• १३ साउन २०८१, आइतबार

निर्वाचन कानुनको कठोर पालना हुन्छ : रावल

blog

सप्तरी प्रतिनिधि क्षेत्र २ का लागि स्थापना गरिएको मूख्य निर्वाचन अधिकृतको कार्यालय । तस्बिर : ललिता साह

ललिता साह

वोदेवसाईन (सप्तरी) असोज २० गते । भयरहित निर्वाचन सम्पन्न गराउन निर्वाचन कानुनको कठोर रूपमा प्रयोग गर्ने मुख्य निर्वाचन अधिकृत तथा सप्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश हेमन्त रावलले बताउनुभएको छ । मङ्सिर  ४ मा हुन गइरहेको निर्वाचन प्रयोजनका लागि सप्तरीको राजविराजस्थित प्रतिनिधिसभा क्षेत्र नं  २ को मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

कानूनले अयोग्य ठहर्‍याएका कोही कसैलाई निर्वाचनको मनोनयनदेखि मतदानसम्मको गतिविधिमा संलग्न नगरिदिनुहुन राजनीतिक दलहरूलाई मुख्य निर्वाचन अधिकृत रावलले आग्रह समेत गर्नुभयो । आफू अधिकार प्रयोग गर्न सक्ने ठाउँमा भएकाले निर्वाचनविरुद्ध गतिविधि गर्ने जोकोहीलाई निष्पक्ष ढङ्गले कानूनी कारबाही गर्न पछि नहट्ने उहाँले प्रस्ट पार्नुभयो । तटस्थ भूमिकामा रहनुपर्ने राष्ट्रसेवक कर्मचारी, पत्रकार, सुरक्षाकर्मीलाई निर्वाचन अवधिभरि सम्मानजनक भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

नैतिक धरातलमा टेकेर कानूनी व्यवस्थामा भएको आचारसंहिता पालना गर्न राजनैतिक दललगायत सबै पक्षले तत्परता देखाएको खण्डमा सप्तरीको मतदान सौहार्दपूर्ण रूपमा सम्पन्न हुने सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो । निर्वाचन अवधिभरि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट पनि सूचनालाई डिस इन्फर्मेसन नगर्न नगराउन सबै पक्षसँग उहाँले आग्रह गर्नुभयो ।

मतदान हुने दिनको १७ दिन अघि मात्रै निर्वाचन प्रचार प्रसार गर्न पाउने यस पटकको निर्वाचन आचार संहिताले भनिएअनुसार गर्न गराउन सम्बन्धित राजनैतिक दलहरूलाई जिल्ला निर्वाचन कार्यालय सप्तरीले आग्रह गरेको छ ।