवा, महतिनिया, ३ को बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, वडा ४ को नरैनापुर, घोडदौरिया, पंडितपुरवा वडा ५ को जमुनहा, ६ को दोँदरा, २४ विगहा लगायतका गाउँका अधिकांश घरमा पानी पसेपछि जनजीवन अस्तव्यस्त बनेको गाउँपालिकाले जनाएको छ ।