• २ वैशाख २०८३, बुधबार

मिथिलामा आज जुडशीतलको रौनक

blog

जुडशीतलका अवसरमा ठुलाबडाबाट आशीर्वाद लिइँदै । फाइल तस्बिर : गोरखापत्र

कल्याणपुर समाचारदाता 

कल्याणपुर, वैशाख २ गते । मिथिला क्षेत्रको विशिष्ट सांस्कृतिक पहिचान बोकेको पर्व ‘जुडशीतल’ यतिबेला तराई–मधेशमा बुधबार (आज) हर्षोल्लासका साथ मनाइँदै छ । प्रत्येक वर्ष वैशाख २ गते मनाइने यो पर्वलाई ‘जुडशीतल’, ‘बाइस पावनी’ र ‘सिरुवा’ जस्ता विभिन्न नामले पनि चिनिन्छ ।

नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते ‘सतुआइन’ (सतु खाने दिन) बाट सुरु हुने यो पर्वको मुख्य विधि वैशाख २ गते सम्पन्न गरिन्छ । बुधबार बिहानैदेखि मिथिलावासीले घरका जेठो सदस्यबाट टाउकोमा जल थापेर आशीर्वाद लिँदै यो पर्व मनाइरहेका छन् । परिवारका अग्रजले कनिष्ठ सदस्यको टाउकोमा हत्केलाले जल दिएर ‘शीतलता र सुस्वास्थ्य’ को आशीर्वाद दिने र साना सदस्यले ठुलाको खुट्टा ढोग्ने अनुपम परम्परा यस पर्वमा रहेको छ ।

जुडशीतल केवल मानिसको स्वास्थ्यसँग मात्र नभई प्रकृति संरक्षणसँग पनि प्रत्यक्ष जोडिएको छ । यस दिन मानिस मात्र नभई पशुपन्छी, बोटबिरुवा र दैनिक प्रयोगमा आउने घरायसी सामग्रीलाई समेत जलले ‘जुराउने’ (भिजाउने) चलन छ । मिथिला संस्कृतिका जानकार धीरेन्द्र प्रेमर्षीका अनुसार घरमा रहेका सन्दुक, आलमारी, बाकस, पलङदेखि लिएर कृषि कार्यमा प्रयोग हुने ढिकी, जाँतो, ओखल र मुसलसम्मलाई पानी हालेर शीतलता प्रदान गरिन्छ ।

“वैशाख महिना लागेसँगै सूर्यको ताप बढ्ने भएकाले मानव जीवन र प्रकृतिलाई शीतलता प्रदान गर्न रुखका जरामा पानी हालेर जुराउने सांस्कृतिक परम्परा बसेको हो,” प्रेमर्षी भन्नुहुन्छ । उहाँका अनुसार यस दिन घरको चुलोलाई समेत विश्राम दिइन्छ । “चुलोमा आगो नबाली त्यसलाई जुराउने भएकाले यस दिन ताजा खानेकुरा पकाउने चलन छैन,” उहाँले थप्नुभयो ।

विश्व नै जलवायु परिवर्तनको चपेटामा परिरहेका बेला प्रकृति संरक्षणको सन्देश दिने जुडशीतलको महत्व झनै बढेको संस्कृतविद्हरूको तर्क छ । यो पर्वले जीवित मानिसलाई मात्र नभई दिवंगत आफन्तजनको समाधिस्थलमा समेत जल अर्पण गरी शीतलताको कामना गर्दछ ।

पौराणिक समयमा यस दिन इनार र कुवाको सफाइ गर्ने परम्परा थियो । यद्यपि आधुनिकतासँगै इनार र कुवा लोप हुँदै गएकाले यो गतिविधि भने कम हुँदै गएको छ । त्यस्तै एकअर्कालाई हिलो छ्यापेर खेल्ने ‘थालकादो’ परम्पराले जिउलाई शीतलता दिनुका साथै सामूहिक सफाइ अभियानको समेत काम गर्ने गरेकोमा अहिले यो चलन पनि हराउँदै गएकोमा प्रेमर्षी चिन्ता व्यक्त गर्नुहुन्छ ।

विशेष परिकार, बासी खानपानको दृष्टिले पनि जुडशीतल निकै विशिष्ट छ । वैशाख १ गते ‘सतुआइन’ मा सतु खाइन्छ भने त्यही दिन पकाइएको पुरी, बडी र विभिन्न तरुवा भोलिपल्ट अर्थात् वैशाख २ गते खाने गरिन्छ । बासी खानामा ताप नहुने र यसले शरीरलाई शीतल बनाउने विश्वासका साथ यसलाई ‘बाइस पावनी’ भनिएको हो ।

यस पर्वमा आँपको टिकुला (काँचो सानो आँप) को तरुवा वा चटनी र सजिवन (मुनिगा) को तरकारी खानु अनिवार्य मानिन्छ । मिथिलाञ्चलमा जुडशीतलकै दिन काँचो आँप चाखेर फलको राजा मानिने आँप खाने सिजनको सुरुवात भएको मानिन्छ ।

पहिले पहिले छिमेकीको घरमा पुगेर सामूहिक रूपमा खानपान गर्ने र सौहार्दता साट्ने परम्परा रहे पनि हाल त्यसमा ह्रास आएको छ । एकल परिवारको बढ्दो अवधारणा, प्रविधिको मोह र कोभिड–१९ को महामारीपछिको सामाजिक दुरीका कारण घर घरमा गएर खाने प्रचलन घटेको छ । यद्यपि यस पर्वले दिने प्रकृति प्रेम र सामाजिक एकताको सन्देश भने आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ ।