• १३ साउन २०८१, आइतबार

कैलालीको भजनीमा डुबान, २०२ घर परिवार विस्थापित

blog

कैलालीमा भएको डुबान । तस्बिर : राम चौधरी

अविनाश चौधरी

धनगढी, असोज २१ गते । कैलालीको भजनी नगरपालिकामा करिब २०२ घरधुरी डुबानमा परेको छ । काँढा र कान्द्रा नदीमा आएको बाढीले डुबान गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार काँढा नदीको बाढी गाउँमा पस्दा भजनी नगरपालिका –२ मोहनपुर, पल्टनपुर र तीनघरुवाका अन्दाजी १२५ घर डुबानमा परेको छ । घरमा पानी पसेपछि पल्टनपुरका ४० परिवारका अन्दाजी ९५ जना व्यक्ति राष्ट्रिय माविमा स्थानान्तरण भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । 

यस्तै, भजनी नगरपालिका –९ शिविर टोलका करिब ४० घरमा कान्द्रा नदीको पानी पसेको छ । यस्तै, वडा नम्बर ८ को खल्ला र पाण्डेय टोलका ३७ घरधुरीमा पानी पसेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

अविरल वर्षाका कारण नदीहरूमा पानीको सतह बढे पनि खतराको तह भने अझै पार गरिनसकेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।